close

पाँच महिनामा भित्रिए बाह्र हजार विद्युतीय सवारी

टेकपाना टेकपाना

पुस ११, २०७९ ८:२८

पाँच महिनामा भित्रिए बाह्र हजार विद्युतीय सवारी

काठमाडौं । चालू आर्थिक वर्षको पहिलो पाँच महिनामा १२ हजार दुई सय ८४ थान विद्युतीय सवारी साधन आयात भएका छन् । भन्सार विभागले तयार पारेको गत साउनदेखि मङ्सिरसम्मको तथ्याङ्क अनुसार पाँच अर्ब ५८ करोड ६४ लाख रुपैयाँ बराबरको ठूला बसदेखि विद्युतीय साइकलसम्म आयात भएको हो । 

नेपालमा सबैभन्दा धेरै आयात हुने विद्युतीय सवारीसाधनमा स्कुटर तथा मोटरसाइकल छन् । पेट्रोलियम सवारीसाधन आयातमा गरिएको निषेध र विद्युतीय सवारी प्रवद्र्धनका लागि दिइएको विभिन्न खाले कर छुटका कारण चालू आर्थिक वर्षको पहिलो पाँच महिनामा सो परिमाणका विभिन्न विद्युतीय  सवारीसाधन  नेपाल  आयात  भएको  देखिएको छ ।

विद्युतीय सवारीमा सबैभन्दा धेरै दुईपाङ्ग्रेकै आयात उच्च देखिन्छ । ५४ करोड ८४ लाख रुपैयाँको चार हजार ४८३ थान बाइक र स्कुटर आयात भएका छन् । विद्युतीय मोटर जडित दुई हजार ४९० थान साइकल पनि यो अवधिमा आयात भएको देखिन्छ । 

आयातको प्रवृत्ति हेर्दा साना सार्वजनिक यातायात तथा ढुवानी प्रयोजनमा  प्रयोग हुने तीनपाङ्ग्रेको पनि उल्लेख्य आयात भएको देखिन्छ । यस्ता सवारीसाधन तीन हजार ८२७ थान आयात भएका छन् । यीमध्ये ३४८ वटा नेपालमै एसेम्बल गर्ने गरी आयात भएको छ ।

बजारमा धेरै चासो  हुने विद्युतीय कार तथा जिप भने एक हजार ३५३ थान आयात भएको देखिन्छ । सरकारले आर्थिक ऐनमार्फत कर छुट दिएकाले एक सय किलोवाटभन्दा कम क्षमताका मात्रै यस्ता साधन एक हजार ३२० थान छन् ।

एक सयदेखि दुई सय किलोवाट क्षमताका ३० थान कार आयात भएका छन् । त्योभन्दा माथिका तीन थान मात्रै आयात भएका छन् । कार, जिप तथा भ्यान आयातमा तीन अर्ब ८३ करोड रुपैयाँ खर्च भएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार मङ्सिरसम्ममा ठूला ३७ वटा  विद्युतीय बस आयात भएका छन् भने ७८ वटा विद्युतीय माइक्रो बस पनि आयात भएका छन् ।

३७ ठूला बसको भन्सार मूल्याङ्कन ४५ करोड ६७ लाख रुपैयाँ मूल्याङ्कन भएको छ भने ७८ माइक्रो बसको मूल्याङ्कन १८ करोड ८९ लाख रुपैयाँगरिएको छ । यो अवधिमा पेट्रोलियम र विद्युत् दुवैले चल्ने हाइब्रिड सवारीसाधन पनि १० थान आयात भएको भन्सारको तथ्याङ्कले देखाउँछ ।  

- गोरखापत्रबाट

पछिल्लो अध्यावधिक: पुस ११, २०७९ ८:३१