close

डेटा सर्भरमा देशलाई आत्मनिर्भर बनाउने सरकारको घोषणा

टेकपाना टेकपाना

पुस २६, २०७९ १३:५१

डेटा सर्भरमा देशलाई आत्मनिर्भर बनाउने सरकारको घोषणा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले डेटा सर्भरमा देशलाई आत्मनिर्भर बनाउने बताएका छन् । प्रतिनिधि सभामा मंगलबार विश्वासको मत माग्दै प्रधानमन्त्री प्रचण्डले डेटा सर्भरमा देशलाई आत्मनिर्भर र साइबर सुरक्षामा सुनिश्चितता प्रदान गर्ने बताएका हुन् ।

उनले फाइभजी प्रविधि प्रयोगमा ल्याउने समेत बताएका छन् । यसका साथै  विद्यालय, अस्पताल, सरकारी कार्यालय, वित्तीय संस्था, शपिङ कम्प्लेक्स लगायतका सार्वजनिक सेवा प्रवाह हुने सार्वजनिक स्थलमा ब्रोडब्यान्ड इन्टरनेट सेवा निःशुल्क गरिने समेत उनले उल्लेख गरेका छन् ।

यस अघि नियामक नेपाल दूरसञ्चार प्राधिकरणले ब्रोडब्यान्ड इन्टरनेट विस्तार परियोजना अन्तर्गत दुई वर्षसम्म स्थानीय तह, वडा कार्यालय, सामुदायिक विद्यालय र स्वास्थ्य चौकीलाई निःशुल्क इन्टरनेट उपलब्ध गराउँदै आएको थियो ।

त्यस्तो सहुलियत सम्बन्धित सरकारी कार्यालयहरूलाई मात्रै उपलब्ध हुने गरेकोमा अब भने सरकारले आम सर्वसाधारणका लागि सार्वजनिक सेवाप्रवाह हुने स्थानमा निःशुल्क इन्टरनेटको व्यवस्था गर्न लागेको हो

यसैगरी सार्वजनिक सेवा प्रवाहलाई सरल, सहज र प्रभावकारी बनाउन सूचना प्रविधिको प्रयोगमा तीव्रता ल्याउने र गैरकानूनी काम कारबाही र भ्रष्टाचार अन्त्य गर्न प्रविधिको अधिकतम सदुपयोग गरिने विषय समेत सरकारले आफ्नो न्यूनतम कार्यक्रममा समेटेको छ ।
 

 

पछिल्लो अध्यावधिक: पुस २६, २०७९ १३:५१