close

आईटीमा ब्याचलर्स सकेपछि मास्टर्स पढ्ने कि रोजगारी गर्ने ?

सञ्जीवन राई सञ्जीवन राई

पुस ६, २०७९ १७:४२

आईटीमा ब्याचलर्स सकेपछि मास्टर्स पढ्ने कि रोजगारी गर्ने ?

काठमाडाैं । ‘क्लाउड कन्सल्टिङ प्रोभाइडर’ कम्पनी जेनिस सोलुसनका सह-संस्थापक निरञ्जन उदासले २०७२ सालमा गण्डकी कलेज अफ इन्जिनियरिङ एण्ड साइन्सबाट सफ्टवेयर इन्जिनियरिङ उत्तीर्ण गरे । स्नातक तहको पढाइ सकेको छ वर्षसम्म पनि उनी मास्टर्स (स्नातकोत्तर) तहमा भर्ना भएनन् ।

एक वर्षअघि मात्र इन्फरमेसन सिस्टम इन्जिनियरिङ अध्ययनका लागि उनले मास्टर्स जोइन गरे । सूचना प्रविधि (आईटी) अध्ययनपछि केही वर्ष काम गर्दा पढाइमा पनि सहयाेग पुग्‍ने भएकाले लामाे समयससम्म मास्टर्समा आफू भर्ना नभएकाे उनी सुनाउँछन् ।

हुन त स्नातक तहकाे विद्यार्थी हुँदा नै निरञ्जन आईटी क्षेत्रमा काम गर्न थालिसकेका थिए । अहिले उनी मर्कन्टाइल कन्सल्टिङमा क्लाउड कन्सल्ट्यान्ट र नेपाल इनाेभेसन सेन्टरमा प्राविधिक टिमकाे नेतृत्व तहमा काम गरिरहेका छन् । सामान्यतः कुनै पनि विषयमा विज्ञता पाउन स्नातकोत्तरमा अध्ययन गरिने उदासकाे मत छ ।

“स्नातकमा ‘जनरल’ पढाइ हुन्छ भने ‘स्पेसलाइजन’का लागि मास्टर्स गर्ने गरिन्छ,” आफूले लामो समयसम्म मास्टर्स जोइन नहुनुको कारण खुलाउँदै उनी भन्छन्, “त्यसैले त्यो बीचको समयमा सीप सिक्न तत्कालै मास्टर्स जोइन गरिनँ ।”

आफ्नाे रुचि कुन कुरामा छ भन्ने थाहा नपाउने बेलासम्म स्नातकोत्तर गर्नु भनेकाे प्रमाणपत्रका लागि मात्र अध्ययन गर्नु बराबर भएको उनको बुझाइ छ । “आईटी उद्याेगमा काम गरेर मास्टर्स जोइन हुँदा थेसिस गर्न सजिलाे हुन्छ,” उनी भन्छन्, “थेसिसमा कुनै पनि समस्याका बारेमा अध्ययन गरिन्छ । साे कुरा भने काम गरेपछि मात्र थाहा हुन्छ ।”

उनकाे विचारसँग साेही कलेज (गण्डकी कलेज अफ इन्जिनियरिङ एन्ड साइन्स) का बीई प्राेग्राम काेअर्डिनेटर ताराबहादुर थापा पनि सहमत छन् । उनी स्नातक तहपछि केही समय काम गर्दा बजार अनुभव राम्राे हुने तर्क गर्छन् । यद्यपि स्नातक मात्र अध्ययन गरेकाले अरूकाे निर्देशनमा काम गर्नुपर्ने भएकाले कतिपयले स्नातकोत्तर तह पढी आफ्नो क्षेत्रमा विज्ञता हासिल गर्नसक्ने उनी बताउँछन् ।

“पदोन्नतिका लागि मात्र भएपनि धेरैले स्नातकोत्तर भर्ना गर्ने गरेका छन्,” थापा अघि भन्छन्, “यसरी आउनेमा सरकारी कर्मचारीहरूकाे संख्या पनि उच्च छ ।”

त्यस्तै काठमाडाैं विश्वविद्यालयका कम्प्युटर साइन्स एन्ड इन्जिनियरिङ विभागका सहप्राध्यापक रविन्द्र विष्ट (पीएचडी) पनि पदोन्नतिका लागि मास्टर्स डिग्री आवश्यक परेर आउने विद्यार्थी धेरै भएकाे सुनाउँछन् ।

तर, पाेखरा विश्वविद्यालयकाे विज्ञान तथा प्रविधि संकायका डीन प्राध्यापक राजेशकुमार ठगुराथी अलि भिन्न विचार राख्छन्  । उनका अनुसार शैक्षिक तथा अनुसन्धान क्षेत्रका साथमा विशिष्टीकृत ज्ञानका लागि विद्यार्थी मास्टर्स जोइन गर्ने गर्छन् ।

नेपालमा स्नातक र स्नातकोत्तर तहकाे भर्ना दर धेरै फराकिलाे छ । विश्वविद्यालय अनुदान आयाेगकाे पछिल्लाे प्रतिवेदन ‘रिपाेर्ट अन हाइयर एजुकेशन २०२०/२१’ का अनुसार साे शैक्षिक वर्षमा चार लाख १० हजार ९५४ विद्यार्थी स्नातकमा भर्ना भए भने ४७ हजार १६८ विद्यार्थी मात्र स्नातकोत्तरमा भर्ना भएका थिए । डीन प्राध्यापक ठगुराथीका अनुसार धेरै विद्यार्थी स्नातकपछि काम गर्दै अध्ययन गर्ने भएकाले समय व्यवस्थापन चुनाैती देखिएकाे छ ।

काम गर्दै अध्ययन गर्न असहज भएपनि यसले पढाइमा भने सहयाेग पुर्‍याउने उनको विश्वास छ । जागिर र अध्ययनसँगै गर्दा समय व्यवस्थापन चुनाैती हुने कुरामा गण्डकी कलेजका विद्यार्थी उदासकाे विमति छैन । पढाइ, काम र परिवारका लागि समय छुट्ट्याउन गाह्राे हुने गरेको उनको अनुभव छ । 

विद्यार्थीलाई कामकाे अनुभव दिलाउन स्नातक तहमा प्राेजेक्ट अथवा इन्टर्नसीप हुने गर्छ । तर, आईटी उद्याेग बुझ्न याे पर्याप्त नहुने काठमाडाैं विश्वविद्यालयका सहप्राध्यापक विष्ट बताउँछन् । यसकारण स्नातकपछि केही समय काम गर्दा आईटीका कस्ता डाेमेनहरूमा बढी अवसर छन्,  वास्तविक जीवनमा कस्ता कस्ता समस्या आउँछन्, कसरी काम गरिन्छ भन्ने कुरा थाहा पाउन सकिने उनी सुनाउँछन् ।

उनकाे कुरामा पाेखरा विश्वविद्यालयका डीन प्राध्यापक ठगुराथी पनि सहमत देखिन्छन् । उनी स्नातक तहपछि केही समय काम गर्नुपर्नेमा जाेड दिन्छन् ।

“बजारमा स्नातकोत्तर गरेका भन्दा स्नातक उत्तीर्ण विद्यार्थी बढी कार्यरत छन्,” उनी थप्छन्, “यसले विद्यार्थीलाई आईटी उद्याेग बुझ्न, त्यहाँ भएका समस्या थाहा पाउन सहयाेग गर्छ । सँगै उनीहरूकाे परिपक्वता र अनुभव बढ्छ ।”

तुलनात्मक हिसाबले नेपालमा स्नातकभन्दा स्नातकोत्तर तहमा काेटा कम छ । तर, यस कुराले जनशक्ति उत्पादनमा कुनै असर नगरेकाे डीन ठगुराथी बताउँछन् ।

“स्नातकाेत्तर तहका हरेक विषयमा काेटा खाली हुँदैनन्,” उनी भन्छन्, “हाम्राे विश्वविद्यालयमा स्नातकाेत्तर तहका आईटी विषयहरूमा काेटा अनुसार नै विद्यार्थी भर्ना हुने गरेका छन् । यसमा शैक्षिक कार्यक्रम कस्ताे छ भन्ने कुराले पनि फरक पार्छ ।”

विश्वविद्यालयकाे भाैतिक र जनशक्ति क्षमताका कारण तुलनात्मक हिसाबले स्नातकोत्तर तहमा काेटा कम हुने काठमाडाैं विश्वविद्यालयका सहप्राध्यापक विष्ट बताउँछन् । साथै गुणस्तर नियन्त्रणका लागि पनि काेटा सीमित हुने उनी सुनाउँछन् । धेरै विद्यार्थी भए भने स्तरीय थेसिस गर्न नसकिने उनकाे अनुभव छ ।

“थेसिसका लागि विशेष पर्यवेक्षक संलग्न हुनुहुन्छ । विद्यार्थीलाई उहाँले पर्याप्त समय दिनुपर्छ,” उनी थप्छन्, “उहाँले सुपरभाइजिङ बाहेक अन्य काम पनि गर्नुपर्छ । यसरी विद्यार्थी र पर्यवेक्षकले पर्याप्त समय दिन सक्नुभएन भने स्तरीय थेसिस प्राप्त हुँदैन ।”

स्नातकपछि स्नातकोत्तर तहमा अध्ययन गर्न आर्थिक अवस्था, रुचि, समय जस्ता कुराले प्रभाव पार्ने गर्छन् । तर, स्नातकपछि आईटी क्षेत्रमा केही समय काम गरेर स्नातकोत्तर तहमा भर्ना हुँदा पढाइमा समेत फाइदा पुग्ने देखिन्छ । 

आखिर मास्टर्समा किन थोरै विद्यार्थी ?
स्नातक तहका लागि नेपालमा सयौं कलेज र दुई दर्जन बढी आईटी कोर्ष उपलब्ध छन् । तर स्नातकोत्तर तहमा भने विद्यार्थी संख्या निकै कम छ । विश्वविद्यालयले पनि थोरै शैक्षिक कार्यक्रम सञ्चालन गर्छन् । यसो हुनुका पछाडि धेरै कुराको कारण हुनसक्छ । कतिपय विद्यार्थी १६ वर्षभन्दा बढी लगातार पढ्दा ब्रेक लिन चाहन्छन् ।

उद्योगले पनि स्नातक उत्तीर्णलाई लिने गरेकाले उद्योगमा गएर काम गर्नका लागि मास्टर्स पढ्नैपर्छ भन्ने जरुरी छैन । कतिपयले केही समय उद्योगमा काम गरेको अनुभव सँगाली मास्टर्स पढ्न खोज्छन् । त्यस्तै स्नातकपछि विदेश एप्लाई गर्न चाहन्छन् । टोफेल, जीआरई, आयल्ट्स जस्ता कोर्षहरुमा समय दिन्छन् ।

यसर्थ अन्य संकायमा जस्तो तुरुन्त मास्टर्स पढ्ने अवस्था यो विषयमा छैन । अर्कोतर्फ नेपालमा मास्टर्सका लागि उपयुक्त पाठ्यक्रमको अभाव, रिसर्चमा लगानीको कमी, फ्याकल्टी मेम्बरहरुको गुणस्तर आदिका कारण धेरै विद्यार्थीले स्वदेशमा आईटीमा मास्टर्स अध्ययन गर्न नचाहेको विश्लेषण गर्न सकिन्छ ।

यद्यपि केही विश्वविद्यालयले स्नातकोत्तर तहका लागि नै लक्षित गर्दै स्पेसिफिक आईटी कोर्ष ल्याउन थालेका छन् । तर यस्ता कोर्षमा विद्यार्थीको रुचि कम छ भने विश्वविद्यालयले पनि थोरै सिटमात्र उपलब्ध गराइएको छ । 

आईटीको स्नातकोत्तर तहमा विद्यार्थी संख्या कम हुँदा नेपालमा पर्याप्त रुपमा अनुसन्धानकर्ता पनि बढ्न सकेका छैनन् । शैक्षिक तथा अनुसन्धान संस्थामा जनशक्तिको अभाव हुँदा यहाँको बजारको मूल्याकंन, माग र भविष्यबारे यकिन अध्ययन हुन सकिरहेको छैन । साथै विद्यार्थीलाई अनुसन्धानमुखी शिक्षा प्रदान पनि समस्या हुने गरेको छ । 

यता विश्वविद्यालयका अधिकारीहरु नेपालमै अन्तर्रााष्टियस्तरको स्ट्यान्डर्ड कोर्ष बनाएको दाबी गरेपनि विद्यार्थीलाई बाहिरकै डिग्री लिने इच्छा बढी हुनाले पलायन दर पनि बढ्दो छ । ज्ञान र सिप सिक्न विदेश जानुलाई राम्रै मान्नुपर्ने भएपनि उतै पलायन हुँदा देशले भने घाटा व्यहोरिरहेको छ ।   

त्रिभुवन विश्वविद्यालयका मास्टर्स कार्यक्रम
-एमएससी सीएसआईटी
-एमएड इन आईसीटी
-एमएससी इन इन्फर्मेसन एन्ड कम्युनिकेसन इन्जिनियरिङ
-एमआईटी

काठमाडौं विश्वविद्यालयका कार्यक्रम
-एमई कम्प्युटर इन्जिनियरिङ
-एमटेक ईन आईटी​​
-एमएस बाई रिसर्च 
-मास्टर्स ईन आर्टिफिसियल इन्टेलिजेन्स
-मास्टर्स ईन हेल्थ इन्फर्म्याटिक्स

पोखरा विश्वविद्यालयका कार्यक्रम
-मास्टर्स अफ कम्प्युटर एप्लिकेसन
-एमएससी कम्प्युटर साइन्स
-मास्टर्स अफ कम्प्युटर इन्फर्मेशन सिस्टम
-मास्टर्स अफ कम्प्युटर इन्जिनियरिङ

पूर्वाञ्चल विश्वविद्यालयका कार्यक्रम
-मास्टर्स इन कम्प्युटर एप्लिकेशन 
-मास्टर्स अफ साइन्स इन इन्फर्मेशन इन्जिनियरिङ 

नेपाल खुला विश्वविद्यालय
-मास्टर्स इन ई गभर्नेन्स

विदेशी शैक्षिक कार्यक्रम
-एमएससी आईटी, द ब्रिटिस कलेज
एमएस्सी आईटीएम (इन्फमेर्सन टेक्नोलोजी म्यानेजमेन्ट), लर्डबुद्ध एजुकेसन फाउन्डेसन
-इस्लिङटन कलेजले एमएससी आइटी एन्ड एप्लाइड सेक्युरिटी इस्लिङ्टन कलेज
-एमएससी डेटा साइन्स एन्ड कम्प्युटेसनल इन्टेलिजेन्स, सफ्टवेरिका कलेज अफ आईटी एन्ड ईकमर्स

मास्टर्स डिग्रीपछिका अवसर
-स्कुल/कलेजमा शिक्षक बन्न
-सरकारी सेवामा प्रवेश/पदोन्नति
-अनुसन्धान, लेख तथा पुस्तक प्रकाशन
-विद्यावारिधि तयारीका लागि 

सम्बन्धित समाचारः
आईटीमा के पढ्ने ? 
अहिलेको शिक्षा प्रणाली नै फेर्न जरुरी छ 
सीप छ भने डिग्री नभए पनि आईटीमा काम पाइन्छ
आईटी क्षेत्रका आकर्षक जागिर, कति होला तलब ?

पछिल्लो अध्यावधिक: पुस ६, २०७९ १९:२