close

प्रो भर्सनमा आउँदै च्याटजीपीटी

टेकपाना टेकपाना

पुस २९, २०७९ ९:३७

प्रो भर्सनमा आउँदै च्याटजीपीटी

काठमाडौं । च्याटजीपीटी निर्माण गर्ने कम्पनी ओपन एआईले छिट्टै नै यसको विकल्प ल्याउने भएको छ । कम्पनीले च्याटजीपीटीको विकल्पमा सशुल्क बट ल्याउन लागेको संकेत गरेको छ । एक वेटलिस्ट सार्वजनिक गर्दै कम्पनीले च्याटजीपीटी प्रोफेसनल भर्सनबारे सर्वेक्षण गर्न थालेकाे छ ।

च्याटजीपीटीमा भएका सीमिततालाई घटाउँदै, प्रयोगकर्तालाई स्तरीय अनुभव दिन यो च्याटबट ल्याउन लागेको कम्पनीले जनाएको छ । कम्पनी अहिले सर्वेक्षणकै अवस्थामा भएकाले प्राे भर्सन कहिले सार्वजनिक हुन्छ भन्नेबारे केही कुरा बाहिर आएको छैन ।

यसअघि निःशुल्क उपलब्ध च्याटजीपीटीले लोकप्रियता पाएपनि त्यसबाट कम्पनीले आम्दानी गर्न सकेको छैन । अन्तर्राष्ट्रिय सञ्चारमाध्यम टेकक्रन्चसँगकाे कुराकानीमा ओपन एआईका प्रमुख कार्यकारी अधिकृत (सीईओ) साम अल्टम्यान भन्छन्, "च्याटजीपीटीलाई प्रयोग गरेर कम्पनीले कसरी आम्दानी गर्न सक्छ र यो प्रविधि दीर्घकालीन रूपमा अगाडि बढाउन सकिन्छ भन्नेबारे सोचिरहेका छौं ।"

हरेक एउटा च्याट अन्तर्गत च्याटजीपीटीमा केही (सेन्ट) रकम खर्च हुने गरेको उनको भनाइ छ, जसले गर्दा सधैँ निःशुल्क उपलब्ध गराउनु अव्यवहारिक हुने उनको विचार छ ।

रोयटर्सका अनुसार ओपन एआईले वार्षिक २० कराेड डलर आम्दानी गर्दै आएको छ । सन् २०२४ सम्म कम्पनीले वार्षिक एक अर्ब डलर आम्दानी गर्ने लक्ष्य राखेको छ । च्याटजीपीटीको प्रो भर्सनमा हुने सब्सक्रिप्सन मोडेलले कम्पनीको लक्ष्यमा योगदान पुर्‍याउने विश्लेषकहरू बताउँछन् ।

च्याट जीपीटीको प्रोफेसनल भर्सन सार्वजनिक भयो भने यसको सब्स्क्रिप्सन कतिले लिन्छन् भन्ने कुरा भने राेचक हुनेछ । निःशुल्क उपलब्ध गराउँदा च्याटजीपीटीले पाँच दिनमै १० लाख बढी प्रयोगकर्ता पुर्‍याएको थियो ।

यद्यपि थुप्रै ठाउँमा च्याट जीपीटीमाथि प्रतिबन्ध लाग्दै आएको छ । अर्कोतर्फ माइक्रोसफ्टले आफ्नो सर्च इन्जिन बिङमा पनि च्याटजीपीटी इन्ट्रिगेट गर्ने समाचार बाहिरिएको छ । ओपन एआईले गरेको सर्वेक्षणमा सहभागी हुन यहाँ क्लिक गर्नुहोस् ।

पछिल्लो अध्यावधिक: माघ ८, २०७९ ११:५९