close

ब्लु टिकको लोभ देखाएर गायक देवेन्द्र बब्लुको इन्स्टाग्राम अकाउन्ट ह्याक

टेकपाना टेकपाना

मंसिर २३, २०७९ १२:५१

ब्लु टिकको लोभ देखाएर गायक देवेन्द्र बब्लुको इन्स्टाग्राम अकाउन्ट ह्याक

काठमाडौं । 'म त पर्खेको पर्खै छु', 'म हाँसे हाँस्छौ र ?' जस्ता गीतका सर्जक तथा गायक देवेन्द्र बब्लुको इन्स्टाग्राम अकाउन्ट ह्याक भएको पाइएको छ । अकाउन्ट ह्याक गरेर ह्याकरले नेपालमा प्रतिबन्धित क्रिप्टोको प्रचार गरिरहेका छन् ।

टेकपानासँगको कुराकानीमा बब्लुले इन्स्टाग्राम अकाउन्ट ब्लु टिकको प्रलोभन देखाएर ह्याक गरिएको बताए । "तीन दिनअघि अकाउन्ट भेरिफाई गरिदिने मेसेज आएको थियो," उनले भने, "मैले त्यो मेसेज अस्वीकार गर्दै आएको थिएँ । पछि उनीहरूले पठाएको लिङ्कमा झुक्किएर क्लिक भएछ । त्यसपछि त अकाउन्ट ह्याक भयाे ।"

आफ्ना अधिकांश परियोजना इन्टरनेटमा निर्भर हुने भएकाले यस्ता ह्याकिङबारे सचेत हुँदाहुँदै पीडित हुन पुगेकाे उनले सुनाए ।

"युट्युब, फेसबुक, इन्स्टाग्राममा हामी बढी सक्रिय हुन्छौँ । त्यसैले यस्ता किसिमका ह्याकिङबाट बच्नुपर्छ भन्ने बुझेको थिएँ । तर, लिङ्कमा झुक्किएर क्लिक हुँदा अकाउन्ट नै ह्याकरको कब्जामा पर्‍यो," उले भने ।

पछिल्लो समय सेलिब्रेटीका अकाउन्ट भेरिफाई गरिदिने वा अन्य आश्वासन देखाएर अकाउन्ट ह्याक गर्ने गतिविधि बढेका छन् ।

सर्वसाधारणलाई सचेत गराउँदै बब्लु भन्छन्, "हामीले आफूलाई जति बुझेको सोचे पनि उनीहरू फरक-फरक ट्रिक लगाएर अकाउन्ट ह्याक गर्छन् । त्यसैले कसैले बिजनेसको लोभ वा गिफ्ट छ भनेर व्यक्तिगत विवरण माग्यो वा लिङ्कमा क्लिक गर्नु भन्यो भने सचेत हुनुपर्छ ।"

उनको अकाउन्टबाट विभिन्न व्यक्तिलाई मेसेज गएर ठगीको प्रयास भइरहेको छ । त्यसैले उनको अकाउन्टबाट जाने त्यस्ता मेसेज अस्वीकार गर्न बब्लुले अनुरोध गरेका छन् ।

पछिल्लो अध्यावधिक: मंसिर २३, २०७९ १३:४