close

सिङ्गल चार्जमा ३६० किमिसम्म गुड्ने ई-बाइक, मूल्य साढे ८ लाख रुपैयाँ

टेकपाना टेकपाना

पुस २५, २०७९ १५:९

सिङ्गल चार्जमा ३६० किमिसम्म गुड्ने ई-बाइक, मूल्य साढे ८ लाख रुपैयाँ

काठमाडौं । स्विडेनकाे इलेक्ट्रिक बाइक निर्माता कम्पनी केकले नयाँ ई-बाइक सार्वजनिक गरेको छ । साइकलको पाइडल समावेश भएको उक्त बाइकलाई 'आइक' (Äik) नाम दिइएको छ । 

बाइकले अगाडिपट्टि २० किलो र पछाडि ६० किलाेसम्मकाे तौल भएको सामान बाेक्न सक्छ । कम्पनीले ई-​बाइकलाई आफ्ना अन्य बाइक जस्तै डिजाइन दिएको छ । 'आइक'मा ७५० वाट आवर क्षमता भएका तीन ओटा ब्याट्री फिट गरिएको छ ।

कुल २२५० वाट आवर ब्याट्री क्षमताले एक पटकको फुल चार्जमा ३६० किलोमिटरसम्मकाे रेन्ज दिने कम्पनीको दाबी छ । त्यस्तै यस बाइकमा छुट्टै अर्को ब्याट्री समावेश गरिएको छ, जसलाई आवश्यकता अनुसार ल्यापटप, मोबाइल वा अन्य डिभाइस चार्ज गर्न पावरब्याङ्कका रूपमा प्रयोग गर्न सकिन्छ ।

द भर्जका अनुसार उक्त बाइक अमेरिका र युरोपमा फरक-फरक भेरियन्टमा उपलब्ध हुनेछ । लोड धेरै भएको अवस्थामा सो बाइकले १०० न्युटन मिटर टर्क उत्पादन गर्नसक्ने बताइएकाे छ ।

यस ई-बाइकमा चार ओटा हाइड्रोलिक डिस ब्रेक  छन्, जसले बाइकलाई जस्तोसुकै अवस्थामा पनि 'अन द स्पट' राइडरलाई कुनै क्षति नपुर्‍याई रोक्न सक्नेमा कम्पनी विश्वस्त छ ।

कम्पनीका अनुसार ई-​बाइक अहिले प्रि-अर्डरका लागि विभिन्न देशमा उपलब्ध छ, जुन यो वर्ष मे महिनामा शिपिङ हुनसक्ने अपेक्षा गरिएको छ ।

कम्पनीले छ हजार ४७० डलर (करिब आठ लाख ५४ हजार रुपैयाँ) मा आइकको प्रि-बुकिङ खुलाएको छ । 

पछिल्लो अध्यावधिक: पुस २५, २०७९ १५:१८