close

ट्राफिक नियम उल्लंघन गर्ने ८६ जना सवारी चालकको लाइसेन्स निलम्बन

टेकपाना टेकपाना

माघ ५, २०७९ ८:५३

ट्राफिक नियम उल्लंघन गर्ने ८६ जना सवारी चालकको लाइसेन्स निलम्बन

काठमाडौं । पाँच पटकभन्दा बढी ट्राफिक नियम उल्लंघन गर्ने ८६ जना सवारी चालकहरूको सवारी चालक अनुमति पत्र (लाइसेन्स) निलम्बन गर्ने भएको छ । विभिन्न समयमा पाँच पटकभन्दा बढी ट्राफिक नियम उलङ्घन गर्ने चालकको सवारी चालक अनुमति पत्र निलम्बनका लागि यातायात व्यवस्था विभाग पठाइएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएकाे छ ।

"सवारी तथा यातायात व्यवस्था ऐन २०४९ र नियमावली २०५४ बमोजिम चालकले पालना गर्नु पर्ने सर्त तथा नियमहरू पाँच पटकभन्दा बढी उल्लंघन गरेको पाइएकाले सोही ऐनको परिच्छेद ४ को दफा ६० बमोजिमको कसूर गरेको हुँदा सवारी चालक अनुमति पत्र निलम्बनका लागि यातायात व्यवस्था विभाग पठाइएको छ," कार्यालयले सार्वजनिक गरेको प्रेस विज्ञप्तिमा लेखिएको छ ।

निलम्बनका लागि पठाइएका सवारी चालक अनुमति पत्रमध्ये एक जना २९ पटक, एक जना २६ पटक, एक जना २४ पटक, एक जना २३ पटक, दुई जना १८ पटक, एक जना १७ पटक, दुई जना १६ पटक, दुई जना १५ पटक, दुई जना १३ पटक, तीन जना १४ पटक, चार जना १२ पटक, सात जना १० पटक, आठ जना ११ पटक, नौ जना नौ पटक, ११ जना ८ पटक, १३ जना ६ पटक र १८ जना ७ पटक ट्राफिक प्रहरीको कारबाहीमा परेका थिए ।

यसरी पाँच पटकभन्दा बढी कारबाहीमा परेका चालकको लाइसेन्स निलम्बनका लागि पठाइएको ट्राफिक प्रहरी कार्यलयले उल्लेख गरेको छ ।

ट्राफिक नियम उल्लङ्घन गरी रहने चालकहरूबाट धेरै सवारी दुर्घटना हुने गरेकोले सुरक्षित यात्राका लागि ट्राफिक नियम उल्लंघन नगरी सवारी साधन चलाउन कार्यालयले अनुरोध गरेको छ ।

 

 

पछिल्लो अध्यावधिक: माघ ५, २०७९ ९:१२