close

इतिहासमै २६० खर्ब बढि रकम गुमाउने पहिलो व्यक्ति बने एलन मस्क

टेकपाना टेकपाना

पुस १७, २०७९ १३:८

इतिहासमै २६० खर्ब बढि रकम गुमाउने पहिलो व्यक्ति बने एलन मस्क

काठमाडौं । सन् २०२१ मा एलन मस्क ३०० अर्ब डलरभन्दा बढी सम्पत्ति कमाउने पहिलो व्यक्ति बनेका थिए । त्यसको एक वर्ष पनि नबित्दै इतिहासमै सबैभन्दा बढी सम्पत्ति गुमाउने व्यक्ति पनि बनेका छन् । उनी इतिहासका एक मात्र त्यस्ता व्यक्ति हुन् जसको सम्पत्ति २०० अर्ब डलर (करिब दुई सय ६० खर्ब रुपैयाँ) बढीले घटेको छ ।

५१ वर्षीय एलन मस्कको सम्पत्ति अहिले एक सय ४६ अर्ब डलरमा सीमित भएको छ । गत मंगलबार उनको सम्पत्ति घटेर १३७ अर्ब डलरमा पुगेको थियो । एलन मस्कको सबैभन्दा धेरै शेयर टेस्लामा रहेको छ । त्यसैले कम्पनीको शेयरमा अलिकति पनि थपघट भए मस्कको सम्पत्ति अर्बौं डलरले घट्ने बढ्ने भइरहन्छ । 

ब्लुमबर्ग बिलिनियर इन्डेक्सका अनुसार टेस्लाको शेयरमा नाटकिय रूपले ११ प्रतिशत शेयर घट्दा उनको सम्पत्ति १३७ अर्ब डलर पुगेको थियो । 

सन् २०२१ नोभेम्बर ४ मा मस्कको सम्पत्ति ३४० अर्ब डलर पुगेको थियो । उनी लामो समयसम्म संसारको सबैभन्दा शीर्ष धनी व्यक्तिका रूपमा रहेका थिए । डिसेम्बरको सुरुवातमा लुइ भितनका संस्थापक बर्नार्ड अर्नोल्टले उनलाई पछि पारेका हुन् ।

गत वर्ष अक्टोबरमा टेस्लाको कूल भ्यालू एक खर्ब डलर नाघेको थियो । कोभिडको महामारीले विश्व नै थला परेको अवस्थामा मस्कको आम्दानी  र उनको कम्पनीको शेयर मूल्यले आकाश चुमेको थियो । 

कोभिड महामारीमा बढेको कम्पनीको भ्यालु, महामारी निर्मूल हुँदै जाँदा दिनानुदिन घट्दो छ । खर्ब डलर कम्पनी भ्यालु रहेका एप्पल, माइक्रोसफ्ट, अमेजन, साउदी अराम्को, र अल्फाबेटको सूचिमा टेस्ला पनि परेको थियो । अहिले टेस्लाको कुल भ्यालु तीन सय ८८ अर्ब डलर रहेको छ । अर्थात् कम्पनीको मूल्य सन् २०२१ को नोभेम्बरमा  १ खर्ब २२ अर्ब डलर पुगेको थियो, जुन सन् २०२२ मा ६५ प्रतिशतले घटेको छ ।

अहिले इलेक्ट्रिक कारमा टेस्लाको प्रभुत्व, यसको उच्च मूल्याङ्कनको आधार घट्ने क्रममा छ । यसले अमेरिकी उपभोक्ताहरूलाई दुई मोडेलका कारमा सात हजार पाँच सय डलर छुट दिँदै आएको छ । केही रिपोर्टमा टेस्लाले आफ्नो सांघाई प्लान्टमा उत्पादन घटाइरहेको उल्लेख छ ।

त्यस्तै मस्कले ४४ अर्ब डलरमा ट्वीटरको पूर्ण स्वामित्व लिएपछि टेस्लाले ठूलो नोक्सानी बेहोर्दै आएको छ । ट्वीटर कम्पनीबाट कर्मचारीलाई निकाल्ने, अनावश्यक नीति बनाएर प्रतिबन्ध लागेका अकाउन्ट खोल्ने र पत्रकारका अकाउन्टमा प्रतिबन्ध लगाउँदा ट्वीटरले आफ्ना विज्ञापनदाता गुमाएको छ । 

यसको प्रभाव मस्क र टेस्ला दुवैमा परेको छ । ट्वीटर खरिद गर्न मस्कले टेस्लाको धेरै शेयर बिक्री गरिसकेका छन् । साथै ट्वीटर खरिद गर्न उनले आफ्नो अर्को कम्पनी स्पेसएक्सको शेयर पनि बिक्री गरेका छन् । 

अहिले स्पेसएक्समा उनको कूल ४२.२ प्रतिशत शेयर मात्र बाँकी छ । त्यस्तै उनीसँग टेस्लाको १४.१ प्रतिशत शेयर बाँकी छ । ट्वीटरको शेयरले मस्कको सम्पत्तिमा योगदान नपुर्‍याउँदा उनको सम्पत्ति दिनानुदिन घट्दै गएको विभिन्न तथ्याङ्कले देखाएको छ ।

यसो त मस्कको सम्पत्ति अप्रत्याशित रूपमा बढ्ने र घट्ने भइरहन्छ । त्यसैले आफूलाई सर्वाधिक धनी व्यक्तिको सूचीमा राख्न मस्कले कस्तो रणनीति अपनाउछन् भन्ने कुरा हेर्न बाँकी नै छ ।

 

 

पछिल्लो अध्यावधिक: पुस १७, २०७९ १३:८