close

पोखरा पुग्यो वाई-फाई नेपाल, ३३३ रुपैयाँमा ५० एमबीपीएस इन्टरनेट चलाउन सकिने

टेकपाना टेकपाना

माघ २, २०७९ १३:१८

पोखरा पुग्यो वाई-फाई नेपाल, ३३३ रुपैयाँमा ५० एमबीपीएस इन्टरनेट चलाउन सकिने

काठमाडौं । इन्टरनेट सेवाप्रदायक कम्पनी वाई-फाई नेपालको सेवा पोखरमा पनि विस्तार भएको छ । गत जेठमा नेपालकै सस्तो इन्टरनेट प्याकेजका साथ सञ्चालनमा आएको कम्पनीले आइतबारदेखि पोखरामा पनि सेवा विस्तार गरेको हो ।

पोखरा आसपासका ग्राहकले ५० र ८० एमबीपीएस गतिको इन्टरनेट प्याकेज खरिद गर्नसक्ने वाई-फाई नेपालका प्रमुख कार्यकारी अधिकृत (सीईओ) शत्रुहन पञ्जियारले जानकारी दिए ।

"हामीले काठमाडौं उपत्यकाका तीन जिल्लामा सेवा विस्तार गरेसँगै आइतबारदेखि पोखरमा पनि वाई-फाई नेपाल विस्तार गरेका छौं," सीईओ पञ्जियारले भने, "अब पोखरामा पनि नेपालकै सस्तो इन्टरनेट जडान गर्न सकिनेछ ।''

उनका अनुसार मासिक ३३३ रुपैयाँमा ५० एमबीपीस र मासिक पाँच सय रुपैयाँमा ८० एमबीपीएस इन्टरनेट प्याकेज खरिद गर्न सकिनेछ ।

५० एमबीपीएसको नयाँ इन्टरनेट जडान गर्नका लागि न्यूनतम तीन महिनाको शुल्क भुक्तानी गर्नुपर्ने हुन्छ । तीन महिने प्याकेजका लागि कुल तीन हजार १०० रुपैयाँ तिर्नुपर्ने हुन्छ, जसमा तीन महिनाको शुल्क ११ सय रुपैयाँ, तारको शुल्क ५०० रुपैयाँ र राउटरको शुल्क १५ सय रुपैयाँ लाग्नेछ ।

छ महिना र एक वर्षका लागि जडान गर्दा तारको शुल्क लाग्नेछैन । यसरी तीन महिनाका लागि वाई-फाई नेपालकाे ५० एमबीपीएस इन्टरनेट जडान गर्दा कुल तीन हजार १०० रुपैयाँ, छ महिनाका लागि तीन हजार ६०० रुपैयाँ र एक वर्षका लागि पाँच हजार ५०० रुपैयाँ लाग्नेछ ।

अर्कोतर्फ ८० एमबीपीएस इन्टरनेट स्पिड जडान गर्न तीन महिने प्याकेजका लागि तीन हजार ६०० रुपैयाँ लाग्छ, जसमा एक हजार ६०० रुपैयाँ तीन महिनाको इन्टरनेट शुल्क, ५०० रुपैयाँ तार शुल्क र एक हजार ५०० रुपैयाँ राउटर शुल्क समावेश हुन्छ ।

सुरुवातमा छ महिना वा एक वर्षको भुक्तानी गर्ने ग्राहकले तारको शुल्क तिर्नुपर्दैन । यसरी तीन महिनाका लागि ८० एमबीपीएस इन्टरनेट जडान गर्दा तीन हजार ६०० रुपैयाँ, छ महिनाका लागि चार हजार ७०० रुपैयाँ र एक वर्षका लागि सात हजार ५०० रुपैयाँ लाग्नेछ ।

इन्टरनेट जडान गर्न कम्पनीको फेसबुक पेज वा वेबसाइटमा गएर बुक गर्न सकिन्छ ।

पछिल्लो अध्यावधिक: माघ ३, २०७९ १७:४५