close

टिकटकमा जुवातास खेल्नेहरू बढे, प्रहरी बेखबर

टेकपाना टेकपाना

पुस २७, २०७९ २०:२

टिकटकमा जुवातास खेल्नेहरू बढे, प्रहरी बेखबर

काठमाडौं । पछिल्लो समय नेपालमा सामाजिक सञ्जाल टिकटकमार्फत जुवातास खेल्ने प्रवृत्ति बढेको छ । कानूनले कुनै पनि किसिमका जुवा तथा सट्टेबाजी गर्ने कार्यलाई रोक लगाएपनि टिकटकमा खुलेआम तास खेल्नेहरूको समूह सक्रिय छ । 

टिकटक लाइभमा जुवा खेल्ने, खेलाउने प्रवृत्ति बढेकाेबारे राज्य भने बेखबर छ । ''हामीलाई त्यस्तो सूचना आइसकेको छैन,'' नेपाल प्रहरीका प्रवक्ता टेकप्रसाद राईले टेकपानासँगभने, ''तपाईंहरूले भनेपछि हाम्रो ध्यानाकर्षण भयो । सम्बन्धित विभागलाई तत्कालै यसबारे अनुसन्धान अगाडि बढाउन लगाउँछौं ।'' 

नेपालकाे मुलुकी अपराध संहिता २०७४ को धारा १२५ मा जुवा खेल्न वा सट्टाबाजी गर्नु नहुने प्रावधान राखिएकाे छ ।

धारा १२५ को (२) को उपदफा (१) को (क)मा पहिलो पटक जुवा खेल्ने वा खेलाउनेलाई तीन महिनासम्म कैद वा ३० हजार रुपैयाँसम्म जरिवाना र (ख)मा दोस्रो पटकदेखि जुवा खेल्ने वा खेलाउनेलाई एक वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना र त्यसपछिको कसूरमा पटकैपिच्छे थप तीन महिनासम्म कैद र १० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ । 

टिकटकमा कसरी खेलाइन्छ जुवातास ?

टिकटक लाइभमा जुवातास खेल्नेहरूले खेलअनुसारका विभिन्न तरिका अपनाएको देखिन्छ ।  प्रायः लाइभ हाेस्ट गर्ने व्यक्तिले सबैभन्दा पहिले आफ्नो फोन नम्बर पठाई सो नम्बरमा खेलका अन्य सहभागीलाई ई-सेवा, खल्तीजस्ता डिजिटल वालेटमा पैसा डिपोजिट गर्न लगाउँछ । यति गरेपछि खेल सुरु हुन्छ ।

खेल्ने मान्छेले जितेको खण्डमा उसको ई-सेवा वा खल्तीमा पठाइदिने आश्वासन दिएर खेलाएको देखिन्छ । साथै विदेशबाट खेल्नेहरूले डलर वा क्वाइनको प्रयोग गर्ने गर्छन् । जुवा खेलाउन यस्ता व्यक्ति रातभरसमेत सक्रिय हुने गरेकाे पाइएकाे छ ।

पछिल्लो अध्यावधिक: पुस २७, २०७९ २०:९