close

नेपालमा कत्तिको सम्भव छ एआई प्रविधिमा आधारित शिक्षा ?

सञ्जीवन राई सञ्जीवन राई

माघ १, २०७९ १३:२४

नेपालमा कत्तिको सम्भव छ एआई प्रविधिमा आधारित शिक्षा ?

काठमाडाैं । शिक्षामा प्रविधिकाे प्रयाेग अब नाैलाे रहेन । प्रविधिकाे प्रयाेगबाट खस्केकाे शैक्षिक स्तरलाई माथि उकास्न अनेकन् प्रयास भइरहेका छन् । अनलाइनबाट पढाइ हुनु, इन्टरनेटमा शैक्षिक सामग्री फेला पार्नु, शैक्षिक संस्थाहरूकाे कार्य सम्पादन तथा व्यवस्थापन सफ्टवेयरबाट हुनु प्रविधिकै देन हाे ।

समय स्थिर हुँदैन । त्यसैअनुरुप प्रविधिमा पनि द्रुत विकास र परिवर्तन जारी छ । पछिल्लाे समय आर्टिफिसियल इन्टेलिजेन्स (एआई), मेटाभर्सजस्ता प्रविधिकाे विकासले चर्चा बटुलिरहेकाे छ । सँगै यस्ता नवीनतम प्रविधिहरू शिक्षा क्षेत्रमा समेत प्रयाेग हुन थालेका छन् ।

नेपालमै ई-लर्निङ प्लेटफर्म एम्बिसन गुरुले एआई प्रयाेग गरेर विद्यार्थीलाई अध्यापन गराउन थालेकाे छ । शिक्षामा एआई प्रयाेग गर्दा सिकाइ 'पर्सनलाइज' हुने, म्यानुअल रूपमा गर्नुपर्ने काम स्वतः हुने एम्बिसन गुरुका एकेडेमिक डिरेक्टर प्रकाश पाण्डे बताउँछन् ।

त्यस्तै विद्यार्थीले शिक्षकबिना नै समस्याकाे समाधान पाउने, उनीहरुकाे गृहकार्य जाँच गर्ने काम एआईबाटै गर्नसक्ने उनी सुनाउँछन्  ।

विद्यार्थीलाई एआई शिक्षा दिनु र यसकाे प्रयाेगबाट याे क्षेत्र सुधार गर्नुमा एआईकाे भूमिका महत्त्वपूर्ण हुने एआई शिक्षामा काम गरिरहेको कम्पनी फ्युजमसिनका दक्षिण एसियाका प्रबन्धक निर्देशक पराग श्रेष्ठ बताउँछन् ।

उनी पनि एआईले शिक्षालाई 'पर्सनलाइनज' गर्न सबैभन्दा ठूलाे भूमिका खेल्ने कुरामा विश्वास गर्छन् । “एआईले शिक्षण पद्धति र प्रणाली नै परिवर्तन गर्न सक्छ,'' श्रेष्ठ भन्छन्, “जसले गर्दा कक्षाकाेठाकाे स्वरुप नै परिवर्तन हुन सक्छ ।” 

अहिले कक्षाकाेठा भन्नासाथ ‘भाैतिक कि अनलाइन’ भन्नेर प्रश्न गर्ने अवस्था सिर्जना भएकाे छ । यसकाे कारण भनेकाे प्रविधि नै हाे । कक्षाकाेठामा शिक्षकले सबै विद्यार्थीलाई ध्यान दिनुपर्ने हुन्छ । तर एआईले प्रत्येक विद्यार्थीका लागि व्यक्तिगत गुरु झैं काम गर्ने पाण्डे बताउँछन् ।

त्यस्तै अनलाइन लर्निङ प्लेटफर्म नीमा एकाडेमीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) निश्चल प्रधान एआईलाई विद्यार्थीकाे स्तर, अवस्था र क्षमता थाहा पाउन प्रयाेग गर्न सकिने धारणा राख्छन् । 

शिक्षामा एआई प्रयोग अपरिहार्य बनिसकेको उनको बुझाइ छ ।

एआईकाे प्रयाेगबाट शिक्षाकाे गुणस्तर सुधार हुनेमा फ्युजमसिनका श्रेष्ठ ढुक्क देखिन्छन् । शिक्षामा एआई प्रयाेग हुँदा समाज, देश बुझेकाे विद्यार्थी उत्पादन हुनसक्ने उनकाे विश्लेषण हुन्छ ।

त्यस्तै एआईलाई शिक्षामा प्रयाेग गर्दा शैक्षिक गुणस्तर सुधार हुनेमा काठमाडाैं विश्वविद्यालयका स्नातकोत्तर तहका एआई प्राेगाम काेर्अडिनेटर सह-प्राध्यापक डा. यज्ञराज पाण्डेय बताउँछन् ।

नयाँ कुरामा विद्यार्थीले चासाे देखाउने भएकाले एआईमा पनि चाँडै अभ्यस्त हुनसक्ने उनकाे धारणा छ । पढेका कुरा विद्यार्थीलाई बुझ्‍न एआई सहयाेगी हुने उनकाे मत छ ।

एआईबाट पढाइका कुराबाहेक कक्षाकाेठामा विद्यार्थीकाे ध्यान छ कि छैन, विद्यार्थीकाे संवेग, शिक्षक-विद्यार्थी बीचकाे सम्बन्ध मूल्याङ्कन जस्ता काम गर्न सकिने पनि उनी सुनाउँछन् ।

एआईकाे प्रयाेगबाट विद्यार्थीकाे निष्पक्ष मूल्याङ्कन गर्न सकिन्छ । त्यस्तै कक्षागत हिसाबले अथवा विद्यार्थीकाे रुचि अनुसार समूह बनाएर त्यही प्रकारकाे एआई विद्यालयमा प्रयाेग गर्न सकिने उनी सुनाउँछन् ।

शिक्षामा एआईकाे प्रयाेग विभिन्न उद्देश्य पूर्तिका लागि हुने गर्छ । आजभाेलि धेरै जना स्वअध्ययनमा रुचि राख्छन् । याे कुराले शिक्षामा एआईकाे प्रयाेग समेत वृद्धि गर्ने नीमा एकेडेमीका सीईओ प्रधान बताउँछन् ।

“स्वअध्ययन गर्नेका लागि एआई धेरै उपयुक्त हुन्छ,” प्रधान थप्छन्, “एआईले विद्यार्थीकाे अध्ययन प्रवृत्तिका आधारमा अब के-के अध्ययन गर्नुपर्छ भनेर सुझाव दिन्छ, जुन स्वअध्ययन गर्नेहरुका लागि धेरै राम्राे विशेषता हाे ।”

विद्यार्थीलाई पाठ्यक्रम बाहेक अन्य कुराकाे अध्ययन गर्न पनि एआई उपयाेगी हुने गर्छ । यसकारण शिक्षामा एआईकाे प्रयाेग वृद्धि गर्न स्वअध्ययनलाई समेत बढाउनुपर्ने उनी बताउँछन् ।

एआई प्रयाेग गरी अध्ययन गर्न विद्यार्थीसँग ल्यापटप, इन्टरनेटजस्ता प्रविधिकाे पहुँच भने हुनुपर्छ । तर नेपालमा धेरै विद्यार्थीले याे कुराकाे सुविधा प्राप्त गर्न सकेका छैनन् । याे कुरा शिक्षामा एआई प्रयाेग गर्नुभन्दा पनि ठूलाे समस्या र दु:खकाे कुरा भएकाे फ्युजमसिनका श्रेष्ठ बताउँछन् । 

विभिन्न इन्टरनेट सेवाप्रदायकसँग सरकारले सहकार्य गरेर, विद्यालयमा आधुनिक कम्प्युटर ल्याब स्थापना गरेर याे कुराकाे समाधान गर्न सकिने उनी सुनाउँछन् ।

त्यस्तै शिक्षामा एआईकाे प्रयाेग बढाउन विभिन्न संघसंस्था, विद्यालय, सरकार आदिले भूमिका खेल्नुपर्ने उनी जाेड दिन्छन् । एम्बिसन गुरुका पाण्डे पनि सरकारले प्रविधि खरिद गर्न विद्यार्थीलाई सहुलियत ऋण उपलब्ध गराउँदा याे समस्या कम गर्न सकिने विश्वास गर्छन् ।

तर नेपालमा शैक्षिक क्षेत्रका लागि एआई विकास गर्न आवश्यक डेटा तयार नभएकाे काठमाडाैं विश्वविद्यालयका सह-प्राध्यापक डा. पाण्डेय सुनाउँछन् । ''उत्कृष्ट एआई प्लेटफर्म विकासका लागि धेरै डेटाकाे आवश्यकता पर्छ । शिक्षासँग सम्बन्धी एआई बनाउँदा डेटाकाे गुणस्तरमा विशेष ध्यान दिनुपर्छ,'' उनी थप्छन् ।  

एआईलाई स्वतन्त्र रुपमा छाड्दा विद्यार्थीले गलत सूचना पाउन सक्छन् । त्यस्तै एआईलाई निरन्तर निगरानी र व्यवस्थित गरिएन भने विद्यार्थीले गलत सूचना पाउने सम्भवना उच्च हुन्छ ।

साथै उनीहरुले पाउने सूचनाकाे प्रभावकारीताबारे शिक्षक-शिक्षिका अनभिज्ञ हुन्छन् । यसकारण यस्ता कुरा हुन नदिन एआईमा म्यानुअली काम गर्नुपर्ने एम्बिसन गुरुका पाण्डे बताउँछन् । उनका अनुसार एआई प्रयाेग भएका शैक्षिक सामग्रीकाे गुणस्तर नियन्त्रण गर्न भने शिक्षकशिक्षिका स्वयंले ध्यान दिनुपर्छ । 

एआई मावननिर्मित एक प्रविधि हाे, मसिन हाे । यसलाई जस्ताे सिकाइन्छ, नतिजा त्यस्तै प्राप्त हुन्छ । यसकारण शैक्षिक क्षेत्रमा प्रयाेग हुने एआईलाई स्तरीय बनाउनमा भने ध्यान दिनुपर्नेमा नीमा एकाडेमीका प्रधान जाेड दिन्छन् ।

याे नयाँ प्रविधि भएकाले धेरैका लागि प्रयाेग गर्न समस्या हुन सक्छ । त्यस्तै याे प्रविधिसँग परिचित शिक्षक-शिक्षिका निकै कम छन् । साथै धेरै विद्यार्थी तथा अभिभावक समेत एआईसँग परिचित नहुन सक्छन् ।

काठमाडाैं विश्वविद्यालयका सह-प्राध्यापक डा. पाण्डेयकाे अनुभवमा शिक्षामा एआई प्रयाेग गर्न आवश्यक पर्ने जनशक्तिकाे अभाव छ । याे कुराले एआईलाई शिक्षामा प्रयाेग गर्न चुनाैती हुने उनी सुनाउँछन् ।

यसकारण शिक्षामा एआईकाे प्रभावकारिता बढाउन शिक्षक-शिक्षिकालाई यसबारे तालिम दिन आवश्यक छ । एआईकाे उचित प्रयाेग गर्न डिजिटल साक्षरताले प्रमुख भूमिका खेल्ने एम्बिसन गरुका पाण्डे बताउँछन् । 

''अहिले अपनाइरहेकाे परम्परागत शिक्षण प्रणालीलाई एआईकाे प्रयाेगले परिवर्तन गर्न सक्छ । तर यसका लागि प्राविधिक पूर्वाधार बलियाे हुनुपर्छ । यहाँ भएका पाठ्यक्रम, शैक्षिक स्राेतमा आधारित एआई प्लेटफर्म तयार गर्नुपर्छ,'' उनी भन्छन् ।

यसाे गर्दा एआईकाे प्रयाेग स्थानीयकरण हुने उनी सुनाउँछन् । तर विद्यालय वा कलेज स्वयंले आफ्नाे एआई प्लेटफर्म प्रयाेग गर्नु भने चुनाैतीकाे विषय हुने उनकाे तर्क छ ।

यसकाे समाधान स्वरुप सरकारले तयार पारेकाे कक्षा १२ सम्मकाे शैक्षिक सामग्री उपलब्ध वेबसाइटमा एआई प्रयाेग गर्नुपर्ने उनी सुझाव दिन्छन् ।

अहिले धेरै विद्यालयहरुमा दक्ष शिक्षक-शिक्षिकाकाे अभाव छ । याे कुरालाई केही हदसम्म भए पनि एआईले समाधान गर्ने पाण्डे बताउँछन् ।

तर एआईबारे कानुन नहुँदा यसकाे विकासमा भने समस्या रहेकाे सह-प्राध्यापक डा. पाण्डेय बताउँछन् । जसले गर्दा एआईलाई पढाइ बाहेक अन्य काममा प्रयाेग गर्दा कानूनी कुराले अवराेध गर्ने उनकाे भनाइ छ ।

यसकारण एआईमा ‘के गर्ने, के नगर्ने, कसलाई गर्न दिने, कसलाई नदिने’ भन्ने बारेमा कानून बनाउनुपर्नेमा उनी जाेड दिन्छन् ।  त्यसाे हुँदा शिक्षामा एआई प्रयाेग गर्न झन् सजिलाे हुने उनी बताउँछन् ।

त्यस्तै अब नेपालले शिक्षामा एआई प्रयाेग गर्नका लागि थप समय कुर्न नहुने फ्युजमसिनका श्रेष्ठकाे तर्क छ ।

''विचार र नीतिमा हामी सीमित हुने भएकाले धेरै कुरा गर्न अल्झिन्छाैं । यसकारण शिक्षामा एआईकाे प्रयाेग गर्नका लागि याे जस्ताे सही समय अर्काे आउँदैन,'' उनी भन्छन् ।

पछिल्लो अध्यावधिक: माघ १, २०७९ १३:५५