close

बीवाईडी गाडीमा प्रयोग हुने 'ब्लेड' ब्याट्री, लिथियम आयनभन्दा कत्तिको सुरक्षित ?

टेकपाना टेकपाना

पुस २९, २०७९ १८:३

बीवाईडी गाडीमा प्रयोग हुने 'ब्लेड' ब्याट्री, लिथियम आयनभन्दा कत्तिको सुरक्षित ?

काठमाडौं । बीवाईडीको आधिकारिक बिक्रेता साइमेक्स इंक र बीवाईडी इन्डियाको संयुक्त आयोजनामा ब्लेड ब्याट्रीलाई नेल पेनेट्रेसन टेस्ट (सियोले घोचेर गरिने प्रयोग) सम्पन्न भएको छ । भारतको नयाँ दिल्लीमा आयोजित अटो एक्स्पो २०२३ को अवसरमा उक्त परीक्षण गरिएको हो ।

यस परीक्षणमा कम्पनीले एनसीएम ब्याट्री र बीवाईडी ब्लेड ब्याट्री प्रयोग गरेको थियो । ''सुरक्षित डोमभित्र पारिएको टेस्टमा एनसीएम ब्याट्रीलाई प्वाल पार्दा ठूलो आवाज निकालेर पड्केको थियो । तर, त्यहीँ प्वाल पार्दा ब्लेड ब्याट्रीमा आगो लाग्ने वा पड्कने केही नभएको कम्पनीले जनाएकाे छ ।

बीवाईडी भारतका नेसनल सेल्स हेड श्रीराङ जोशीले बीवाईडीको ब्याट्री सुरक्षा र रेन्जका लागि प्रसिद्ध भएको दाबी गरेका छन् । "त्यसैले विश्वका धेरै गाडी निर्माताले बीवाईडीको ब्लेड ब्याट्री प्रयोग गर्न चाहेका छन्," उनले भने ।

ब्लेड ब्याट्री नेल पेनिट्रेसन टेस्ट गर्दा यसको तापक्रम ३० देखि ६० डिग्री सेन्टिग्रेट पुगेको थियो । तर, एनसीएम ब्याट्री ३०० देखि ४०० डिग्री पुगेको थियो । तापक्रम नबढ्दा ब्लेड ब्याट्री पड्कने र धुवा आउने केही भएन । यता एनसीएम ब्याट्री भने पड्केको थियो ।

ब्लेड ब्याट्रीमा प्रत्येक सेलको लम्बाइ ९६ सेमी, चौडाई ९ सेमी तथा उचाइ मात्र १.३५ सेमी हुने गर्छ । यसलाई ब्याट्री प्याक बनाउँदा लहरै मिलाएर ‘सेल टु प्याक सिस्टम’मा राखिने कम्पनीले जनाएको छ । त्यसैले ब्याट्री पातलो तथा लामो ब्याट्री प्याक बन्छ ।

ब्लेड ब्याट्रीले परम्परागत लिथियम आयन फस्फेटको तुलनामा ५० प्रतिशत बढी भोलुमेट्रिक इनर्जी डेन्सीटी (भीईडी) प्राप्त हुन्छ । अर्थात् सानो साइजबाटै धेरै इनर्जी प्राप्त गर्न सकिन्छ ।

ब्लेड ब्याट्रीको मुख्य फाइदा भनेको चार्जिङ साइकललाई तीन हजार पुर्‍याउनु हो । त्यसैले सिङ्गल व्याट्री प्याकले नै १२ लाख किलोमिटरसम्म गुडाउन सकिने कम्पनीको भनाइ छ ।

यो ब्याट्रीलाई फास्ट चार्जरमार्फत १० प्रतिशतबाट ८० प्रतिशत चार्ज गर्न ३३ मिनेट लाग्ने कम्पनीको दावी छ । बीवाईडीले हान मोडलमा प्रयोग गरेको ब्लेड ब्याट्रीले सिङ्गल चार्जमा ६०५ किलोमिटरसम्म रेन्जदिने एनइडीसीले प्रमाणित गरेको छ ।

पछिल्लो अध्यावधिक: पुस २९, २०७९ १८:३