close

टिकटकमा जुवातास खेलाउने ४ जना पक्राउ, खेल्नेलाई पनि खोज्दै प्रहरी

टेकपाना टेकपाना

पुस २८, २०७९ १८:१३

टिकटकमा जुवातास खेलाउने ४ जना पक्राउ, खेल्नेलाई पनि खोज्दै प्रहरी

काठमाडौं । सामाजिक सञ्जाल टिकटकमार्फत जुवा खेलाएको आरोपमा चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दाङका २१ वर्षीय ऋषि प्रकाश योगी, भक्तपुरका २७ वर्षीय कपिल गिरी तथा २१ वर्षीय प्रेम कठायत र कैलालीका २० वर्षीय डिल्लीराज अवस्थी रहेका छन् ।

काठमाडौं उपत्यकाभित्र केही व्यक्तिले टिकटक लाइभमार्फत पैसा बाजी राख्न लगाएर जुवातास खेलाउने गरेको सूचना पाएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएकाे टाेलीले मंगलबार उपत्यकाका ग्वार्को, सूर्यविनायक, लोकन्थली लगायतका स्थानबाट चार जनालाई पक्राउ गरेको हो ।

आरोपित चारैजना टिकटक लाइभमार्फत जुवा खेलाइरहेको अवस्थामा पक्राउ परेकाे प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पक्राउ परेकामध्ये ऋषि प्रकाश योगीले दुई ओटा टिकटक आईडीमार्फत जुवा खेलाउँथे । यसका लागि उनले आफ्नो ईसेवा आईडीमा जुवा खेल्नेहरूबाट रकम जम्मा गर्थे । एक महिना १० दिनको अवधिमा मात्रै उनले २८ लाख ७३ हजार ३५४ रुपैयाँ बराबरको जुवा टिकटकमार्फत खेलाएका थिए ।

पक्राउ परेका अर्का व्यक्ति कपिल गिरीले 'पोकर किङ्ग' नामको टिकटक आईडी मार्फत जुवा खेलाउने गरेकाे प्रहरीले जनाएकाे छ । गिरीले आफ्नो ईसेवा आईडीमा विभिन्न मानिसलाई रकम जम्मा गर्न लगाई १० दिनमा १० लाख ५२ हजार ९६२ रुपैयाँ बराबरकाे जुवा खेलाएका थिए ।

त्यस्तै पक्राउ परेका प्रेम कठायत र डिल्लीराज अवस्थीले 'प्रेम' नामको टिकटक आईडी खोलेर ई-सेवा आईडीमा विभिन्न व्यक्तिलाई रकम जम्मा गर्न लगाएर एक महिना ६ दिनको अवधिमा ९३ हजार २१४ रुपैयाँ बराबरको रकम जुवा (तास) खेलाएकाे प्रहरीले उल्लेख गरेकाे छ ।

पक्राउ परेका व्यक्तिबाट जुवा खेलाउन प्रयोग भएका चार ओटा फोन, तास खेल्ने विभिन्न व्यक्तिको नाम र तीन थान रजिष्टर बरामद गरिएको छ । ​चारै जनालाई मुलकी अपराध संहिता २०७४ को दफा १२५ को उपदफा (१) बमोजिमको कसूरमा आवाश्यक अनुसन्धान एवं कारबाहीका लागि जिल्ला प्रहरी परिसर ललितपुर, प्रहरी वृत्त जगाती र ठिमी पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले विज्ञप्ति जारी गर्दै जानकारी दिएकाे छ ।

पछिल्लो अध्यावधिक: पुस २८, २०७९ १८:३७