close

२०२३ मा शिक्षा क्षेत्रमा सूचना प्रविधिले ल्याउन सक्ने ५ परिवर्तन

टेकपाना टेकपाना

पुस २७, २०७९ ९:५४

२०२३ मा शिक्षा क्षेत्रमा सूचना प्रविधिले ल्याउन सक्ने ५ परिवर्तन

काठमाडाैं । काेराेना महामारीकाे समयमा अनलाइनबाट सञ्चालन हुने शैक्षिक गतिविधिले निके प्रश्रय पायो । धेरै शैक्षिक प्रविधि (एडटेक) विकास भए ।  स्कुलदेखि विश्वविद्यालयसम्मले अनलाइन शिक्षालाई महत्त्व दिए ।

नेपालमा काेभिड महामारीपछि नै एम्बिसन गुरू जस्ता आर्टिफिसियल इन्टेलिजेन्स (एआई)युक्त लर्निङ प्लेटफर्म विकास भएका छन् । त्यसअघि विस्तार भएका लर्निङ प्लेटफर्महरूकाे प्रयाेग पनि बढिरहेकाे छ ।

सन् २०२२ मा एआईयुक्त लर्निङ प्लेटफर्म, गेमिफिकेशन जस्ता एडटेक ट्रेन्ड चर्चामा रहे । २०२३ मा कस्ता प्रविधिकाे अभ्यास हाेला त ? आज हामी सूचना प्रविधिले शिक्षा क्षेत्रमा ल्याउनसक्ने पाँच रुपान्तरणबारे चर्चा गर्दैछौं ।

मेटाभर्स प्रयाेग गरिएकाे हाइब्रिड लर्निङ माेडेल

गत वर्ष प्रविधिकाे क्षेत्रमा ‘मेटाभर्स’ निकै चर्चित शब्द बन्न पुग्याे । मेटाभर्स भनेकाे एक थ्रीडी भर्चुअल संसार हाे, जहाँ हामी अरुसँग प्रत्यक्ष संसारमा भेटेझैं आफ्नाे अवतार वा कम्प्युटरबाट निर्माण गरिएकाे अब्जेक्टबाट सञ्चार गर्न सक्छाैं ।

शैक्षिक क्षेत्रमा मेटाभर्सकाे प्रयाेग हुँदा अहिले भएकाे सिक्ने र सिकाउने शैली परिवर्तन हुन सक्छ । आफू सुरक्षित रहेर अध्ययन गर्दा विद्यार्थीले पढाएका कुराहरु सहजै बुझ्न सक्छन् । मेटाभर्समा वास्तविक नभई भर्चुअल बिरामीकाे उपचार गरेर अध्ययन गर्ने गरिन्छ, जसले गर्दा कसैलाई पनि हानी पुग्दैन ।

यसकाे मद्दतबाट जटिल तथा अनेकन् गहिरा विचारहरु सजिलैसँग विद्यार्थीलाई बुझाउन सकिन्छ । यसर्थ २०२३ मा मेटाभर्स प्रयाेग गरिएकाे हाइब्रिड लर्निङ माेडेलकाे अभ्यास बढ्ने देखिन्छ ।

 

सिकाइ सामग्री भएकाे डिजिटल ब्याग

हुन त आजभाेलि बजारमा चार्जरसहितकाे ब्याग पाइन्छ । तर अब याे वर्ष डिजिटल सिकाइ गर्न आवश्यक पर्ने टुल्स, एप्लिकेसन र स्राेतहरु भएकाे डिजिटल ब्याग बजारमा आउनसक्छ, जहाँ विद्यार्थीले सजिलै प्राेजेक्ट, गृहकार्य आदि गर्न सक्छन् ।

याे कुराले विद्यार्थीकाे सिकाइ अनुभवलाई प्रभावकारी बनाउन मद्दत गर्नेछ । ​याे डिजिटल ब्याग विशेषगरी अनलाइनबाट अध्ययन गर्ने विद्यार्थीलाई बढी फाइदा हुन जान्छ ।

किनकी याे ब्याग प्रयाेग गरेर विद्यार्थीले जहाँबाट जुनै समयमा सिकाइ गर्न सक्छन् । त्यस्तै विद्यार्थीहरु पुराना ल्यापटप तथा अरु डिभाइसहरु बारम्बार बनाउने झन्झटबाट पनि मुक्त हुन सक्छन् । 

 

ब्लकचेनकाे प्रयाेग

वेब थ्री र ब्लकचेनकाे प्रयाेग गर्न थालिएपछि कुनै पनि कुराकाे प्रमाणीकरण छिटाे, छरिटाे र विश्वसनीय हुन्छ । रेजुमी अथवा सीभीमा संलग्न शंकास्पद प्रमाणपत्रहरु, परियाेजनाहरु सजिलैसँग ब्लकचेनकाे प्रयाेगले परीक्षण गर्न सकिन्छ । 

 

विद्यार्थीकाे व्यवहार र शैलीकाे निजीकरण गरी विश्लेषण

याे वर्ष विद्यार्थीकाे पढाइ, व्यवहार आदिकाे अध्ययन बिग डेटा र मसिन लर्निङ एल्गाेरिदमबाट  हुनसक्छ । यसाे गर्दा अध्ययनलाई निजीकरण गरी विश्लेषण गर्न सकिन्छ ।

यसबाट विद्यार्थी कहाँ कमजाेर र अब्बल छन् भन्ने पत्ता लाग्छ, जसलाई हेरेर शिक्षक-शिक्षिकाले विद्यार्थीलाई उपयुक्त गाइड गर्न सक्छन् ।

 

माइक्रोक्रेडेन्सियल र उपलब्धिहरुकाे ट्र्याकिङ

अहिलेको शैक्षिक प्रणालीमा विद्यार्थीले प्राप्त गर्ने डिग्री मात्र हेर्ने गरिन्छ । यसाे हुँदा विद्यार्थीले प्राप्त गरेका स-साना सफलताकाे मूल्याङ्कन नै हुँदैन । तर याे नयाँ वर्षमा शिक्षण संस्थाले विद्यार्थीकाे माइक्रोक्रेडेन्सियल र उपलब्धिहरु ट्रयाकिङ गर्न सक्छन् ।

साे ट्रयाकिङमा विद्यार्थीलाई अध्ययन गर्न दिइएकाे विषयबारे ज्ञान तथा अनुभव, उनीहरुकाे सीप, क्षमता आदि समेटिन्छ । यसले सिद्धान्तमा ध्यान दिनुपर्छ भन्ने मान्यतामा परिवर्तन ल्याउन सक्छ ।

पछिल्लो अध्यावधिक: पुस २७, २०७९ १०:९