close

नेपाल टेलिभिजन र नेटटिभी एपमा नआउने भयो विश्वकप सेमिफाइनल र फाइनलको लाइभ

टेकपाना टेकपाना

मंसिर २६, २०७९ १०:२६

नेपाल टेलिभिजन र नेटटिभी एपमा नआउने भयो विश्वकप सेमिफाइनल र फाइनलको लाइभ

काठमाडौं । लामो प्रयासका बाबजुद नेपाल टेलिभिजन र नेटटिभी मोबाइल एपमा जारी विश्वकप फुटबलको प्रत्यक्ष प्रसारण नहुने भएको छ । मिडिया हबले टेलिभिजनको प्रसारण अधिकार हिमालय टिभीलाई दिइसकेको अवस्थामा नेपाल टेलिभिजनमा लाइभ प्रसारण असम्भव भएको हो । 

 

त्यस्तै सूचना तथा प्रसारण विभागले अनुमति नदिएका कारण मोबाइल एपमा समेत फुटबलको लाइभ दिन नसकिएको बताइएको छ । विश्वकप फुटबल खेलको प्रत्यक्ष प्रसारण देखाउन नसकेको भन्दै नेपाल टेलिभिजनको आलोचना भइरहँदा अन्तिम ३ खेलको लाइभ देखाउने प्रयास भइरहेको थियो ।

 

यसका लागि नेपाल टेलिभिजनका अधिकारीहरूले विश्व फुटबल महासंघ (फिफा) सँग छलफल समेत गरेका थिए । तर, फिफाले दक्षिण एसिया क्षेत्रमा विश्वकपको प्रत्यक्ष प्रसारण गर्ने अधिकार भारतीय कम्पनी भियाकम १८ मिडिया प्रालिलाई दिएको थियो ।

 

सोही कम्पनीबाट नेपालको मिडियाहब प्रालिले १५ लाख अमेरिकी डलर (झण्डै २५ करोड रुपैयाँ) मा नेपालका लागि प्रसारण अधिकार खरिद गरेको छ । जसले गर्दा फिफासँग प्रसारण अधिकार लिन नसकिएको नेपाल टेलिभिजनका कायकारी अध्यक्ष समिरजंग शाहले बताए ।

 

“यसका लागि हामीले फिफासँग कुरा राखेका थियौँ । तर, प्रसारण अधिकार मिडिया हबले पाएकाले हामी वहाँहरूसँग जानुपर्ने भयो,” उनले भने, “हामीले ५० लाख बढी खर्च गरेर आवश्यक तयारी गरिसकेका छौँ । अब मिडिया हबले प्रसारण अधिकार दिएको खण्डमा नेपाल टेलिभिजनबाट लाइभ आउँछ ।”

 

नेपाल टेलिभिजनले विश्वकपको सेमिफाइनल र फाइनल खेल प्रसारणका लागि सम्पूर्ण तयारी पुरा गरिसकेको भए पनि मिडिया हब भने त्यसको पक्षमा छैन । “हामी सोझै जनताबाट पैसा उठाउँदैनौँ । त्यसैले विज्ञापनबाट उठाउने गरी आवश्यक तयारी गरेका छौँ । तर, मिडिया हबबाट स्वीकृति नपाउँदा प्रसारण अन्योलमा परेको छ,” उनले जनाए । 

 

अब जारी विश्वकप फुटबल अन्तर्गत सेमिफाइनल र फाइनल समेत गरी चार खेल मात्रै बाँकी छन् । जस मध्ये मुख्य तीन खेल सब्सक्रिप्सनका लागि पैसा नतिर्ने ग्राहकले समेत हेर्न मिल्ने व्यवस्था मिलाइएको मिडिया हबले जनाएको छ ।

 

कम्पनीका संञ्चालक सोम धितालले विश्वकप फुटबल प्रसारण गर्ने च्यानलको लागि आफूहरूले हिमालय टिभी एचडीलाई जिम्मा दिइसकेको बताए । यस्तो अवस्थामा नेपाल टेलिभिजनलाई बाँकी खेल प्रसारणको अनुमति दिन असमर्थ रहेको उनको भनाई छ । 

 

“त्यसो त हामीले विश्वकप फुटबलको प्रत्यक्ष प्रसारण गर्ने अधिकार पाए लगत्तै नेपाल टेलिभिजनलाई लिखित पत्रमार्फत सहकार्यका लागि आग्रह गरेका थियौँ,” उनले भने, “तर लामो समयसम्म उहाँहरूबाट त्यसको जवाफ नै आएन ।”

 

नेपाल टेलिभिजनबाट जवाफ कुरिरहँदा विकल्पको रूपमा कान्तिपुर, हिमालय टिभी एचडी लगायतका च्यानलहरूसँग समेत सम्वाद चलाइएको धितालले सुनाए । “यसरी हामी हिमालय टेलिभिजनसँग अनुबन्धित भइसकेका छौँ,” उनले भने, “अब अन्तिममा आएर नेपाल टेलिभिजनलाई समेत त्यसको अधिकार दिने प्रश्नै आउँदैन ।”

 

यस बाहेक इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिङ्क लिमिटेडको मोबाइल एप नेटटिभीमार्फत समेत विश्वकपका बाँकी खेलको प्रत्यक्ष प्रसारण देखाउने तयारी थियो । तर विभागले संसोधित राष्ट्रिय प्रसारण नियमावली अनुसार ओटीटीको लाइसेन्स जारी गरिसकेको छैन ।

 

यस्तो अवस्थामा विभाग समक्ष विश्वकप फुटबलको प्रत्यक्ष प्रसारण अनुमति मागिएको नेटटिभीका सीईओ निरन राजभण्डारीले बताए । “हामीले प्रत्यक्ष प्रसारण देखाउन आवश्यक प्राविधिक तयारी पूरा गरिसकेका छौँ,” उनले भने, “तर विभागको अनुमति नआई हामी विश्वकप फुटबलको प्रत्यक्ष प्रसारण गर्न सक्दैनौँ । ”

पछिल्लो अध्यावधिक: मंसिर २६, २०७९ १०:२८