close

पुराना लुगादेखि किताबसम्म किनबेच गर्न मिल्ने अनलाइन प्लेटफर्म

टेकपाना टेकपाना

पुस २६, २०७९ १०:४५

पुराना लुगादेखि किताबसम्म किनबेच गर्न मिल्ने अनलाइन प्लेटफर्म

काठमाडौं । ई-कमर्स प्लेटफर्म एन्टिडोट नेपालले आफ्ना ग्राहकका लागि डिजिटल थ्रिफ्ट स्टोर सञ्चालन गर्ने तयारी गरेकाे छ । भाेलि बुधबारदेखि आधिकारिक रुपमा सञ्चालनमा आउने स्टाेरमा सेवाग्राहीले आफूले प्रयोग गरिसकेका वस्तुहरू खरिद- बिक्री गर्न सक्नेछन् । 

डिजिटल थ्रिफ्ट स्टोरमा खरिदकर्ताले प्रयोग गरिएको तथा नयाँ वस्तुहरूमा ३० देखि ९० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् । बिक्रेताको रूपमा यो एप प्रयोग गर्न चाहने जो-कोहीले पनि एन्टिडोटको ‘सेलरपोर्टल’मा आफ्नो अकाउन्ट खोली तुरुन्तै सामान बिक्री गर्नसक्ने कम्पनीले जनाएकाे छ ।

कम्पनीका अनुसार, बिक्रेताले आफूले बेच्न चाहने वस्तुहरु (लत्ताकपडा, जुत्ता, किताब, एक्सेसरिज) धोइसकेपछि काठमाडौं उपत्यकामा रहेका १३ ‘सेल्फ-ड्रपलोकेसन’मा छोड्न वा घरैबाट पिक-अपका लागि बोलाउनसक्ने जस्ता सुविधा प्राप्त गर्न सक्नेछन् ।

हालसम्म उपत्यकाका न्युरोड, धोबिघाट, टेकु, सातदोबाटो, बालाजु, अनामनगर, चाबहिल, जडिबुटी, सूर्यविनायक, महाराजगञ्ज, पुल्चोक र कुपन्डोलमा उपलब्ध सेवा अन्य ठाउँमा पनि विस्तार गर्ने कम्पनीकाे योजना छ ।

सामान बिक्री भइसकेपछि मात्र कमिसन लिनेगरी व्यवस्था गरिएको छ । २० प्रतिशत कमिसन बापत एन्टिडोटले बिक्रेताहरूबाट सामान पिकअप गर्ने (बिक्रेताको अनुरोधमा), भण्डारण गर्ने, फोटोग्राफी, डेलिभरी, रिटर्न ह्यान्डलिङ लगायत पेमेन्टको जिम्मा लिने जनाइएको छ ।

यो सेवाको पहिलो ५०० खरिदकर्ताले ‘एन्टिडोट डिस्काउन्ट अफर’ स्वरूप १००० रुपैयाँ भन्दा माथिको अर्डरमा निःशुल्क डेलिभरी सुविधा पाउनेछन् ।

पछिल्लो अध्यावधिक: पुस २६, २०७९ १२:५