close

इन्क्रिप्टेड क्लाउड स्टोरेज सेवा 'प्रोटोन ड्राइभ' अब आईफोन र एन्ड्रोइडमा पनि

टेकपाना टेकपाना

मंसिर २३, २०७९ १०:३८

इन्क्रिप्टेड क्लाउड स्टोरेज सेवा 'प्रोटोन ड्राइभ' अब आईफोन र एन्ड्रोइडमा पनि

काठमाडौं । सुरक्षित क्लाउड स्टोरेज सेवा 'प्रोटोन' को मोबाइल एप पनि सार्वजनिक भएको छ । प्रोटोन ड्राइभ आधिकारिक रूपमा गत सेप्टेम्बरमा सुरू गरिएको थियो । तर यो डेस्कटप भर्सनमा मात्र उपलब्ध थियो । अब भने कम्पनीले मोबाइलको प्रयोगकर्ताको लागि मोबाइल एप पनि सार्वजनिक गरेको छ । यो एपको प्रयोग गरेर प्रयोगकर्ताले आफ्नो फाइलहरू इन्क्रिप्टेड रुपमा स्टोर गर्न सक्नेछन् ।

प्रोटोन ड्राइभ त्यस्तो क्लाउड स्टोरेज सेवा हो जसमा प्रयोगकर्ताले आफ्नो फाइलहरू इन्ड-टु-इन्ड इन्क्रिप्सन प्रणाली मार्फत स्टोर गर्न सकिनेछ । यसको अर्थ तपाईँको फाइलमा तपाईँको मात्र पहुँच हुनेछ । प्रोटोन ड्राइभको मोबाइल एपमा वेब भर्सनमा भन्दा केही फरक फिचरहरू छन् ।

यदि तपाईँसँग आईफोन वा आईप्याड छ भने आफ्नो स्टोरेजमा पिनकोड प्रयोग गर्न सकिन्छ । यसरी स्टोर गरिएका फाइलहरू सबै ड्राइभमा इन्क्रिप्ट हुन्छन् भने पिनकोड प्रयोग गरेर मात्र उक्त फाइलहरू प्रयोग गर्न सकिनेछ । यो पिनकोड शेयर गरेर सुरक्षित रुपमा अन्य व्यक्तिहरूसँग पनि फाइल शेयर गर्न सकिन्छ । यसको लागि अर्को व्यक्तिसँग प्रोटोनको अकाउन्ट हुनैपर्छ भन्ने छैन ।

यो एप गुगलको प्ले स्टोर र एप्पलको एप स्टोर दुवैमा उपलब्ध छ । हाल म्याकको लागि उपलब्ध भएपनि छिट्टै नै विन्डोज भर्सनको लागि पनि उपलब्ध गराउने कम्पनीको भनाई छ । 
  

पछिल्लो अध्यावधिक: मंसिर २३, २०७९ १०:३८