close

दियालोको स्मार्ट वाटर सिस्टम, उपभोक्ताले थाहा पाउनेछन् आफूले पिउने पानीको गुणस्तर

टेकपाना टेकपाना

पुस २८, २०७९ १५:२२

दियालोको स्मार्ट वाटर सिस्टम, उपभोक्ताले थाहा पाउनेछन् आफूले पिउने पानीको गुणस्तर

काठमाडौं । फिनटेक कम्पनी दियालो टेक्नोलोजिज प्रालिले विकास गरेको स्मार्ट वाटर प्रविधिको सहायताले उपभोक्ताले समेत आफूले पिएको पानीको गुणस्तरको मापन गर्नसक्ने भएका छन् । स्मार्ट वाटर प्रविधि अन्तर्गत रहेको एक सेन्सरमार्फत खानेपानी समिति मात्र नभएर उपभोक्ताले पनि आफ्नो घरमा आएको खानेपानीको गुणस्तर थाहा पाउन सक्ने भएका हुन् ।

खानेपानी क्षेत्रलाई पूर्ण रुपमा अटोमेसन लाने उद्देश्यसहित कम्पनीले स्मार्ट वाटर प्रविधि विस्तार गरिरहेको छ । दियालोले खानेपानी समितिदेखि उपभोक्तासम्म, उत्पादन तथा वितरणदेखि उपभोक्ताको घर-घरमा स्मार्ट मिटर रिडिङ, बिलिङ्गदेखि जिन्सी व्यवस्थापन, पानीको गुणस्तर मापनदेखि ट्यांकी व्यवस्थापनसम्मका करिब १५ वटा प्रणालीहरुको विकास गरेको छ । जसमा खानेपानीको गुणस्तर मात्र नभई खानेपानीको स्रोतदेखि उपभोक्ताका घरका धारासम्मलाई स्मार्ट बनाइएको कम्पनीले जनाएको छ ।

''राजधानीको टोखा खानेपानी समितिबाट पाइलट प्रोजेक्टका रूपमा सुरू गरिएको यस प्रणालीलाई लागू गर्न देशभरका खानेपानी समितिहरू उत्सुक देखिएका हुन्,'' कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ''हाल केही समितिहरूमा यस प्रणाली लागू हुने क्रममा छ ।''

यसै क्रममा दियालो टेक्नोलोजिजले मंगलबार मोरङको उर्लाबारीमा रहेका सबै खानेपानी समितिहरूका बीचमा एक कार्यशाला गोष्ठी आयोजना गर्यो । कार्यशालामा दियालोका बिजनेस डेभलपमेन्ट हेड रोशन गौतमले दियालोको सफ्टवेयरका विशेषताका विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने प्रमुख कार्यकारी अधिकृत पीआर खनालले समितिहरूका जिज्ञासाको जवाफ दिएका थिए ।

उक्त कार्यक्रम उद्घाटन गर्दै उर्लाबारी नगरपालिकाका नगर प्रमुख गंगा खरेलले पानी जस्तो महत्वपूर्ण वस्तुको उपभोक्ताले नै गुणस्तर हेर्न पाउनु भनेको प्रविधिको उच्चतम विकास भएको भन्दै खानेपानी समितिहरूलाई लागू गर्न आग्रह गरे ।

हालसम्म करिब ६०० खानेपानी समितिहरुलाई डिजिटलाइज गरिसकेकोे दियालोले खानेपानी क्षेत्रका सम्पूर्ण प्रक्रियालाई अन्तराष्ट्रिय मापदण्डको बनाउने उद्देश्यसहित यो प्रणालीको विकास गरेको हो । करिब १० वर्षअघि स्थापना भएको दियालो टेक्नोलोजिजले खानेपानी क्षेत्रलाई आवश्यक पर्ने सफ्टवेयरहरु निर्माण गर्दै आएको छ ।

दियालोले मिटर रिडिङ मोबाइल एप, बिलिङ व्यवस्थापन, एसएमएस प्रणाली, अनलाइन भुक्तानी, लेखा प्रणाली, जिन्सी व्यवस्थापन, मानव संशाेधन व्यवस्थापन प्रणाली, एनआरडब्लू (पानी चुवाहट विश्लेषण ) प्रविधि,ल्याब व्यवस्थापन प्रणाली, पम्प कन्ट्रोल प्रणाली, ग्राहक गुनासो व्यवस्थापन, भूमिगत पानीको तह विश्लेषण, मोबाइल एप्लिकेसन,इलेक्ट्रो म्याग्नेटिक फ्लोमिटर,ट्याङ्कीको पानी तह मापन प्रविधि जस्ता प्रणालीहरुको विकास गरेको छ ।

पछिल्लो अध्यावधिक: पुस २८, २०७९ १७:१०