close

चीनमा हाइड्रोजनबाट चल्ने रेल सार्वजनिक, प्रति घण्टा १६० किमि गतिमा गुड्ने

टेकपाना टेकपाना

पुस १८, २०७९ १७:३४

चीनमा हाइड्रोजनबाट चल्ने रेल सार्वजनिक, प्रति घण्टा १६० किमि गतिमा गुड्ने

काठमाडौं । चीनमा पहिलोपटक हाइड्रोजन-ऊर्जाद्वारा सञ्चालित रेल सार्वजनिक भएको छ । प्रतिघण्टा १६० किलोमिटर स्पिड भएको उक्त रेल गत बुधबार सार्वजनिक गरिएको हो । एक पटक हाइड्रोजन भरेपछि रेलले अधिकतम ६०० किलोमिटर यात्रा तय गर्न बताइएकाे छ ।

साथै यस रेलमा १५०० जनाको सिट क्षमता रहेको छ । वातावरणमैत्री यो रेलले शून्य-कार्बन उत्सर्जन गर्ने बताइएको छ । सबैभन्दा आकर्षक विशेषता भनेकाे यो रेल स्वचालित छ, जहाँ रेल आफैं स्टार्ट र बन्द हुन्छ । त्यस्तै विभिन्न स्टेसनमा पनि मानिसहरूको चाप अनुसार पर्खने समय पनि सिस्टमले नै निर्धारण गर्छ । 

रेलमा एआई मोनिटरिङ सिस्टम र सेन्सर, फाइभजी सञ्चार र सुरक्षा जोखिम कम गर्ने उन्नत प्रविधि समावेश गरिएको छ । हाइड्रोजनबाट चल्ने यो रेलको ठाउँमा अन्य रेल भएको भए त्यसले प्रति ५०० किलोमिटर यात्रामा १० हजार किलो कार्बन उत्सर्जन गर्थ्यो ।

बुधबारदेखि सञ्चालनमा आएको उक्त रेल यसअघि पाँचौं अन्तर्राष्ट्रिय इम्पोर्ट एक्सपोमा प्रदर्शन गरिएको थियो । यो रेल सीसीआरसी चाङ्चुन रेलवे कम्पनी र चेङ्दु रेल ट्रान्जिटले संयुक्त रूपमा तयार पारेका हुन् ।

हाइड्रोजनद्वारा सञ्चालित हुने इन्जिनलाई भविष्यमा निकै सफल हुने प्रविधि मानिएको छ । हाइड्रोजन-इन्जिनको बजार सन् २०३० सम्म ३४.७ अर्ब पुग्ने अपेक्षा गरिएको छ । त्यस्तै वार्षिक १०.४ प्रतिशतले बढ्दै हाइड्रोजन इन्जिनको बजार सन् २०४० सम्म ८७.३ अर्ब डलर पुग्ने विज्ञहरूले बताएका छन् ।

यस रेलका लागि आवश्यक पर्ने ऊर्जा हाइड्रोजन र अक्सिजनको सम्मिश्रणबाट तयार पारिन्छ । हाइड्रोजन फ्युल सेलमा हाइड्रोजन र अक्सिजनबीच रासायनिक प्रतिक्रिया गराउँदा ऊर्जा उत्पन्न हुन्छ । भविष्य यस रेलको अझ उत्कृष्ट भर्सन र स्पिड देख्न सकिने अपेक्षा गरिएको छ ।

हाइड्रोजन फ्युल सेलले वातावरणलाई असर नगर्ने र खर्च पनि कम पर्ने सन् २०२५ सम्म यसबाट चल्ने ५० हजार गाडी सञ्चालन आउने बताइएको छ । भारतमा पनि सन् २०२३ को अन्त्यबाट हाइड्रोजनबाट चल्ने रेल आउने विभिन्न सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

पछिल्लो अध्यावधिक: पुस १८, २०७९ १७:५३