close

एसईओ वा डिजिटल मार्केटिङमा काम गर्नुहुन्छ ? यसरी प्रयोग गर्नुहोस् च्याटजीपीटी

टेकपाना टेकपाना

पुस २९, २०७९ ११:५

एसईओ वा डिजिटल मार्केटिङमा काम गर्नुहुन्छ ? यसरी प्रयोग गर्नुहोस् च्याटजीपीटी

काठमाडौं । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधिमा आधारित च्याट जीपीटी (जेनेरेटिभ प्रि-ट्रेन्ड ट्रान्सफर्मर)को प्रयोग दिनानुदिन बढ्दो छ । कुनै पनि प्रश्न वा जिज्ञासामा विज्ञले जसरी उत्तर दिने च्याटजीपीटीको शैलीलाई धेरैले रुचाएका छन् ।

च्याटजीपीटीले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र इन्टरनेटमा उपलब्ध गराइएका अर्बौँ डेटाका माध्यमबाट कुराकानीको शैलीमा जिज्ञासा मेटाइदिन्छ । वाक्य मिलाउन, प्रोग्रामिङ ल्याङ्ग्वेजमा भएका कमजोरी पत्ता लगाउन, निबन्ध लेख्न वा अन्य विविध प्रयोजनका लागि च्याट जीपीटीको प्रयोग बढेको छ ।

च्याटजीपीटीको यही फिचरले गर्दा गुगलको सर्च इन्जिन फिचरलाई नै विस्थापित गर्नसक्ने विश्लेषण गरिएकाे छ ।

च्याटजीपीटीको माध्यमबाट के-के गर्न सकिन्छ ?

एसईओ अर्थात् सर्च इन्जिन अप्टिमाइजेसन र मार्केटिङका लागि मसिन लर्निङ र आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग बढेको छ ।

च्याटजीपीटीले हाम्रो आवश्यकताअनुसार निबन्ध लेखिदिने, काल्पनिक कथा, कविता र विज्ञापन पनि लेख्न सक्छ । यसको फिचरले व्यावसायिक लेखक पनि आफ्नो भविष्य धरापमा पर्दै गएको अनुभव गरिरहेका छन् ।

यसले परीक्षार्थीका लागि सटीक र फरक-फरक उत्तर दिने भएकाले न्यू योर्क सिटी शिक्षा विभागले च्याटजीपीटीमाथि प्रतिबन्ध नै लगाएको छ ।

च्याटजीपीटीलाई सर्च इन्जिनका रूपमा, प्रोग्रामिङ कोड जाँच गराउनका लागि र सबैभन्दा महत्त्वपूर्ण एसईओ तथा मार्केटिङका लागि प्रयोग गर्न सकिन्छ ।

 एसईओमा काम गर्नेले च्याटजीपीटीको प्रयोग कसरी गर्न सक्छन् ?

१. कन्टेन्ट बनाउन

ब्लग लेखेर पैसा कमाउने थुप्रै तरिका छन् । तपाईँले लेखेका लेख इन्टरनेटमा खोज्दा सहजै भेटिन्छन् भने तपाईँले च्याटजीपीटीलाई कन्टेन्ट लेख्न लगाउन सक्नुहुन्छ । यसका लागि एसईओका बारेमा धेरै ज्ञान हुनुपर्छ ।

तपाईँले आफ्नो वेबसाइटमा एसईओ राम्रोसँग सेट गर्नुभएको छ भने पछिल्लो समय खोजिएका विषयबारे च्याटजीपीटीलाई कन्टेन्ट लेख्न लगाउनुहोस् । अनि त्यस्तो कन्टेन्ट राख्नुभयो भने तपाईँको साइटमा राम्रो ट्राफिक जान्छ ।

२. किवर्ड खोज्न तथा विश्लेषण गर्न

कुनै पनि विषयसँग सम्बन्धित त्यसका किवर्डहरू खोज्नका लागि च्याटजीपीटीको सहयोग लिन सकिन्छ । उदाहरणका लागि बैंकिङ सफ्टवेयरका लागि उपयुक्त किवर्डहरू के-के हुन सक्छन् भनेर सोध्नुभयो भने च्याटजीपीटीले भरपर्दो किवर्ड सजेस्ट गर्छ ।

त्यही किवर्डलाई आधार बनाएर कन्टेन्ट तयार पार्न सकिन्छ । त्यस्ता कन्टेन्टमा धेरै मानिसको रुचि हुन्छ ।

 

३. कन्टेन्ट रणनीति तयार पार्न

च्याटजीपीटी कन्टेन्ट तयार पार्न र आवश्यकता अनुसार सच्याउन लागि पनि प्रयोग गर्न सकिन्छ । तपाईँको व्यवसायका लागि कस्ता कन्टेन्ट आवश्यक पर्छन् र त्यसका लागि उपयुक्त के-कस्ता कुरामा सुधार गर्न सकिन्छ भन्ने सुझाव च्याटजीपीटीले दिन्छ ।

उदाहरणका लागि च्याटजीपीटी नयाँ कन्टेन्टको आइडिया, हेडलाइन, निष्कर्ष जस्ता कामका लागि उपयोगी हुन्छ । ​इन्टरनेटमा ग्राहकले दिएका विभिन्न प्रतिक्रिया, सामाजिक सञ्जालमा राखिएका विभिन्न विवरण र च्याटजीपीटीलाई उपलब्ध गराइएका अर्बौँ डेटाबाट यस प्लेटफर्मले कस्ता कन्टेन्ट विकास गर्न सकिन्छ भन्ने कुराको जानकारी दिन्छ ।

त्यसबाहेक पनि तपाईँको लक्षित अडियन्स को हुन् र उनीहरूलाई कस्तो कन्टेन्ट मन पर्छ भन्ने कुराको आधारमा च्याटजीपीटले कन्टेन्ट सुझाव दिन्छ ।

४. सर्चबारे विस्तृतमा बुझ्न

इन्टरनेटमा आफूलाई चाहिएका कुनै पनि विवरण सर्च गर्ने व्यक्तिले सबै अवस्थामा खोजेका विवरण भेट्टाउन सक्दैन । कुन कुरा कसरी सर्च गर्दा भेटिन्छ भन्ने प्रश्न च्याटजीपीटीलाई सोध्यो भने उसले बुँदागतरुपमा उत्तर उपलब्ध गराउँछ ।

उदाहरणका लागि वेबसाइटबाट भन्सार विभागको डेटा कसरी पाउने भनेर सर्च गर्नुभयो भने च्याटजीपीटीले बुँदागत टिप्सहरू दिन्छ । त्यसबाहेक पनि सर्चबारे थप के के बुझ्न मन छ त्यो प्रश्न राख्नुभयो भने यस प्लेटपर्मले भरपर्दो तरिकाबारे जानकारी दिन्छ ।

५. उपयुक्त एसईओ टाइटल तयार पार्न

तपाईँलाई कुनै पनि कन्टेन्टका लागि उपयुक्त शीर्षक बनाउनुपर्‍यो भने यस प्लेटफर्मको सहयोग लिन सक्नुहुन्छ । तपाईँले कस्ता शीर्षक राख्नुहुन्छ, त्यसले पनि साइटमा भिजिटर ल्याउन महत्त्वपूर्ण भूमिका खेल्छ ।

च्याट जीपीटीले तपाईँको कन्टेन्टका लागि कस्तो शीर्षक आवश्यक पर्छ त्यस्तो शीर्षक सुझाव दिन्छ । यसरी आफ्नो कन्टेन्टका लागि एसईओ उपयुक्त हुने शीर्षक जुराउन सक्नुहुन्छ ।

यी काम बाहेक च्याट जीपीटी अनेकौं प्रयोजनका लागि उपयोगी हुन्छ । उदाहरणका लागि तपाईँ कुनै कार्यक्रममा जानुभयो । त्यहाँ जे जे भयो वा जुन व्यक्तिले जे कुरा बोल्यो सबै लेख्नुहोस् । र, च्याट जीपीटीलाई उक्त लेख पठाएर प्रेस रिलिज तयार पार्न लगाउनुहोस् ।

तपाईँले उपलब्ध गराएका विवरणमा सबैभन्दा महत्त्वपूर्ण कुरा के छ, के विषयमा बढी छलफल भयो, त्यसले अडियन्सलाई कस्तो जानकारी दिनुपर्ने हो, यी यावत विषयलाई मूल्याङ्कन गरेर च्याट जीपीटीले उपयुक्त शीर्षक दिएर प्रेस विज्ञप्ति तयार पार्न सघाउँछ ।

इन्टरनेटमा पछिल्लो समय कुन विषय बढी खोजिएको छ, त्यसका लागि उपयुक्त कन्टेन्ट वा शीर्षक के हुन्छ भन्ने सुझाव च्याट जीपीटीबाटै पाउन सकिन्छ ।

तर, यहाँ ख्याल गर्नुपर्ने कुरा तपाईँको साइटमा एसईओले राम्रोसँग काम गरेको हुनुपर्छ । भन्नुको अर्थ, तपाईँले साइटमा राखेका विषय कसैले सर्च इन्जिन वा ब्राउजरबाट खोज्दा सहजै शीर्ष स्थानमा देखिने हुनुपर्छ ।

पछिल्लो अध्यावधिक: पुस २९, २०७९ ११:६