close

प्राधिकरणले इन्टरनेट अवरुद्ध पार्न थालेपछि कम्पनी सञ्चालकले भेटे गृहमन्त्री

टेकपाना टेकपाना

पुस २१, २०७९ १७:२९

प्राधिकरणले इन्टरनेट अवरुद्ध पार्न थालेपछि कम्पनी सञ्चालकले भेटे गृहमन्त्री

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले देशका विभिन्न ठाउँमा एकपछि अर्को गर्दै इन्टरनेट अवरुद्ध पार्न थालेपछि सेवाप्रदायकका सञ्चालकले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई भेटेका छन् । इन्टरनेट सेवाप्रदायक संघ नेपाल (आइस्पान) का अध्यक्ष सुधीर पराजुलीले बिहीबार उपप्रधानमन्त्री लामिछानेसँग भेट गरिएको जानकारी दिए ।

“हामीले अत्यावश्यक तथा मानव अधिकारको विषय समेत भएकाले गृहमन्त्रालयले सेवा ठप्प पार्ने किसिमका गतिविधि रोक्न माग गरेका छौँ,” उनले भने, “उहाँले सचिव लगायतसँगको सल्लाहमा आवश्यक कदम चाल्ने बचन दिनु भएको छ ।”

बुधबार मात्रै प्राधिकरणले पोखरा स्थित इन्टरनेट सेवाप्रदायकको मुख्य डेटा सेन्टरको बिजुलीको लाइन काटेको थियो । जेनेरेटरको सहारामा इन्टरनेट सेवा अवरुद्ध हुन नदिने प्रयास गरिएको भए पनि बिहीबार दिउँसोबाट त्यसले लोड धान्न छोडेको छ ।

त्यससँगै दिउँसो साढे तीन बजेदेखि पोखरा र आसपासका क्षेत्रमा इन्टरनेट सेवा अवरुद्ध भएको पोखरा इन्टरनेटका सीईओ विजेश पालिखेले जानकारी दिए । ऊर्जा र सञ्चार मन्त्रालयको संयुक्त कार्यदलले २०७५ देखि २०७७ सम्मको पोल भाडा विवाद समाधान गर्ने सुझाव दिइसकेको छ ।

त्यसका लागि २०७७ पश्चात् कायम भाडादर कायम गर्नुपर्ने भन्दै मन्त्रालयहरूले सम्बन्धित निकायमा जानकारी समेत गराइसकेका छन् । तर विद्युत प्राधिकरणले भने उक्त प्रतिवेदनले टुङ्ग्याइसकेको पोल भाडादर कायम गर्न चाहेको छैन ।

पछिल्लो अध्यावधिक: पुस २१, २०७९ १७:२९