close

विदेशमा रहेका कस्ता प्रवासीले नेपालमा आईपीओ भर्न पाउँछन् ?

टेकपाना टेकपाना

पुस १३, २०७९ १९:८

विदेशमा रहेका कस्ता प्रवासीले नेपालमा आईपीओ भर्न पाउँछन् ?

काठमाडौं । विदेशमा रहेका प्रवासीले पनि नेपालमा आईपीओ भर्न सक्छन् । कुनै पनि कम्पनीले शेयरको प्रारम्भिक सार्वजनिक निष्कासन जारी गर्दा १० प्रतिशत शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीका लागि छुट्याउनुपर्ने व्यवस्था छ ।

धितोपत्र निष्कासन तथा बाँडफाँड (छैठौं संशोधन) निर्देशिका, २०७९ अनुसार रोजगारीको सिलसिलामा विदेशमा रहेका नेपालीले आईपीओ भर्न सक्छन् । यसका लागि सम्पूर्ण सी-आस्बा सदस्यता प्राप्त बैंक तथा वित्तीय संस्थालाई सी-आस्बा प्रणालीमा आफ्ना ग्राहकको रेमिटेन्स बचत खाता तथा सोका लागि प्रदान गरिने सीआरएन नम्बर प्रविष्ट गर्ने व्यवस्था ल्याइएकाे छ ।

आज हामी कस्तो प्रक्रिया पूरा गरेका व्यक्तिले विदेशबाट आईपीओ भर्न सक्छन् भन्ने विषयमा जानकारी दिँदैछौँ ।

आईपीओ आवेदनका लागि यी मापदण्ड पूरा गर्नुपर्छ

१. नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा (ASBA)  सदस्य बैंकमार्फत आफ्नो नाममा वैदेशिक रोजगारी विप्रेषण (रेमिटेन्स) बचत खाता खोल्नुपर्ने छ । 

२. सीडीएस एन्ड क्लियरिङ लिमिटेडबाट अनुमति प्राप्त निक्षेप सदस्य (डीपी) मार्फत आफ्नो नाममा हितग्राही (डिम्याट) खाता खोल्नु पर्नेछ ।

३. नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरेको विवरण पेस गरी विप्रेषण (रेमिटेन्स) बचत खाताको लागि बैंकमार्फत सी–आस्बा रजिष्ट्रेशन नम्बर (CRN) लिनु पर्नेछ ।

४. सीआरएन नम्बर प्राप्त गरिसकेको आवेदकले मेरो शेयर एपमार्फत आईपीओ खरिद गर्नसक्ने व्यवस्था छ । आफ्नो विप्रेषण (रेमिटेन्स) बचत खातामा पछिल्लो ६ महिनामा कम्तीमा ५० हजार रुपैयाँ आफू रोजगार रहेको मुलुकबाट जम्मा गरेको हुनुपर्ने छ । आवेदकले आईपीओ निष्कासन हुने अन्तिम मितिभित्र आफू रोजगार रहेको मुलुकबाट रकम जम्मा गरी आवेदन दिन सक्नेछन् ।

पछिल्लो अध्यावधिक: पुस १३, २०७९ १९:५०