close

अगाडि बढ्यो अन्तरिक्षमा नेपालको आफ्नै स्याटलाइट राख्ने प्रक्रिया

टेकपाना टेकपाना

पुस १९, २०७९ १९:१५

अगाडि बढ्यो अन्तरिक्षमा नेपालको आफ्नै स्याटलाइट राख्ने प्रक्रिया

काठमाडौं । अन्तरिक्षमा आफ्नै भू-उपग्रह (स्याटलाइट) स्थापना गर्ने उद्देश्यका साथ सरकारले भू-उपग्रह राख्ने प्रक्रिया पुनः अगाडि बढाएको छ । त्यसका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले भू-उपग्रह नीति, २०७७ अन्तर्गत रहेर भू-उपग्रह स्थापना तथा व्यवस्थापनका लागि संस्थागत सरचना निमार्ण गर्न परमार्श माग गरेको छ ।

यसअघिसम्म भू-उपग्रहका लागि नेपाल दूरसञ्चार प्राधिकरणले काम गर्दै आएको थियो । तर, यसपटक भने मन्त्रालय आफैंले भू-उपग्रहको प्रक्रिया अघि बढाएको छ ।

''भू-उपग्रहको काम मन्त्रालयकै हो,'' मन्त्रालयका प्रवक्ता सेवन्तक पोखरेलले भने, ''यसअघिसम्म भू-उपग्रहका लागि कुनै पनि संस्थागत संरचना थिएन । त्यो हुँदा प्राधिकरणलाई जिम्मा दिइएको थियो । अब भने, यसको संस्थागत संरचना नै तयार पारेर अघि बढ्ने योजनाका साथ मन्त्रालय आफैंले प्रक्रिया अघि बढाएको छ ।''

अहिले माग भएको परमर्शदाताले नेपालको आफ्नै भू-उपग्रह स्थापनाका लागि संस्थागत संरचना कस्तो आवश्यक पर्छ, अफिस सेटअप कस्तो हुुनुपर्छ, कस्ता र कति जना कर्मचारी आवश्यक पर्छजस्ता विषयसहितको संस्थागत संरचना तयार पार्ने उनले बताए ।

''अहिले नै भू-उपग्रह राख्ने प्रक्रिया अघि बढेको भन्ने होइन । तर, भू-उपग्रह स्थापनाका लागि आवश्यक कदमको सुरुवात भएको भन्न सकिन्छ,'' टेकपानासँग उनले भने ।

पछिल्लो अध्यावधिक: पुस १९, २०७९ १९:१५