close

एआईले नै चित्र बनाउन थालेपछि चित्रकारलाई विस्थापित हुने चिन्ता

सञ्जीवन राई सञ्जीवन राई

पुस १९, २०७९ १५:४०

एआईले नै चित्र बनाउन थालेपछि चित्रकारलाई विस्थापित हुने चिन्ता

चित्रकार किशाेर ज्याेतीले गत मंसिर २९ गते आफ्नाे फेसबुक वालमा ‘एआई जेनेरेटेड आर एन्ट आर्ट’ अर्थात् एआईले सिर्जना गरेको चित्रलाई चित्र भन्न सकिन्न भन्ने क्याप्सन सहित ‘एन्ट आर्ट’ लेखिएको एउटा तस्वीर पोस्ट गरे । त्यसकाे तीन दिनपछि उनले अर्को चित्र शेयर गरे, जसमा एक चित्रकारले बनाइरहेको चित्र रोबोटले चोर्न खोजिरहेको र उनले आफ्नो चित्र लुकाउन खोजिरहेको देख्न सकिन्छ ।

पछिल्लो समय एआई अर्थात् आर्टिफिसियल इन्टेलिजेन्सको प्रयाेग गरेर चित्र बनाउने प्रचलन बढ्दै गइरहेको छ । विभिन्न अन्तर्राष्ट्रिय चित्रकला प्रतियोगितामा एआई प्रयोग गरेर बनाइएका चित्र विजयी पनि भएका छन् । तर यसरी एआईमार्फत तयार हुने कलाले वास्तविक कलाकारलाई मर्का पर्ने चित्रकार ज्याेती बताउँछन् । आजभोलि हरेक क्षेत्रमा एआईको प्रयाेग भइरहेकाे छ । चित्रकलाको क्षेत्रमा पनि यसले आफ्नो दायरा विस्तार गरिरहेको छ । 

अहिले डल डट ई टु अर्थात ओपन एआई, मिडजर्नीस्टेबल डिफ्युजन जस्ता एआई प्राेगामहरू चर्चामा छन् । यस्ता प्राेगाममा प्रयाेगकर्ताले गर्ने व्याख्याका आधारमा चित्रहरू तयार पार्न सकिन्छ । गत सेप्टेम्बर महिनामा अमेरिकामा भएकाे ‘कोलोराडो स्टेट फेयर’ नामक एक चित्रकला प्रतियाेगितामा ‘डिजिटल आर्ट्स/डिजिटल म्यानुपुलेट फोटोग्राफी’ श्रेणीमा एआई प्रयाेग गरी बनाइएकाे चित्र प्रथम भएकाे थियाे ।

गेमिङ कम्पनी इन्कार्नेट गेम्सका संस्थापक जेसन एम एलेनले मिडजर्नी र एआई गिगापिक्सेल प्रयाेग गरी उक्त तस्वीर बनाएका थिए । त्यस घटनाले कला क्षेत्रमा प्रयाेग भइरहेकाे एआईलाई लिएर बहस नै छेडियो ।

कलाकारकाे कामलाई एआईले विस्थापित गर्न सक्छ वा एआईले तयार पारिएकाे सामग्री कला नै हाेइन भन्ने जस्ता विषयहरू बहसको रुपमा उठाइए । नेपाली चित्रकारहरूले पनि याे विषयमा आफ्नो आवाज बुलन्द पार्न थालेका छन् । केहीले यसको आलोचना गरिरहेका छन् भने केहीले यसकाे अभ्यास गर्न सुरु गरेका छन् । 

कलाकार समीर गुरुङले ‘ड्याल-ई’ प्राेगामबाट केही चित्र बनाउने काेसिस गरेका थिए । तर त्यहाँ दिनुपर्ने सटीक विवरण, प्राेग्राममा भएका सीमितता लगायतका कारण अहिले आफूले उक्त प्रोगाम प्रयाेग गर्न छाडेकाे उनी सुनाउँछन् । यद्यपि उनी स्वयं एआई प्रयाेग गरी चित्रकारिता गर्दा चुनाैती र अवसर दुवै रहेकाे बताउँछन् । तर चित्रकारिता गर्न एआईमा नै भर पर्नु आफ्नाे सिर्जनाकाे हत्या आफैँले गर्नु सरह हुने उनकाे तर्क छ ।

अर्केतर्फ कला क्षेत्रमा प्रयाेग हुने एआईले कलाकारलाई खासै असर नपुर्‍याउने ‘आर्टुडियाे’का संस्थापक कैलाश के. श्रेष्ठको बुझाइ छ । केहीलाई असर परे पनि सिर्जनशील कला क्षेत्रमा काम गर्ने कलाकारलाई भने कुनै फरक नपर्ने उनी बताउँछन् ।

त्यस्तै क्युरेटर श्यामकृष्ण श्रेष्ठ पनि कलाकारलाई एआईले खासै असर नपुर्‍याउने मत राख्छन् । चित्र बनाउन प्रयाेग गरिने एआईकाे एल्गाेरिदम मान्छेले नै विकास गरिरहेका कारण अहिले नै एआईले कलाकारलाई विस्थापित गर्ने अवस्था नआउने उनको विश्वास छ । 

त्यस्तै चित्रकार लक्ष्मण श्रेष्ठ एआई र कलाकारबीचको मुख्य भिन्नता ‘साेच’ रहेको बताउँछन् । उनका अनुसार एआईले निश्चित एल्गाेरिदममा मात्र काम गर्न सक्छ । तर कलाकारले अनेकाैँ आयामबाट साेचेर काम गर्न सक्छन् । त्यस्तै उनी एआईमा सिर्जनात्मकता नहुने बताउँछन् । कलाकारका लागि एआई सतही दृष्टिकाेणबाट चुनाैतिपूर्ण देखिए पनि गहिराइमा त्यस्ताे नभएकाे उनी सुनाउँछन् ।

चित्रकार ज्याेती एआईबाट बनाइएका चित्रकारितामा आत्मा नहुने तर्क गर्छन् । उनका अनुसार एआई र कलाकारले बनाउने चित्रमा याे कुराले विशेष फरक पार्छ । प्राेगामरहरूले निश्चित काेडिङ गरेर एआई विकास गर्छन् । त्यसलाई विभिन्न तालिम दिएर प्रभावकारी बनाइन्छ । एआई स्वयंले पनि आफूलाई अब्बल बनाउँदै लान्छ । यसकारण एआईबाट बन्ने चित्रहरु अरु काेही कलाकारकाे कामकाे नक्कल मात्र भएकाे चित्रकार ज्याेती दाबी गर्छन् ।

“एआई आफैँमा कलाकार हाेइन । यसले अरुकाे कामकाे अध्ययन गरेर चित्र बनाउँछ,” उनी भन्छन्, “याे कुरा आफैँमा बाैद्धिक चाेरी हाे । अहिले एआईकाे काम झुटमा आधारित छ ।”

“कलाकाे महत्त्व बुझेका संकलकहरूले एआईले बनाउने चित्रमा लगानी गरिहाल्दैनन् । हातले बनाउने कलाकाे तुलना अरु कुनै प्रविधिसँग गर्न सकिदैँन,” कलाकार ज्याेती थप्छन् ।

एआई आफैँमा परिष्कृत प्रविधि हाे । यसबाट काम गर्दाका आफ्नै फाइदा छन् । तर कलाकारितामा यसकाे प्रयाेग बढ्दै जाँदा कलाकारहरूको आर्थिक पक्षमा भने असर पार्न सक्ने आर्टुडियाेका संस्थापक श्रेष्ठ बताउँछन् । आजभाेलि हरेकले छाेटाे समयमै काम सम्पन्न गर्न चाहन्छन् । त्यसाे हुँदा क्राफ्ट पेन्टिङ (craft painting) गर्ने कलाकारहरूकाे भने जागिर गुम्न सक्ने सम्भावना बढेकाे उनी सुनाउँछन्  ।

तर आममानिसले अझै पनि एआईकाे कामलाई स्वीकार गरिसकेका छैनन् । त्यस्तै कतिपयलाई याे प्रविधिका बारेमा थाहै नहुन पनि सक्छ । ग्राहकले कला बजारमा हातले बनाएका सामग्रीहरू रुचाउने भएकाले एआईबाट बनाइएका कलाहरू तत्कालै बिक्री नहुने कलाकार समीर गुरुङ सुनाउँछन् ।

नयाँ-नयाँ कुरामा आफूलाई प्रयोग गर्नु मानिसकाे स्वभाव हाे । एआई नयाँ प्रविधि भएकाले धेरैलाई यसबारे काैतूहलता हुन्छ । यही कुराले कला क्षेत्रमा एआईकाे प्रयाेग बढिरहेकाे कलाकार ज्याेतीको भनाइ छ । तर एआई प्रयाेग गरी बनाइएका कलालाई व्यापारसँग जाेड्न भने नमिल्ने उनको तर्क छ । याे कुराले कलाकारकाे काम ओझेलमा पर्ने उनी बताउँछन् । एआई प्रयाेग गरी बनाइएका चित्रहरू बजारमा आउन थाले भने कलाकार स्वयंले कसरी प्रतिस्पर्धामा उत्रिने भनेर साेच्नुपर्ने ज्योतीको भनाइ छ ।

यता नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले भने एआईबाट बनाइने कलालाई समेट्ने तयारी गरिरहेकाे छ । चित्रकारितामा आउने नयाँ-नयाँ प्रयाेगकाे रुपमा नै एआईलाई लिएर साे तयारी गरिएकाे प्रज्ञा प्रतिष्ठानका पेन्टिङ विभागका प्रमुख प्राज्ञ सुष्मा राजभण्डारी बताउँछिन् । एआईबाट बनाइने चित्रहरूलाई  प्रतिष्ठानकाे नयाँ कार्यविधि मार्फत ‘मिस्क्ड मिडिया’ र ‘न्यू मिडिया’भित्र समेटिने कुरा उनले सुनाइन् ।

कलाकार ज्याेती भने एआई कलाकारकाे नियन्त्रणमा हुनु उचित हुने बताउँछन् । अहिले एआईले विभिन्न कलाकारकाे कला अध्ययन गरेर काम गर्छ । यसकाे साटो एउटा कलाकारकाे कलालाई मात्र अध्ययन गरेर त्यसलाई नै परिष्कृत गर्न एआई प्रयाेग गर्दा कसैलाई पनि असर नपार्ने उनको बुझाइ छ । त्यसो हुन सके यसले कलाकारलाई पनि फाइदा पुग्नेछ ।

तर कलाकार र एआई प्रयाेग गरी बनाइएकाे कला तुलना गर्नाले समस्या र चुनाैती निम्तिने कलाकार समीर गुरुङ बताउँछन् । यसकाे समाधानस्वरुप मान्छे र एआईले बनाएकाे कलाबीचको प्रतिस्पर्धा छुट्टाछुट्टै हुनुपर्ने उनी तर्क गर्छन् । त्यस्तै एआईबाट बनाइने चित्रहरू लिलामी (अक्सन) मा राखेपछि मात्र त्यसकाे प्रभाव थाहा हुने क्युरेटर श्रेष्ठको तर्क छ ।

एआईमा सीमितता हुने तर कलाकारले गर्ने काममा कुनै सीमितता नहुने भएकाले चुनाैती नभएकाे आर्टुडियाेका संस्थापक श्रेष्ठ बताउँछन् । “कलामा एआई हाबी हुँदा कलाकारलाई नयाँ तरिका र आयामबाट साेच्नका लागि अवसर प्राप्त हुन्छ । एआई नहुँदा पनि कलाकारकाे अस्तित्व बाँकी रहन्छ । तर कलाकार बिना एआई रहन सक्दैन,” उनी भन्छन् । यसकारण अहिले नै एआईबाट कलाकार डराइहाल्नु पर्ने अवस्था नरहेकाे श्रेष्ठ सुनाउँछन् ।

पछिल्लो अध्यावधिक: पुस २१, २०७९ १७:५३