close

इनड्राइभमार्फत निजी कार समेत राइड शेयरिङमा प्रयोग गर्न पाइने !

टेकपाना टेकपाना

पुस २४, २०७९ १३:५८

इनड्राइभमार्फत निजी कार समेत राइड शेयरिङमा प्रयोग गर्न पाइने !

काठमाडौं । राइड शेयरिङ एप इनड्राइभले निजी कारलाई समेत राइड शेयरिङमा प्रयोग गर्न थालेको छ । अन्य राइड शेयरिङ कम्पनीले चार पाङ्ग्रेको हकमा ट्याक्सीलाई लिने गरेको भए पनि इनड्राइभले भने निजी कारलाई समेत समेट्न थालेको हो ।

यद्यपि यस विषयमा कम्पनीले आधिकारिक रूपमा कुनै घोषणा गरेको छैन । तर इनड्राइभले नेपालमा कम्पनीले कयौँ सङ्ख्यामा निजी चार पाङ्ग्रे सवारीसाधनलाई रजिष्टर गरेर त्यसमार्फत सेवा दिन थालिसकेको छ । यद्यपि कति निजी कारहरू इनड्राइभमा आवद्ध भइसकेका छन् भन्ने स्पष्ट छैन । 

त्यसो त कानूनी तवरमा दुई पाङ्ग्रे निजी सवारी साधनलाई समेत राइड शेयरिङमा प्रयोग गर्ने बाटो खुला भइसकेको छैन । प्रविधिको विकाससँगै नयाँ सेवाहरू आइरहेको सन्दर्भमा सरकारले आवश्यक कानून बनाउन नसकेपनि राइड शेयरिङमा निजी मोटरसाइकलको प्रयोगमा आँखा चिम्लिदिएको हो । 

यस्तोमा राइड शेयरिङमा निजी सवारीसाधन मध्ये दुई पाङ्ग्रे मात्रै प्रयोग गर्न पाउने र चार पाङ्ग्रे प्रयोग गर्न नपाउने भन्ने कुनै स्पष्ट सीमा रेखा पनि छैन । दक्षिण एसियाका लागि इनड्राइभकी जनसम्पर्क प्रबन्धक पावित नन्दासँग सम्पर्क गर्न खोज्दा यो विषयमा खुल्न चाहिनन् ।

त्यसो त इनड्राइभ नेपालमा आधिकारिक रूपमा दर्ता नभइ सञ्चालनमा छ । कम्पनीले विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन अन्तर्गत दर्ताका लागि आवश्यक कागजात सहितको निवेदन उद्योग विभागमा दर्ता गरिसकेको जनाएको छ ।

"१७ अक्टोबर २०२२ मा निवेदन दर्ता गरिएको भए पनि दर्ताका लागि सोचेभन्दा बढी समय लागिरहेको छ," कम्पनीले जारी गरेको प्रेस सामग्रीमा उल्लेख छ ।

यद्यपि कम्पनीले नेपालमा कुनै पनि नाफाजन्य गतिविधि नगरेको र ड्राइभरहरूबाट कमिसन समेत नलिएको बताउँदै आएको छ । "इनड्राइभले थप आयआर्जनका अवसरहरू सिर्जना गरी स्थानीय अर्थतन्त्रलाई विस्तार हुन सघाइरहेको छ," प्रेस सामग्रीमा अगाडि भनिएको छ । 

पछिल्लो अध्यावधिक: पुस २४, २०७९ १३:५८