close

डार्क वेबमा उपलब्ध क्रेडिट कार्डको डेटाबाट ह्याकरले चोरे २० करोड रुपैयाँ

टेकपाना टेकपाना

माघ ५, २०७९ १२:११

डार्क वेबमा उपलब्ध क्रेडिट कार्डको डेटाबाट ह्याकरले चोरे २० करोड रुपैयाँ

काठमाडौं । डार्क वेबमा उपलब्ध क्रेडिट कार्डको डेटामार्फत ह्याकरले १५ लाख डलर अर्थात् करिब २० करोड रुपैयाँ चोरी गरेको पाइएको छ । डार्क वेबमा क्रेडिट कार्डको लगइन डिटेलसहित लाखौंको संख्यामा उपलब्ध डेटालाई दुरुपयोग गरी ह्याकरले प्रयोगकर्ताको बैंक खाताबाट रकम चाेरेका हुन् ।

अमेरिकाको न्याय विभागमा दर्ता भएको उजुरीका आधारमा यो तथ्य फेला परेको हो ।

अध्ययनका क्रममा​ 'ट्रेभर ओसाजी' नामका ह्याकरलाई पक्राउ गरी उनीविरुद्ध मुद्दा दायर गरिएको थियो, जसमा ओसाजीले सन् २०१५ देखि २०१८ को समय अवधिमा १५ लाख अमेरिकी डलरभन्दा बढी रकम क्रेडिट कार्डबाट चोर्न सफल भएको उल्लेख छ ।

यस प्रक्रियामा ओसाजीले करिब चार हजार व्यक्तिको अकाउन्टमार्फत यो रकम निकालेकाे बताइएकाे छ । अमेरिकी अदालतले उनलाई ३० वर्षको जेल सजायका साथै १० लाख अमेरिकी डलर जरिवाना गर्ने देखिएको छ । अन्तिम फैसला आउँदो मे महिनाको २५ तारिखमा हुनेछ ।

याे घटनामा थप ६ जना व्यक्तिहरू संलग्न रहेको जनाइएको छ । यसका लागि ह्याकरले डार्क वेबमा उपलब्ध कार्डको जानकारीमार्फत फ्लाइट टिकेट काट्नेदेखि महङ्गा सामान खरिद गर्नेसम्मका काम गर्थे ।

पछिल्लो अध्यावधिक: माघ ५, २०७९ १२:११