close

च्याट जीपीटी निर्माता ओपन एआईमा १० अर्ब डलर लगानी गर्दै माइक्रोसफ्ट !

टेकपाना टेकपाना

पुस २६, २०७९ १२:१६

च्याट जीपीटी निर्माता ओपन एआईमा १० अर्ब डलर लगानी गर्दै माइक्रोसफ्ट !

काठमाडौं । सर्च इन्जिनमा गुगलको साम्राज्य तोड्न माइक्रोसफ्ट कर्पोरेसनले नयाँ योजना बुनेको छ । हालै बाहिरिएको एक खबरअनुसार अहिलेको भाइरल आर्टिफिसियल इन्टेलिजेन्स बट च्याटजीपीटी निर्माता ओपनएआईमा लगानी गर्ने माइक्रोसफ्टले रणनीति बनाएको छ ।

यसअन्तर्गत माइक्रोसफ्टले ओपनएआईमा १० अर्ब लगानी गर्न छलफल चलाइरहेको छ । रिपोर्टअनुसार सम्भावित लगानीमा अन्य भेन्चर फर्महरू पनि संलग्न हुनेछन् ।

ओपनएआईसँग वार्तासँग परिचित व्यक्तिहरूलाई उद्धृत गर्दै अनलाइन सञ्चारमाध्यम सेमाफरले ओपनएआईको मूल्य लगभग २९ अर्ब डलर हुनसक्ने उल्लेख गरेकाे छ ।

यदि यो छलफल सम्पन्न भएको खण्डमा ओपनएआई अमेरिकाको सबैभन्दा मूल्यवान स्टार्टअपमध्येको एक बन्नेछ । कम्पनीको मूल्यमा उल्लेखनीय वृद्धि हुनुको कारण च्याट जीपीटीको लोकप्रियतालाई मानिएको छ ।

 तर यस विषयमा माइक्रोसफ्ट र ओपन एआईले आधिकारिक जानकारी दिएका छैनन् । गत नोभेम्बर ३० मा निःशुल्क सार्वजनिक परीक्षणका रुपमा उपलब्ध च्याट जीपीटीले अहिले धेरै चर्चा कमाएको छ ।  

एक अनुसन्धान संस्थाको रूपमा रहेको ओपन एआईलाई सन् २०१५ मा नाफामुखी संस्थाको रूपमा स्थापना गरिएको थियो । तर, उक्त कम्पनी सन् २०१९ बाट सीमित नाफामा चल्न थाल्यो । सन् २०१९ मा पनि माइक्रोसफ्टले ओपनएआईमा एक अर्ब डलर लगानी गरेको थियो । 

साथै एलन मस्क, साम अल्टम्यान जस्ता धनाढ्य व्यक्तिले याे कम्पनीमा आर्थिक सहयोग गरिरहेका छन् । अहिले माइक्रोसफ्टले एआई व्यवसायमा सम्भावित ठूलो लगानीको विषयमा छलफल चलाएको छ । 

थप लगानी पाउनासाथ ओपन एआईले आफ्नो एआई प्रविधिलाई माइक्रोसफ्टका अन्य उत्पादनहरूसँग जोड्नसक्ने अनुमान गरिएकाे छ ।

पछिल्लो अध्यावधिक: पुस २६, २०७९ १८:३२