close

क्यूआर कोडमार्फत महिनाकै झण्डै २० अर्ब भुक्तानी गर्छन् नेपाली

टेकपाना टेकपाना

पुस ३०, २०७९ १२:३५

क्यूआर कोडमार्फत महिनाकै झण्डै २० अर्ब भुक्तानी गर्छन् नेपाली

काठमाडौं । पछिल्लो एक वर्षमा क्यूआरबाट हुने भुक्तानी करिब ६७ प्रतिशतले वृद्धि भएको छ । कोरोना महामारीपछि ह्वात्तै बढेको क्यूआर भुक्तानी कारोबार त्यसपछि पनि उल्लेख्य वृद्धि जारी देखिएको  हो ।

नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको तथ्याङ्कअनुसार यस वर्ष क्यूआरमार्फत हुने भुक्तानी ६७.५२ प्रतिशतले बढेको छ । गत वर्षको मंसिर महिनामा क्यूआर कोडमार्फत छ अर्ब २८ करोड २० लाख रुपैयाँको कारोबार भएको थियो । जब कि यस वर्षको मंसिर महिनामा १९ अर्ब ३४ करोड ६० लाख रुपैयाँको कारोबार भएको छ ।

यसैगरी गत मंसिर महिनामा मात्र मोबाइल बैंकिङमार्फत एक खर्ब ६० अर्ब तीन करोड ६० लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । आर्थिक वर्ष २०७८/०७९ को यही अवधिमा मोबाइल बैंकिङमार्फत ८८ अर्ब ५३ करोड १० लाख रुपैयाँको मात्र कारोबार भएको थियो ।

अर्थात् गत आर्थिक वर्षको तुलनामा मोबाइल बैंकिङ मार्फत हुने कारोबार ४४.६८ प्रतिशतले वृद्धि भएको छ । यसैगरी यो वर्ष डिजिटल वालेटबाट हुने कारोबार समेत बढेको छ ।

गत आर्थिक वर्ष २०७८/०७९ को मंसिरमा १५ अर्ब ५२ करोड ८० लाख रुपैयाँको कारोबार भएकोमा यस वर्ष सोही महिनामा १७ अर्ब ७३ करोड रुपैयाँको कारोबार भएको छ, जुन १२.४१ प्रतिशतको वृद्धि हो । 

मोबाइल बैंकिङ, डिजिटल वालेट र क्यूआर कोडमार्फत हुने कारोबार बढेको भएपनि इन्टरनेट बैंकिङको प्रयोग भने घट्दो छ । आर्थिक वर्ष २०७८/७९ को मंसिरमा इन्टरनेट बैंकिङमार्फत १९ अर्ब ४ करोड ८० लाख रुपैयाँको कारोबार भएको थियो ।

तर, आर्थिक वर्ष २०७९/०८० को सोही अवधिमा यस्तो कारोबार घटेर ११ अर्ब ४७ करोड ६० लाख रुपैयाँमा सीमित भएको छ । यो कारोबार रकम गत वर्षको तुलनामा ११.५८ प्रतिशतले थोरै हो । 

यसैगरी यो वर्ष ई-कमर्शबाट हुने कारोबार समेत बढेको छ । गत आर्थिक वर्ष २०७८/०७९ को मंसिरमा ३५ करोड रुपैयाँको कारोबार भएकोमा यस वर्ष सोही महिनामा ४८ करोड २० लाख रुपैयाँको कारोबार भएको छ, जुन नौ प्रतिशतको वृद्धि हो ।

यस वर्ष कनेक्ट आईपीएसमार्फत हुने भुक्तानी पनि आकर्षक रूपले बढेको देखिन्छ । गत वर्षको मंसिर महिनामा कनेक्ट आईपीएसमार्फत दुई खर्ब २८ अर्ब ४५ करोड ४० लाख रुपैयाँको कारोबार भएको थियो ।

जब कि यस वर्षको मंसिर महिनामा दुई खर्ब ९८ अर्ब २८ करोड ६० लाख रुपैयाँको कारोबार भएको राष्ट्र बैंकको तथ्याङ्कमा उल्लेख छ । त्यसैगरी यो वर्ष डेबिट कार्ड, क्रडिट कार्ड र प्रिपेड कार्डबाट हुने कारोबार पनि बढेको देखिन्छ ।

आर्थिक वर्ष २०७८/७९ मंसिर महिनामा डेबिट कार्डबाट २५ अर्ब ८९ करोड ४० लाख रुपैयाँ, क्रेडिट कार्डबाट ५८ करोड ४० लाख र प्रिपेड कार्डबाट तीन करोड ६० लाख रुपैयाँको कारोबार भएको थियो ।

यो वर्ष सोही महिनामा डेबिट कार्डबाट दुई खर्ब, ९८ अर्ब, २८ करोड ६० लाख रुपैयाँ, क्रडिट कार्डबाट एक अर्ब ३६ करोड ८० लाख रुपैयाँ र प्रिपेड कार्डबाट ३४ करोड १० लाख रुपैयाँको कारोबार भएको छ ।

 

पछिल्लो अध्यावधिक: पुस ३०, २०७९ १२:३५