close

वालस्ट्रिट-ट्वीटरको जागिर छोडेको नेपाली दम्पतीले सुरु गरेको वेब३ स्टार्टअप

अर्पना आले मगर अर्पना आले मगर

पुस १, २०७९ १०:१२

वालस्ट्रिट-ट्वीटरको जागिर छोडेको नेपाली दम्पतीले सुरु गरेको वेब३ स्टार्टअप

काठमाडौं । अमेरिका भन्ने बित्तिकै विकासोन्मुख तथा अविकसित देशका मानिसहरूको सपनाको मुलुक भनेर चिनिन्छ । आजका अधिकांश नेपाली युवाहरूको सपना नै अमेरिका पुग्नु हुन्छ । तर अमेरिकामा बस्ने मानिसहरूको दुःख नेपालमा बस्ने मानिसहरूको भन्दा कम भने छैन । 

त्यसो त नेपाली युवालाई नेपालमै रोजगार सिर्जना गर्ने उद्देश्यका साथ आफ्नै कम्पनी स्थापना गरेर नेपालमै काम गरिरहेका व्यक्तिहरू पनि छन् ।

आफ्नै देशमा केही गरौँ भनि फर्किएको एक दम्पती, जसले नेपालको मात्र होइन, विश्वकै व्यावसायिक भुक्तानी प्रणालीलाई परिवर्तन गर्ने अठोट लिएको छ । नामी बराल र नवीन बास्कोटा श्रीमान श्रीमती हुन् ।

जिन्दगीको फरक फरक गन्तव्यमा हिँडेका यी दुवैलाई आर्थिक व्यवस्था प्रतिको रुचिले एकअर्कासँग भेट गरायो । विद्यार्थीको रुपमा अमेरिका गएका नामी र नवीन दुवैले त्यहाँका विभिन्न ठूला कम्पनीहरूको आर्थिक प्रणालीलाई आफ्नो क्षेत्र बनाएर काम गर्न थाले ।

अब भने यो दम्पती नेपाललाई विश्वका ठूला ठूला कम्पनीहरूको मुख्य कार्यालय स्थापना गर्ने थलो बनाउने लक्ष्यसहित काम गरिरहेको छ । नामी र नवीन दुवैको पृष्ठभूमि फरक छ । आर्थिक प्रणाली र प्रविधिको क्षेत्रका बारेमा सोच्दै नसोचेको यो दम्पती आज यसै काममा लागिपरिरहेको छ ।

पोखरामा जन्मे हुर्केकी नामी बराल डाक्टर बन्न चाहन्थिन् । उनको परिवार पनि उनी डाक्टर भएको हेर्न चाहन्थ्यो । १२ कक्षाको पढाइ सकेपछि उनले आफ्नो डाक्टरी अध्ययन विदेशमा पूरा गर्ने आकाङ्क्षा राखिन् ।

पोखराबाट कहिल्यै बाहिर ननिस्किएकी उनी १२ कक्षाको पढाइ सकेर पहिलोपल्ट काठमाडौं आइन् । अमेरिका जानको लागि स्कलस्टिक एसेस्मेन्ट टेस्ट (एसएटी) को परीक्षा दिनुपर्ने हुन्छ । त्यसैका लागि उनी काठमाडौं आएकी थिइन् ।

सानैदेखि पढाइ राम्रो भएका कारण नामीले छात्रवृत्तिमा विश्वकै उत्कृष्ट विश्वविद्यालय हार्वर्डमा ‘प्रि-मेड’ (चिकित्सा शिक्षा अध्ययन थाल्नु अघिको कोर्ष) पढ्ने अवसर पाइन् । यसरी उनी सन् २००८ मा आफ्नो पढाइ पूरा गर्न अमेरिका गइन् ।

यो उनका लागि निकै ठूलो अवसर भए पनि सायद उनको गन्तव्य अर्कै थियो । डाक्टर पढ्न हिँडेकी नामीलाई स्वास्थ्यभन्दा बढी अर्थ व्यवस्थाले आकर्षित गर्न थाल्यो । त्यही समयमा अमेरिका पनि आर्थिक सङ्कटबाट गुज्रिरहेको थियो । अमेरिकाको बिग्रिँदो अर्थव्यवस्था देखेर उनी त्यसैतर्फ मोडिन थालिन् । 

हावर्डको अर्थशास्त्र तथा गणित विभाग विश्वकै उत्कृष्ट विभागको रुपमा परिचित थियो । नामीको यो भ्रम त्यसबेला टुट्यो, जब उनले अमेरिका जस्तो सम्पन्नशाली देश पनि आर्थिक सङ्कटबाट गुज्रिरहेको देखिन् ।

"मैले देखेको अमेरिका मैले सोचेको भन्दा धेरै भिन्न थियो । मैले धेरै दुःखी अमेरिकी नागरिकहरू देखेकी छु," उनी भन्छिन्, "विज्ञान पढिरहेकी मलाई अर्थतन्त्रको विषयमा जानकारी नै थिएन ।"

"अमेरिकामा भइरहेको आर्थिक सङ्कट अनि आफ्नै विश्वविद्यालयमा भएको त्यो उत्कृष्ट विभागले मलाई केही नयाँ सिक्न प्रेरित गर्‍यो । यस्तो मौका खेर फालेँ भने मैले कहिल्यै पनि सिक्न पाउने छैन भन्ने लाग्यो र म प्रि-मेडबाट अर्थशास्त्र विभागमा सिफ्ट भएँ ।"

त्यसपछि नामीको डाक्टर बन्ने सपना अर्थशास्त्रतिर मोडियो । त्यसपछि उनले अमेरिका जस्तो आर्थिक हिसाबले सम्पन्न देश पनि कसरी आर्थिक सङ्कटमा पर्न सक्छन् भन्ने विषय बुझ्ने मौका पाइन् ।

पढाइ सकेर उनले अमेरिकामा आफ्नो पहिलो जागिरको रुपमा वालस्ट्रिटमा इन्भेस्टमेन्ट बैङ्करको रुपमा काम थालिन् । मानिसले आफ्नो जीवनमा आएका उतारचढावहरूसँग खेल्न सकेन भने पछि पर्छ भन्ने कुरा उनले राम्रोसँग बुझेकी थिइन् ।

सन् २०१२ मा आफ्नो पढाइ सकिँदै गर्दा छदाउँदै गरेको प्रविधिको दुनियाँलाई पनि उनले नियाली रहेकी थिइन् । भर्खरभर्खर सुरु हुँदै गरेको मोबाइल प्रविधिले उनलाई थप आकर्षित गर्‍यो ।

"विश्वको अर्थ व्यवस्था आजको दिनमा पनि उही परम्परागत हिसाबमा चलिरहेको छ । तर यो विस्तारै अगाडि बढिरहेको अर्थव्यवस्था भन्दा पनि मलाई तीब्र गतिमा अगाडि बढिरहेको प्रविधि क्षेत्रले बढी आकर्षित गर्न थाल्यो," उनी सुनाउँछिन् ।

त्यसपछि नामीले वालस्ट्रिटको जागिर छोडेर एउटा स्टार्टअप कम्पनीमा काम गर्ने निधो गरिन् । त्यतिन्जेल नामीलाई जोखिम लिने बानी परिसकेको थियो ।

त्यो स्टार्टअप, जुन आफ्नो भविष्य बनाउने लाइनमा थियो र बिस्तारै बजारमा जम्न खोजिरहेको थियो । उक्त स्टार्टपलाई सफल बनाउन नामीले जुन भूमिका खेलिन्, त्यसले उनलाई धेरै कुरा सिकायो ।

यही स्टार्टअपलाई पछि ट्वीटरले खरिद गर्‍यो । कम्पनी ट्वीटरमा गाभिएपछि नामीले पनि ट्वीटरमा करिब चार वर्ष काम गर्ने अवसर पाइन् ।  ट्वीटरको जागिर छाड्दा उनी ‘रेभिन्यु पार्टनर’ (आम्दानी साझेदार) विभागकी प्रमुख थिइन् ।  

यसैबीच उनले नवीनलाई भेटिन् । नवीन आफ्नो मनको सुन्ने मान्छे थिए । सानै देखि कुनै लक्ष्य वा यही नै गर्छु भन्ने सोच नभएका उनी समयसँगै सिक्दै अघि बढिरहेका थिए । उनको जीवन भने नामीको भन्दा बिलकुलै फरक थियो ।

एक उद्यमीको सन्तान हुनुको नाताले उनमा पनि उद्यम प्रति इच्छा हुनु स्वभाविकै थियो । तर उनको टाउकोमा भने भविष्यमा यस्तै केही बन्नुपर्छ भन्ने त्यस्तो कुनै बाध्यता भने थिएन ।

एसएलसी पछि उनले विज्ञान पढ्ने सोच भने बनाएका थिए । तर उनको लक्ष्य कुनै डाक्टर वा इन्जिनियर बन्ने भने थिएन । सन् २००१ मा एसएलसी उत्तीर्ण गरेका नवीनले वैदेशिक शिक्षा हासिल गर्ने योजना बनाए । तर उनको गन्तव्य अमेरिका थिएन । उनले १२ कक्षामा विज्ञान पढिसकेपछि साथीहरूको लहलहैमा भारत गएर कम्प्युटर इन्जिनियरिङ पढ्ने सोच बनाए र त्यतै हान्निए । 

तर सायद भाग्यलाई यो मन्जुर थिएन वा भनौँ उनको गन्तव्य कतै अन्तै थियो । दिल्ली विश्वविद्यालयमा पढिरहेका नवीन अचानक नेपाल फर्कनुपर्ने भयो । सन् २००१ मा नेपालमा राजपरिवारको हत्या भयो । यो घटनाले पूरा विश्वलाई प्रभावित बनायो । यही सन्दर्भ थियो, जसले नवीनलाई आफ्नो बाटो मोड्न बाध्य पार्‍यो ।

एक्कासि उनमा भारत पनि नबस्ने र नेपाल पनि नफर्किने सोच आउन थाल्यो । त्यसपछि उनले अमेरिका जाने सोच बनाए । आफ्नो एक जना साथीसँगै उनी बाँकी पढाइका लागि अमेरिका लागे । त्यहाँ उनले कम्प्युटर इन्जिनियरिङमा आफ्नो पढाइ अगाडि बढाए ।

तर पहिलो सेमेस्टरमा पढ्नुपर्ने सबै प्रकारका विषय मध्ये अर्थशास्त्र विषयले उनलाई बढी आकर्षित गर्‍यो । त्यसपछि नवीनले कम्प्युटर इन्जिनियरिङ छोडेर अर्थव्यवस्थाबारे बुझ्ने र पढ्ने निधो गरे । यो मोडिएको बाटोले उनलाई नामीसँग भेट गराउला भन्ने कुरा उनलाई त्यतिबेलासम्म पनि थाहा थिएन । 

"मैले नेपालमा हुँदादेखि नै वालस्ट्रिटको बारेमा सुनेको थिएँ । संयोग वश म अमेरिकामा पनि अर्थशास्त्र नै पढिरहेको थिएँ," उनी भन्छन्, "अमेरिकामा अर्थशास्त्र गरेपछि त वालस्ट्रिटमा जसरी पनि काम गर्नैपर्छ भन्ने सोच मेरो मनमा थियो ।"

पढाइ पूरा गर्दैगर्दा उनले आफ्नो लक्ष्य अनुरूप वालस्ट्रिटमा इन्टर्नशिपको मौका पाए । जोसँग पनि मज्जाले बोल्न र भिज्न सक्ने स्वभावले नवीनलाई वालस्ट्रिटमा आफ्नो पूर्ण क्षमताका साथ काम गर्ने वातावरण बन्यो ।

त्यहाँको कामले गर्दा उनले पनि अमेरिकाको अर्थव्यवस्था बुझ्ने राम्रो मौका पाए । त्यसैबीच उनले सन् २००७ मा आफ्नो स्नातक तहको अध्ययन पूरा गरे ।

स्नातक सकिने समयसम्ममा उनलाई धेरै ठाउँबाट जागिरका प्रस्ताव आए । कयौँ विकल्प मध्ये उनले अमेरिकाको केपीएमसी नामक कम्पनीमा काम गर्ने निर्णय लिए ।

अन्य कम्पनीको तुलनामा यसमा पैसा त थोरै थियो, तर काम सिक्नको लागि भने उपयुक्त हुने सल्लाह उनले आफ्ना प्राध्यापकहरूबाट पाए । त्यसै अनुरूप उनले केपीएमसी जाने निर्णय गरे।

दुई वर्षको अनुभवपछि नवीन पनि आफ्नो जिज्ञासु मनलाई लिएर अमेरिकाको बैङ्किङ तथा वित्तीय सेवा दिने कम्पनी जेपी मोर्गनमा काम गर्न गए । त्यहाँ काम गर्ने क्रममा उनले बैङ्क तथा वित्तीय प्रणालीको बारेमा धेरै कुरा सिक्ने मौका पाए । त्यसपछि पनि उनले अन्य केही कम्पनीहरूमा वित्तीय जिम्मेवारीमा रहेर काम गरे । 

यसै क्रममा सन् २०११ मा नेपाली समुदायको एक कार्यक्रममा नवीन र नामीको भेट भयो र साथी बने । सन् २०१५ मा उनीहरूले विवाह गरे । आ-आफ्नो जीवन त थियो, तर उनीहरू दुवै जना कार्यालयमा बसेर जागिर गर्ने कुराबाट दिक्क भइसकेका थिए ।

ट्वीटरमा काम गर्दा नामीले पुन: अर्को महत्वपूर्ण निर्णय लिइन् । त्यो थियो, आफ्नै स्टार्टअप खोल्ने । सोही अनुरूप सन् २०१८ मा ट्वीटर छाडेर उनले आफ्नो स्टार्टअप कम्पनी 'हार्भेस्ट प्लेटफर्म' सुरु गरिन् ।

उनको यो निर्णयमा धेरैले प्रश्न गरेका थिए । हुन पनि हो, ट्वीटर जस्तो विश्वप्रतिष्ठित र ठूलो प्रविधि कम्पनीको सुरक्षित जागिर छाडेर नयाँ स्टार्टअप खोल्नु निकै चुनौतीपूर्ण थियो । तर, चुनौतीको सामना गर्न बानी परिसकेकी नामीले वित्तीय स्टार्टअप कम्पनी ‘हार्वेस्ट प्लेटफर्म’ स्थापना गरिन् ।

एआई (आर्टिफिसियल इन्टेलिजेन्स प्रविधि) मा आधारित यो कम्पनीले विद्यार्थीहरूलाई बैङ्कमा रहेको आफ्नो ‘डेब्ट’ (ऋण) व्यवस्थापनमा सहयोग गर्थ्यो । एआईको सहयोगले बैङ्कसँग डिल गरी प्रयोगकर्तालाई मद्दत गर्ने यो सिस्टम कोभिडको समयमा निकै प्रभावकारी बन्यो । 

नामी यो कम्पनीको एक मात्र संस्थापक थिइन् ।  नवीन कम्पनीको बोर्डमा मात्रै थिए । सफल हुँदै जाँदा कम्पनी खरिद गर्ने अनेकौँ प्रस्ताव आउन थाले । यद्यपि उनीहरूले कम्पनी बिक्री गर्ने त्यस्तो कुनै सोच बनाएका थिएनन् ।

तर अन्तिममा अमेरिकाकै ठूलो मध्येको एक फिनटेक तथा वित्तीय दिने कम्पनी एक्रोन्सको प्रस्ताव समेत आयो । जुन उनीहरूका लागि एउटा राम्रो अवसर पनि थियो । आफ्नो कम्पनीको उद्देश्य अनुरूप नै काम गर्ने उक्त कम्पनीको प्रस्ताव नामी र नवीनले स्वीकार गरे । सन् २०२१ को फेब्रुअरीमा कम्पनी बिक्री भयो ।

आफूले बनाएको कम्पनी बिक्री भएपश्चात् अबको नयाँ बाटो के त ? उनीहरू सामु यो निकै ठूलो प्रश्न थियो । यसैबीच आफ्नै ‘मातृ भूमि’ फर्किने सल्लाह भयो ।

विदेशमा विदेशीहरूका लागि काम गरिरहँदा यो दम्पती नेपालका लागि पनि काम गर्न चाहन्थ्यो । त्यसैले उनीहरूले अर्को स्टार्टअप कम्पनी 'न्युरल' का लागि लगानी जुटाए ।  सन् मे, २०२२ मा फुरेको 'न्युरल'को सोचलाई अहिले यो दम्पती पूरा गर्ने दिशामा छ । 

नामीका स्टार्टअपले टेकक्रञ्च, बिजनेस इन्साइडर, सीएनबीसी, फक्स बिजनेस, जस्ता चर्चित न्युजपोर्टलमा समेत कभरेज पाएका छन् । 

वास्तवमा न्युरल एआईबाट लिइएको अवधारणा हो । एआई मानिसको मष्तिष्कमा आधारित प्रविधि हो, जसले मस्तिष्कले जस्तै विभिन्न न्युरोनहरूको नेटवर्क मार्फत काम गर्छ । सोही न्युरोनलाई लिएर कम्पनीको नाम न्युरल जुराइएको नामी बताउँछिन् ।

न्युरल एक भुक्तानी पूर्वाधार कम्पनी हो । भुक्तानी आफैँमा अहिलेको विश्वको सबैभन्दा ठूलो बजार पनि हो । भुक्तानी जति पुरानो क्षेत्र हो, त्यति नै सान्दर्भिक उद्योग पनि हो । यसको अर्थ भुक्तानी व्यवस्था पुरानो भए पनि यो उद्योग कहिल्यै पुरानो हुँदैन र सकिँदैन  । 

"पहिला हामीले अमेरिकामा वित्तीय प्रविधि कम्पनी खोलेका थियौँ । त्यो कम्पनी खोल्दा डेबिट तथा क्रेडिट कार्डले कसरी काम गर्छ, बैङ्क बाट बैङ्कमा पैसा ट्रान्सफरको काम कसरी हुन्छ भन्ने लगायतका विषयमा राम्रोसँग बुझेका थियौँ," नामी भन्छिन् ।

"अमेरिका भित्रको अर्थव्यवस्थाले कसरी काम गर्छ र अमेरिका बाहिर कसरी काम हुन्छ भनेर दुवैको लागि हामीले प्रोडक्ट बनाउने सोच्यौँ ।"

यस क्रममा उनीहरूले एउटा समस्या देखेका थिए । त्यो के भने एउटा पक्षले अर्को पक्षलाई भुक्तानी गर्ने क्रममा बीचमा हुने अन्य मध्यस्थकर्ताहरूको भूमिका थियो । यसले गर्दा धेरैजसो बेला कारोबारमा शुल्क लाग्थ्यो ।

अर्थात् कुनै एउटा कम्पनीले एउटा डेबिट कार्डको सुविधा दिँदैछ भने त्यसको दुईदेखि तीन प्रतिशत रकम अन्य विभिन्न शुल्कको नाममा काटिन्छ । यसले व्ययभार मात्र बढाउँछ । साथै भुक्तानीमा धेरै समय लाग्ने, ठगी हुने लगायतका समस्याहरू भोग्नुपर्ने स्थिति विद्यमान रहेको नामी बताउँछिन् ।

"अहिले हामीले प्रयोग गर्ने भुक्तानी प्रणाली ६० वर्ष पहिलेको हो । इन्टरनेटको सुरुवात हुनुभन्दा अगाडिदेखि प्रयोग हुँदै आएको प्रणालीलाई नै अहिले पनि प्रयोग गरिरहेका छौँ," उनी भन्छिन्, "हामीले अहिले प्रयोग गर्ने भुक्तानी प्रणाली ‘रियल टाइम’ हुँदैन । भुक्तानी प्रणाली अहिले पनि प्रभावकारी हुन सकेको छैन । पहिलेको तुलनामा धेरै परिवर्तन भएको देख्न त सकिन्छ, तर हाम्रो प्रणाली अझै पनि परम्परागत शैलीकै छ ।"

उद्यमीहरूले कुनै काम गर्दा केही समस्या देखियो भने त्यही समस्याको समाधानलाई अवसर वा व्यवसायको अवधारणा बनाउँछन् । त्यसै अनुरूप यो समस्या उनीहरूका लागि पनि नयाँ व्यवसायको अवधारणा बन्यो ।

"हाम्रो मुख्य उद्देश्य भनेको बिना कुनै मध्यस्थकर्ता एक पक्षबाट अर्को पक्षमा ‘रियल टाइम’ भुक्तानीको सेवा प्रदान गर्नु हो । र यो सेवा एक ठाउँको लागि मात्र होइन, विश्वभरका भुक्तानी प्रदायकका लागि हो," नामी भन्छिन् । 

बैङ्कमा काम गरेको नवीनको अनुभवले यो समस्यासँग अझ नजिक हुन मद्दत गर्‍यो । उनलाई यो समस्या समाधान गर्न सक्छु भन्नेमा पूर्ण आत्मविश्वास थियो ।

"मैले बैङ्कमा काम गर्दा भुक्तानीको यो समस्या धेरै देखेको थिएँ । मसँग बैङ्कमा काम गरेको १३ वर्ष लामो अनुभव छ । हामीले यो समस्याको समाधानका लागि नयाँ प्रणाली के निकाल्ने  भनेर सोच्दैगर्दा ब्लकचेन समाधानको रुपमा आयो । ब्लकचेन प्रविधिको माध्यमबाट हामी एक पक्षबाट अर्को पक्षसँग सिधा कारोबार गर्न सक्छौँ र यो पारदर्शी पनि हुन्छ," नवीन भन्छन् । 

ब्लकचेन आफैँमा सार्वजनिक लेजरमा आधारित प्रणाली हो । यो व्यावसायिक र विश्वासिलो पनि हुने उनीहरूको अनुभव छ । यसरी उनीहरूले भुक्तानीलाई ब्लकचेनसँग जोडेर काम गर्ने सोच बनाए र न्युरललाई पेरोलसँग जोडेर काम सुरु गरे ।

कुनै पनि कम्पनीले आफ्ना कर्मचारीहरूलाई गर्नुपर्ने भुक्तानीको प्रक्रियालाई ‘पेरोल’को रूपमा बुझ्न सकिन्छ । अर्को शब्दमा भन्नुपर्दा ‘पेरोल’ भनेको एउटा कम्पनीले आफ्ना कर्मचारीहरूलाई दिने तलब र उनीहरूको विवरण हो ।

नेपालमा जस्तै अमेरिकामा पनि पेरोल  प्रणाली परम्परागत शैलीकै रहेको उनीहरू बताउँछन् ।  नेपालमा एक महिनामा एक पटक तलब आउँछ, भने अमेरिकामा महिनाको दुई पटक आउँछ । तर यो प्रणाली नै गलत भएको नामीको तर्क छ ।

"तलब भुक्तानी प्रणाली नै उपयोगी नभएका कारण यसलाई परिवर्तन गर्नु आवश्यक भएको छ । त्यसैले हामीले रियलटाइम पेरोलको सेवा दिने निर्णय गरेका हौँ, उनी भन्छिन् । 

नामीका अनुसार न्युरलको यो सेवा संसारको कुनै पनि मानिसले प्रयोग गर्न सक्छन् । यसले मानिसको सशक्तीकरणमा थप सहयोग पुर्‍याउने उनको विश्वास छ । यसले जुन दिन काम गर्‍यो, त्यही दिन भुक्तानी दिने व्यवस्था स्थापना गर्न सक्ने उनी बताउँछिन् ।  

"यो आउने एक सय वर्षसम्म प्रयोग गर्न सकिन्छ । यो एकदम महत्त्वाकाङ्क्षी योजना हो । तर हामी त्यसो गर्न सक्छौँ," नामी भन्छिन्, "हामीले ५० लाख डलर रकम सङ्कलन गरेर यो काम थालिरहेका छौँ । आजको भोलि नै यसले फाइदा दिन्छ भन्ने हुँदैन । तर कालान्तरमा यसले भुक्तानी प्रणालीमा ठूलो परिवर्तन ल्याउने विश्वास छ ।" 

यो कम्पनीलाई स्थापना गर्नु मात्र पक्कै पनि उनीहरूको लक्ष्य होइन । आज जसरी नेपालीहरू विदेशमा अवसर खोज्दै गइरहेका छन्, भोलिको दिनमा नेपाल विदेशीहरूको लागि अवसर बनोस् भन्ने उनीहरूको सपना छ । यसलाई पूरा गर्ने सम्भावनाको रूपमा समेत उनीहरूले न्युरललाई लिएका छन् । 

"हाम्रो लक्ष्य भनेको नै नेपाली प्रतिभालाई चिनेर उनीहरूलाई मौका दिनु हो । भारतका कति मानिसहरू विश्वका ठूला ठूला कम्पनीहरूमा काम गरिरहेका छन् । हामी पनि यस्तै भएको देख्न चाहन्छौँ," नामी भन्छिन्, "नेपालबाट नै ‘मल्टि बिलिनियर’ (अर्बौँ डलर मूल्यका) कम्पनीहरू खुलून्, अरु देशका कम्पनीहरूको मुख्य कार्यालय यहाँ होस् भन्ने हाम्रो चाहना हो ।"

नवीनका अनुसार न्युरल भिसाको फिनटेक फास्टट्रयाक प्रोग्राममा पनि स्वीकृत भएको छ । कम्पनीले चाहेको खण्डमा भिसासँग सहकार्य गरेर समेत काम गर्न सकिने उनले बताए । हाल न्युरलका दुई मुख्य उत्पादन छन् ।

पहिलो उत्पादन यूएसडीसी स्टेबलकोइनमा आधारित पेरोल प्रणाली हो । यो क्रिप्टोमा आधारित छ । संसारभरका कम्पनीले संसारभरका मानिसहरूलाई रोजगार दिन सक्ने गरी यसको विकास गरिएको नवीनले बताए ।

"हाल हामी हाम्रा उत्पादनहरूमा काम गरिरहेका छौँ । अर्को वर्षदेखि बजारीकरण र बिक्रीको काम सुरु गर्छौँ," उनी भन्छन्, "अहिले हामीसँग २० जनाको टिम छ । काम गर्ने सबै नेपाली छन् । नेपालका मानिसलाई नै तालिम दिएर काम गरिरहेका छौँ ।"

नवीनका अनुसार भोलिको दिनमा न्युरलको मुख्य कार्यालय नेपालमै हुनेछ । नेपालीहरूलाई काम दिने मात्र होइन, तालिम दिएर आफैँ उद्यमी बन्न सक्ने क्षमता विकास गराउने हिसाबले आफूहरूले काम गरिरहेको उनी बताउँछन् । 

"ट्वीटरमा हेड अफ रेभिन्यु पार्टनरको रुपमा काम गर्दैगर्दा धेरै मानिसहरूको अन्तर्वार्ता लिएकी थिएँ । त्यहाँबाट मैले बुझेको कुरा भनेको राम्रो कर्मचारी भनेको धेरै अनुभव भएको अथवा धेरै तलब खाने मानिस होइन," नामी भन्छिन् ।

"हामीले काम गर्न इच्छुक मानिसलाई जागिर दिने हो । ‘पेपाल माफिया’ एउटा राम्रो तालिमयुक्त पूर्व कर्मचारीको टिमको रुपमा चिनिन्छ । त्यो टोलीमा भएका ठूला ठूला मानिसहरूका आज आ-आफ्नै अर्बौं रुपैयाँका कम्पनी छन् । हाम्रो लक्ष्य पनि त्यही हो ।"

नेपाल जस्तो देशले यहाँको प्रतिभा निर्यात गर्नुपर्ने नवीनको विश्वास छ । उनी भन्छन्, "नेपाल अब कृषिमा आधारित भएर सक्दैन । हामीले मानिस निर्यात गर्ने भन्दा पनि काम निर्यात गर्ने हिसाबले सोच्नुपर्छ । मानिसहरूको प्रतिभालाई निर्यात गर्नुपर्छ ।" 

आजको दिनमा विश्वका ठूला ठूला कम्पनीहरूका मुख्य कार्यालयहरू इजरायलमा छन् । यसलाई नेपाल तान्न सकिने सम्भावना नवीनले देखेका छन् । तर ‘अफसोरिङ’ (एउटा देशको काम अर्को भूगोल वा देशमा रहेको अफिसबाट गर्ने प्रक्रिया) काम गर्न नेपाल सरकारले नीति नबनाएका कारण धेरै काम रोकिएको उनी बताउँछन् ।

"अफसोरिङले नेपालको आर्थिक स्थितिलाई धेरै हदसम्म सुधार्न सक्छ । विदेशी कम्पनीले यहाँ मुख्य कार्यालय खोल्ने बित्तिकै नेपालको राजश्व बढ्ने हो । यो कुरालाई बुझेर सरकारले उपयुक्त नीति बनाउनुपर्छ," नवीन भन्छन् ।

पछिल्लो अध्यावधिक: पुस १, २०७९ १०:४९