close

टी-मोबाइलका साढे ३ करोड प्रयोगकर्ताको जानकारी लिक

टेकपाना टेकपाना

माघ ६, २०७९ १५:५

टी-मोबाइलका साढे ३ करोड प्रयोगकर्ताको जानकारी लिक

काठमाडौं । अमेरिकाको मोबाइल दूरसञ्चार कम्पनी टी-मोबाइलका तीन करोड ७० लाखभन्दा बढी प्रयोगकर्ताको डेटा अनलाइनमा लिक भएको छ । कम्पनी आफैंले प्रयोगकर्ताको डेटा लिक भएको जानकारी दिएको हो ।

कम्पनीका अनुसार ह्याकरले प्रयोगकर्ताको नाम, बिलिङ एड्रेस, ईमेल, फोन नम्बर, जन्ममिति, टी-मोबाइल अकाउन्ट नम्बर, प्रयोगकर्ताले लिएको प्याकेज लगायतका जानकारीमा पहुँच बनाएका छन् । यसमा गएको नोभेम्बर २५ तारिखदेखिको डेटा रहेको छ ।

ह्याकरले नोभेम्बरबाटै डेटामा पहुँच बनाएपनि कम्पनीले यही जनवरी ५ तारिखमा मात्रै यस विषयमा जानकारी पाएको हो । त्योसँगै उक्त समस्या समाधान गरी डेटालाई सुरक्षित गर्ने काम भइसकेको कम्पनीले दाबी गरेकाे छ ।

टी-मोबाइलका अनुसार ह्याकरले कम्पनीको कुनै पनि सिस्टममा क्षति भने पुर्‍याएका छैनन् । कम्पनीको एपमा रहेको बगमार्फत ह्याकरले प्रयोगकर्ताको डेटामा पहुँच बनाएको बताइएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार सन् २०१८ देखि हालसम्म टी-मोबाइल आठ पटक ह्याक भइसकेको छ ।

पछिल्लो अध्यावधिक: माघ ६, २०७९ १५:२३