close

काठमाडौं र ललितपुरबाट वितरण हुन थाल्यो राष्ट्रिय परिचयपत्र कार्ड

टेकपाना टेकपाना

पुस १५, २०७९ १४:२१

काठमाडौं र ललितपुरबाट वितरण हुन थाल्यो राष्ट्रिय परिचयपत्र कार्ड

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौं र ललितपुरले राष्ट्रिय परिचयपत्र कार्ड वितरण गर्न थालेका छन् । यसका लागि राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले पहिलो चरणमा दुवै प्रशासन कार्यालयलाई ८-८ हजार कार्ड उपलब्ध गराएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंकी सूचना अधिकारी देवी पाण्डे खत्रीले दैनिक ४० देखि ५० जनासम्मलाई राष्ट्रिय परिचयपत्र वितरण गरिरहेको जानकारी दिइन् । ''मोबाइलमा म्यासेज पाएर जो-जो नागरिक आउनुहुन्छ, उहाँहरुलाई हामीले कार्ड उपलब्ध गराइरहेका छौं,'' उनले टेकपानासँग भनिन् ।

यसैगरी ललितपुर जिल्ला प्रशासन कार्यालयकाे दर्ता स्टेसनमा वैयक्तिक एवं जैविक विवरण दर्ता गराएका सेवाग्राहीलाई​ पनि कार्ड वितरण गर्न थालिएकाे छ । यसअघि सिंहदरबारस्थित विभागको दर्ता स्टेसनमा विवरण दर्ता गराएका करिब १० हजार सेवाग्राहीलाई कार्ड वितरण गरिएकाे थियाे ।

नागरिकले जुन ठाउँमा बायोमेट्रिक विवरण दर्ता गराएका थिए, त्यही ठाउँबाटै राष्ट्रिय परिचयपत्र लिन सक्छन् । हालसम्म साढे छ लाख बढी कार्ड प्रिन्ट भइसकेकाे राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका सूचना अधिकारी लक्ष्मण ढकालले जानकारी दिए ।

धमाधम कार्ड प्रिन्ट भइरहे पनि वितरण गर्न थप जनशक्ति र पूर्वाधारको कमी रहेको उनले बताए । ''कार्ड वितरणका लागि सेवाग्राहीको बायोमेट्रिक पहिचान गर्न फेरि छुट्टै स्टेसन चाहिन्छ । पर्याप्त जनशक्ति र पूर्वाधारको व्यवस्था नभएकाले कहिलेदेखि कार्ड वितरण हुन्छ, यसै भन्न सकिन्न,'' उनले भने ।

हाल विद्युतीय राहदानीका लागि राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य गरिएकाले देशैभर राष्ट्रिय परिचयपत्र बनाउनेको संख्या बढ्दो छ । विभागका अनुसार ४३ जिल्लामा घुम्ती टोलीमार्फत नागरिकको वैयक्तिक एवं जैविक विवरण संकलन कार्य सम्पन्न भएको छ भने थप १५ जिल्लामा यो अभियान जारी छ । 

यसबाहेक ७७ ओटै जिल्ला प्रशासन कार्यालयमार्फत राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता गर्न सकिन्छ । तर तत्कालै कार्ड दिन नसक्दा विभागले राष्ट्रिय परिचयपत्र नम्बर मात्रै उपलब्ध गराइरहेको छ ।

पछिल्लो अध्यावधिक: पुस १५, २०७९ १४:५३