close

पोखरा आसपासका क्षेत्रमा जुनसुकै बेला इन्टरनेट बन्द हुनसक्ने

टेकपाना टेकपाना

पुस २१, २०७९ १३:२१

पोखरा आसपासका क्षेत्रमा जुनसुकै बेला इन्टरनेट बन्द हुनसक्ने

काठमाडौं । इन्टरनेट सेवाप्रदायक संघ नेपाल (आईस्पान)ले पोखरा आसपासका क्षेत्रमा जुनसुकै बेला इन्टरनेट सेवा अवरूद्ध हुनसक्ने जानकारी दिएको छ । नेपाल विद्युत प्राधिकरणले पोखरामा इन्टरनेट सेवा प्रदायकहरूको मुख्य अपरेसन सेन्टरमा छानेरै विद्युत विच्छेद गरेको भन्दै आईस्पानले जुनसुकै बेला इन्टरनेट बन्द हुनसक्ने जनाएको छ ।

सेवा प्रदायकहरूले विद्युत महसुल नियमित रुपमा भुक्तानी गर्दागर्दै पनि विद्युत लाइन काटिएको आईस्पानको भनाइ छ ।

''हामी सेवाप्रदायकले हरसम्भव प्रयास गर्दा पनि अपरेसन सुचारु  गर्न नसक्ने  अवस्था आएकाले कुनै पनि समयमा पोखरा तथा पोखरा आसपासका  क्षेत्रमा इन्टरनेट सेवा अवरुद्ध  हुनसक्ने जानकारी गराउँछौँ । यसको सम्पूर्ण जिम्मेवारी नेपाल विद्युत प्राधिकरणले लिई क्षतिपूर्ती समेत दिनुपर्छ,'' आईस्पानको विज्ञप्तिमा भनिएको छ ।

प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, नेपाल दूरसञ्चार प्राधिकरण, मानव अधिकार आयोग, उपभोक्ता मञ्च र राज्यका जिम्मेवार निकाय समक्ष सत्यतथ्य प्रस्तुत गरी हस्तक्षेपकारी भूमिका निर्वाह गर्न अपिल गर्दा पनि स्थितिमा कुनै सुधार नआएको आईस्पानले जनाएको छ । 

नेपाल विद्युत प्राधिकरणले आफूखुसी सात सय प्रतिशतसम्म पोलभाडा बढाएपछि सो भार उपभोक्तामा पर्न नदिन राज्यले उच्चस्तरीय समिति गठन गरी प्रतिवेदन दिई घटेको भाडादरमा इन्टरनेट सेवा प्रदायकसँग भाडा लिन भनेपनि विद्युत प्राधिकरणले ठीक विपरीत अचाक्ली बढेको भाडादरमै सम्झौता गरी भुक्तानी गर्न आउन गलत/गैरकानुनी ढङ्गले भाडा असुल गर्न खोजेको आईस्पानको आरोप छ । 

प्राधिकरणले भाडाकै निहुँमा इन्टरनेट सेवा प्रदायकहरूको डेटा सेन्टर, अपरेसनल प्वाइन्टका साथै मेन लाइन, ट्रङ्क लाइन, क्रसिङ, फाइबर तारलगायत इन्टरनेट सेवा प्रवाहमा प्रयाेग हुने तार छानीछानी काटेकाे आईस्पानका अध्यक्ष सुधीर पराजुलीले बताए ।

पछिल्लो अध्यावधिक: पुस २१, २०७९ १४:३८