close

सन् २०२२ मा विश्वभरबाट गुगलमा सबैभन्दा धेरै सर्च हुने शब्द बन्यो वर्डल

टेकपाना टेकपाना

मंसिर २२, २०७९

सन् २०२२ मा विश्वभरबाट गुगलमा सबैभन्दा धेरै सर्च हुने शब्द बन्यो वर्डल

काठमाडौं । वर्डल (Wordle) सन् २०२२ मा विश्वभरबाट गुगलमा सबैभन्दा धेरै खोजिएको शब्द बनेको छ । प्रविधिको दिग्गज कम्पनी गुगलले वार्षिक 'इयर इन सर्च' रिपोर्ट सार्वजनिक गर्दै यो तथ्य बाहिर ल्याएको हो ।

अमेरिकी सफ्टवेयर इन्जिनियर जोश वर्डलले सन् २०२१ मा सार्वजनिक गरेको सामान्य किसिमको 'दैनिक शब्द खेल'मा आम प्रयोगकर्ताको चासो देखिएको छ । यो खेलमा प्रयोगकर्तालाई दिनमा एउटा शब्द खोज्न अधिकतम छ ओटा मौका दिने गरिन्छ ।

जुन हरेक दिन सबैका लागि पाँच अक्षरको एउटै शब्द हुने गर्दछ । खेलमा शब्द खोज्न लागिपर्ने प्रयोगकर्ताले सही उत्तरको खोजीमा गुगलमा सर्च गर्दा वर्डल सबैभन्दा धेरै खोजिने शब्दको सूचीमा पहिलो नम्बरमा आउन सफल भएको हो ।

यस वर्ष सर्वाधिक खोजिएका शीर्ष १० सर्चमा कक्याओ (cacao), होमर (homer), क्यानी (canny), फोरे (foray), ट्रोभ (trove), स्वेट (saute)ट्यासिट (tacit) गरी सात ओटा वर्डलकै उत्तर समावेश छन् । यस बाहेक मुख्य घटनाहरूले समेत अनलाइन सर्चमा असर पारेका छन् ।

गत सेप्टेम्बरमा भएको रानी बेलायती महारानी एलिजाबेथ द्वितीयाको मृत्युको विषय विश्वभरबाट गरिएका समग्र सर्चहरू मध्ये शीर्ष पाँचमा परेको छ । त्यस्तै सबैभन्दा धेरै खोजिने शब्दहरूको तेस्रो स्थानमा युक्रेन छ ।

यसका साथै अम्बर हेयर्डमाथि  भएको मानहानीको विषयलाई लिएर जोनि डेप सेलिब्रेटी तथा कलाकारहरू मध्ये धेरै खोजिनेमा अगाडि छन् । डेपलाई विल स्मिथले पच्छ्याएका छन्, जो एकेडेमी अवार्डको लाइभ स्टेजमा कमेडियन क्रिस रकलाई थप्पड हानेका कारण मिडियामा छाएका थिए ।