close

अन्नपूर्ण गाउँपालिकाको उत्कृष्ट लोगो बनाउनेलाई २० हजार पुरस्कार

टेकपाना टेकपाना

पुस १५, २०७९ २०:४५

अन्नपूर्ण गाउँपालिकाको उत्कृष्ट लोगो बनाउनेलाई २० हजार पुरस्कार

कास्की । अन्नपूर्ण गाउँपालिकाको उत्कृष्ट लोगो बनाउने डिजाइनरले २० हजार रुपैयाँ पुरस्कार पाउने भएका छन् । बुधबार एक सूचना जारी गर्दै गाउँपालिकाले आफ्नो प्रतीक चिन्ह (लोगो) बनाउन इच्छुक डिजाइनरमाझ आह्वान गरेको छ ।

"नेपालको निशान छापसँगै यस अन्नपूर्ण गाउँपालिकाको छापको रूपमा प्रयोग गर्ने प्रयोजनका लागि यस गाउँपालिकाको ऐतिहासिकता झल्किने किसिमको लोगो (छाप) तयार गर्नुपर्ने भएको हुँदा इच्छुक कम्पनी, संघ, संस्था वा व्यक्तिबाट आधारभूत विषयलाई समावेश गरी लोगो बनाई पेस गर्न आह्वान गरिन्छ," सूचनामा भनिएको छ ।

डिजाइनरले लोगो बनाउँदा विभिन्न सर्तहरू पालना गरेर बनाउनुपर्ने छ । यसअन्तर्गत लोगोमा अन्नपूर्ण गाउँपालिकाको नक्सा, गाउँपालिकाको ऐतिहासिक तथा सांस्कृतिक पहिचान झल्कने सामग्री राख्नुपर्ने छ । साथै लोगोमा गाउँपालिकाका महत्त्वपूर्ण प्राकृतिक सम्पदा एवं पर्यटकीय स्थलहरू समेटिनुपर्ने छ ।

डिजाइनरले तयार पार्ने लोगोमा गाउँपालिकाको दीर्घकालीन सोच स्पष्ट हुनुपर्ने गाउँपालिकाका सूचना प्रविधि अधिकृत सूर्य तिमिल्सिनाले बताए । "गाउँपालिकाको आधिकारिक प्रयोजनका लागि प्रयोग गरिने लोगो भएकाले अर्थपूर्ण हुनुपर्नेछ," उनी भन्छन्, "यो विशेषतः गाउँपालिकाको नामसँग मिलेको हुनुपर्छ ।"

लोगो विवादास्पद तथा दोहोरो अर्थ लागेमा रद्द हुने उनको भनाइ छ । तयार पारेको लोगो जेपीजी फर्म्याटमा पठाउनुपर्ने हुन्छ । उत्कृष्ट लोगो बनाउनेले प्रोत्साहन स्वरूप २० हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

छनाेट भएको उत्कृष्ट लोगोलाई गाउँपालिकाले आफ्नो लोगोको रूपमा प्रयोग गर्नेछ । पुस २० गतेभित्र गाउँपालिकाको ईमेल एड्रेस ([email protected]) मा  लाेगाे पठाउन सकिन्छ ।

पछिल्लो अध्यावधिक: पुस १५, २०७९ २०:४५