close

टेलिकमको सेवा अवरुद्ध भएकोमा कम्पनीका कर्मचारीलाई चिन्ता

टेकपाना टेकपाना

माघ ६, २०७९ ९:२६

टेलिकमको सेवा अवरुद्ध भएकोमा कम्पनीका कर्मचारीलाई चिन्ता

काठमाडौं । नेपाल टेलिकममा क्रियाशिल ट्रेड युनियनहरूले मङ्गलबार कम्पनीको सेवा अवरुद्ध भएकोप्रति चिन्ता जाहेर गरेका छन् । बुधबार टेलिकमका प्रबन्ध निर्देशक समक्ष ध्यानाकर्षण पत्र बुझाउँदै विभिन्न राजनीतिक दल निकट कर्मचारी युनियनहरूले यस्तो चिन्ता  व्यक्त गरेका हुन् । 

उनीहरूले संस्थागत सुधार, गुणस्तरीय र प्रभावकारी सेवा प्रवाह, सेवाग्राहीको हीत, संस्थागत सुशासन लगायतका विषयहरूमा कम्पनी व्यवस्थापनलाई आफूहरूले पटक पटक ध्यानाकर्षण गराउँदै आएको बताएका छन् । माघ ०३ गते अपरान्ह करिब १२:०० बजेदेखि टेलिकमका जीएसएम तथा पीएसटीएन सेवाहरू केही समय पूर्ण रुपमा अवरुद्ध भएका थिए ।

त्यसबाट सेवाग्राहीहरूले भोग्नु परेको सास्ती र कम्पनीले व्यहोरेको क्षतिप्रति कर्मचारी युनियनले आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएका हुन् । “मन्त्रिपरिषद्‌ विस्तार तथा नव नियुक्त सञ्चार तथा सूचना मन्त्री रेखा शर्माको शपथ ग्रहण कार्यक्रम रहेको महत्त्वपूर्ण समयमा कम्पनीका सेवाहरू अवरुद्ध हुनु सामान्य विषय होइन,” युनियनहरूले संयुक्त रूपमा बुझाएको ध्यानकर्षण पत्रमा भनिएको छ ।

कम्पनीका अवरुद्ध सेवाहरू हालसम्म पनि पूर्ण रुपमा चुस्त, दुरुस्त र नियमित हुन नसकेको भन्दै उनीहरूले कम्पनी व्यवस्थापनको कार्यशैली र कार्यक्षमता माथि गम्भीर प्रश्न खडा भएको समेत उल्लेख गरेका छन् । 

विगतमा पनि यस प्रकारका समस्याहरू आउने गरेको र त्यस्ता समस्या भविष्यमा आउन नदिन आन्तरिक रुपमा छानबिन समिति गठन भई प्रतिवेदन समेत तयार नभएका होइनन् । तर प्रतिवेदनको कार्यान्वयन एवम् दोषी उपर कारबाहीमा तदारुकता नदेखाएको कर्मचारी युनियनहरूको आरोप छ । “यसबाट सम्बन्धित पक्षमा कम्पनी प्रति जिम्मेवारी बोधको कमी देखिएको र दण्डहिनता बढेको हाम्रो ठहर छ,” युनियनहरूले भनेका छन् ।

उनीहरूले मङ्गलबारदेखि कम्पनीका जीएसएम मोबाइल तथा पीएसटीएन सेवाहरूमा समस्या देखिएको सन्दर्भमा कुन सिस्टम र के कस्ता कारणले समस्या देखिन गएको हो ? कम्पनिले के कति क्षति ब्यहोरेको छ ? यो कसको जिम्मेवारी र दायित्वको विषय हो ? जस्ता विषयमा प्रस्ट खोजबि हुनुपर्ने माग समेत कर्मचारी युनियनहरूले राखेका छन् । 

“आगामी दिनमा यस्ता समस्याहरु दोहरिन नदिन उचित ब्याकअप तथा रोकथामका मापदण्ड अपनाउन, विशेषज्ञ टिम तयार पारी आवश्यक कार्य अगाडि बढाउन र छानबिन गरी यस्ता कार्यमा दोषी देखिएमा दोषी उपर हदैसम्मको कारबाही गरी क्षतिपूर्ति असुलउपर गर्न जोडदार माग गर्दछौँ,” उनीहरूले भनेका छन् ।

यसका साथै युनियनहरूले देशभर सर्वसुलभ र भरपर्दो दूरसञ्चार सेवा पुर्‍याउनुपर्ने दायित्व बोकेको कम्पनीमा यस प्रकारका घटना बारम्बार नदोहरिने गरी सिस्टम र सेवाहरूको प्राविधिक परिक्षण गराउन समेत ध्यानाकर्षण गराएका छन् । 

कम्पनीका सञ्चालक समिति अध्यक्ष तथा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव र श्रम तथा रोजगार कार्यालय काठमाडौँलाई समेत ध्यानाकर्षण पत्र बोधार्थ रूपमा बुझाइएको थियो । जसमा एमाले निकट एनटीईएएनका मणिकुमार पोखरेल, काँग्रेस एनटीसीडब्लूयूका लोकेन्द्र पनेरू, काँग्रेसबाट अलग्गिएको एनटीईयूका हरिकृष्ण श्रेष्ठ र माओवादी निकट एईओएनका तेजबहादुर शाहीको हस्ताक्षर छन् ।

चारै जना हस्ताक्षरकर्ता सम्बन्धित कर्मचारी युनियनका महासचिव हुन् ।  

(शीर्षक सच्याइएको छ- सं.)

 

पछिल्लो अध्यावधिक: माघ ६, २०७९ १३:१७