close

काखमा राखेर ल्यापटप चलाउँदा पुरूषको प्रजनन क्षमता घट्योः अध्ययन

टेकपाना टेकपाना

पुस ५, २०७९ १८:५१

काखमा राखेर ल्यापटप चलाउँदा पुरूषको प्रजनन क्षमता घट्योः अध्ययन

काठमाडौं । पछिल्लो समय अन्तर्राष्ट्रिय मिडियामा पुरुषको वीर्यमा हुने शुक्रकीटको औसत मात्रा घटेको खबरले चर्चा पाइरहेको छ । इजरायलस्थित हीब्रू विश्वविद्यालय तथा अमेरिकाको माउन्ट साइनाई स्कुल अफ मेडिसिनले हालै गरेको अनुसन्धानले यो तथ्य बाहिर ल्याएको हो ।

सो अध्ययनअनुसार पछिल्लो ५० वर्षको अवधिमा पुरुषको वीर्यमा हुने शुक्रकीट ५१ प्रतिशतले घटेको छ । सन् १९७० ताका एक मिलिलिटर वीर्यमा औसत १० करोड १० लाखजति प्रजनन क्षमतायुक्त कोष अर्थात् शुक्रकीट हुन्थे भने अहिले त्यो मात्रा घटेर चार करोड ९० लाखमा आइपुगेको छ ।

पुरुषको वीर्यमा शुक्रकीटको मात्रा विभिन्न कारणले घटेको अध्ययनमा उल्लेख छ । त्यसमध्ये एक हो, काखमा ल्यापटप राखेर चलाउनु । मानिसहरू सहजताका लागि काखमा ल्यापटप राखेर प्रयोग गरिरहेका हुन्छन् । तर, यसो गर्दा उपकरणबाट निस्केको तापले शुक्रकीट उत्पादनमा असर गर्ने गरेको अध्ययनले देखाएको छ ।

अध्ययनअनुसार सामान्यतः पुरुषको अण्डकोष शरीरको तापक्रमभन्दा १ देखि २ डिग्री सेल्सियसले कम हुनुपर्छ । तर काखमा ल्यापटप राख्दा त्यस्तो तापले अण्डकोषमा बढी ताप प्रवाह पर्छ । अण्डकोषमा शरीरभन्दा बढी तापक्रम भइदिँदा शुक्रकीट उत्पादन कम हुने अध्ययनको निष्कर्ष छ ।

त्यस्तै धेरै समय तातो पानीमा नुहाउने प्रवृत्तिलाई पनि शुक्रकीटको मात्रा घट्दै जानुको एक प्रमुख कारणका रूपमा औंल्याइएको छ । अर्काेतर्फ विद्युतीय तरङ्ग, टेलिफोन सिग्ननल, ताररहित इन्टरनेट हुनुले पनि शुक्रकीटलाई असर गर्ने गरेको अध्ययनले जनाएको छ ।

तर, यी प्रविधिले शुक्रकीटका कोषिकालाई साँच्चै हानी गर्छन् कि गर्दैनन् भन्ने निश्चित हुन अझै सम्भव नभएको खोजकर्ता बताउँछन् । त्यस्तै पछिल्लाे पाँच दशकमा पुरुष वीर्यको शुक्रकीटको मात्रा घट्दै जानुका अन्य कारणमा मोटोपन, दुर्व्यसन, यौनाङ्गबाट सर्ने सङ्क्रमण आदि रहेको बताइएको छ ।

-बीबीसीको सहयोगमा

पछिल्लो अध्यावधिक: पुस ५, २०७९ १८:५१