close

वनएक्स बेटमार्फत विश्वकपमा सट्टेबाजी गराउने अर्का एजेन्ट पक्राउ, देखियो १ करोड बढीको कारोबार

टेकपाना टेकपाना

पुस ५, २०७९ १७:३८

वनएक्स बेटमार्फत विश्वकपमा सट्टेबाजी गराउने अर्का एजेन्ट पक्राउ, देखियो १ करोड बढीको कारोबार

काठमाडौं । फिफा विश्वकप २०२२ मा अनलाइन बेटिङ साइट 'वनएक्स बेट (1X bet)'मार्फत सट्टेबाजीका लागि रकम संकलन गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडाैं महानगरपालिका- २० भिमसेनस्थान बस्ने ४३ वर्षीय प्रविन श्रेष्ठ रहेका छन् ।

विश्वकप फुटबल लगायत विश्वमा सञ्चालन हुने खेल तथा गतिविधिमा सट्टेबाजी गर्न प्रयोग हुने 'वनएक्स बेट'मार्फत सट्टेबाजी लगाउन रकम संकलन गर्ने/गराउने कार्यमा एजेन्टहरू सक्रिय रहेको सूचनाको आधारमा अनुसन्धान थाल्दा सोमबार श्रेष्ठ पक्राउ परेका हुन् ।

पक्राउ परेका श्रेष्ठलाई नियन्त्रणमा लिई मुलुकी अपराध संहिताको दफा १२५ को उपदफा ४ बमोजिम सट्टेबाजी गर्न/गराउन नहुने कसूर अन्तर्गत थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर, काठमाडौं पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएकाे छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार श्रेष्ठले वनएक्स बेट मोबाइल एपमा बाजी थाप्न रकम संकलन गर्ने उद्देश्यले ई-सेवा डिजिटल वालेट सञ्चालन गर्ने गरेको देखिएको छ । साथै अन्य एजेन्टहरूसँग कुरा गर्न उनले  ह्वाट्सएपबाट कुरा गर्ने गरेको खुल्न आएको छ ।

पक्राउ परेका श्रेष्ठले प्रयोग गर्ने ह्वाट्सएपमा आर्थिक विवरण तालिकामा फिफा विश्वकप २०२२ मा संलग्न राष्ट्रहरूको नाम उल्लेख गरेर रकम ट्रान्सफर गर्ने गरेको खुलेको छ । त्यस्तै हालसम्म उनले वनएक्स  बेट, ई-सेवा वालेट र अन्य बैंकिङ प्रणालीमार्फत एक करोड चार लाख १० हजार ५३८ रुपैयाँको कारोबार गरेको प्रहरीले जनाएको छ ।

"प्रारम्भिक अनुसन्धानको क्रममा अन्य विभिन्न डिजिटल वालेट तथा बैंकिङ प्रणालीमार्फत समेत कारोबार गरेको देखिएकाले सो सम्बन्धमा थप अनुसन्धान भइरहेको छ," काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

पक्राउ परेका श्रेष्ठबाट वनएक्स बेट एप भएको आईफोन एक थान, उनको नाममा काटिएको कुमारी बैंक लिमिटेडको पाँच लाखको चेक र उनैको नाममा हिमालयन बैंक लिमिटेडमा डिपोजिट गरिएको ४० हजार रुपैयाँको स्लिप एक थान बरामद भएको छ ।

प्रहरीले यसअघि विभिन्न छ ठाउँबाट वनएक्स बेटमा सक्रिय एजेन्टलाई पक्राउ गरिसकेकाे छ । विशेषगरी सामाजिक सञ्जाल र प्राप्त सूचनाका आधारमा एजेन्टको खोजतलासी कार्य तीव्र गतिमा अगाडि बढाइएको प्रहरीले जनाएकाे छ ।

पछिल्लो अध्यावधिक: पुस ५, २०७९ १७:४०