close

चीन कसरी चोर्दैछ अमेरिकी प्रविधिका गोप्य रहस्य ?

टेकपाना टेकपाना

माघ ८, २०७९ १७:०

चीन कसरी चोर्दैछ अमेरिकी प्रविधिका गोप्य रहस्य ?

काठमाडौँ । त्यो एउटा सामान्य तस्वीर थियो, जसले जेङ्ग सियाओचिङको पतनको पटकथा लेखिदियो । जेङ्ग अमेरिकी कम्पनी जनरल इलेक्ट्रिक पावरका कर्मचारी थिए ।

अमेरिकी न्याय विभागको तर्फबाट लगाइएको आरोप अनुसार अमेरिकी नागरिक जेङ्ग सियाओचिङले आफ्नो कम्पनीबाट चोरिएका गोप्य फाइलहरूलाई अस्ताउँदै गरेको सूर्यको एक डिजिटल तस्वीरमा बाइनरी कोडको रूपमा लुकाएर राखेका थिए । त्यसपछि जेङ्ग सियाओचिङले उक्त तस्वीर स्वयम् आफैँलाई ई-मेल गरेका थिए ।

जेङ्गले जुन प्रविधिमार्फत गोपनीय जानकारी चोरी गरेका थिए, त्यसलाई स्टेगानोग्राफी भनिन्छ । जसमा कुनै डेटा फाइललाई कुनै अर्को डेटा फाइलमा कोडको रूपमा लुकाउने गरिन्छ ।

जेङ्गले जनरल इलेक्ट्रिकमार्फत संवेदनशील जानकारीहरू रहेको फाइल चोरी गर्नका लागि कयौँ पटक यो प्रविधिको प्रयोग गरेका थिए । जनरल इलेक्ट्रिक एक बहुराष्ट्रिय कम्पनी हो, जुन स्वास्थ्य, ऊर्जा र अन्तरिक्षको क्षेत्रमा ठूला उपलब्धिका लागि चिनिन्छ ।

यो कम्पनी फ्रिजदेखि लिएर हवाई जहाजको इन्जिनसम्म, सबै बनाउँछ । जेङ्गले जुन जानकारी कम्पनीबाट चोरी गरे, त्यो ग्यास तथा बाफबाट चल्ने टर्बाइन बनाउने डिजाइनसँग सम्बन्धित थियो ।

यसमा टर्बाइनको ब्लेड र त्यसको सिलसँग सम्बन्धित सूचना समेत सामेल थिए । करोडौँ डलरको प्राविधिक रहस्य जेङ्गले चीनमा आफ्ना साझेदारलाई पठाएका थिए । अमेरिकी कम्पनीबाट चोरिएका यी प्राविधिक रहस्यबाट चीनको सरकार, त्यहाँका विश्वविद्यालय र चिनियाँ कम्पनीहरूलाई फाइदा पुग्नेवाला थियो ।  

मूल्यवान प्राविधिक जानकारी चोरी गरेको आरोपमा जेङ्ग सियाओचिङलाई यही महिनाको सुरुवातमा दुई वर्षको कैद सजाय सुनाइएको थियो । जेङ्गको यो मामिला चीनले अमेरिकी प्राविधिक राज चोरी गर्ने लामो सिलसिलाको ताजा कडी हो, जसमा अमेरिकी अधिकारी तथा औद्योगिक जासुसी गर्ने विरुद्ध मुद्दा चलाइँदैछ ।

गत वर्ष नोभेम्बरमा पेसेवर जासुसी बताइएका चीनका नागरिक शु यानजुनलाई २० वर्ष कैदको सजाय सुनाइएको थियो । शुमाथिको अमेरिकी हवाई तथा अन्तरिक्ष उद्योगका कयौँ कम्पनीबाट प्राविधिक जानकारीहरू चोरी गरेको आरोप प्रमाणित भएको थियो ।

यी कम्पनीहरूमा जनरल इलेक्ट्रिक समेत रहेको छ । चीन प्राविधिक रहस्य हात पारेर आफ्नो अर्थव्यवस्थालाई शक्तिशाली बनाउन चाहन्छ । ताकि मौजुदा भू-राजनीतिक व्यवस्थालाई चुनौती दिन सकोस् ।

साथै अर्कोतर्फ अमेरिका पूरा शक्तिका साथ आफ्नो दबदबालाई चुनौती दिनसक्ने कुनै पनि देशलाई माथि उठ्नबाट रोक्ने प्रयास गरिरहेको छ । इकोनोमिक इन्टेलिजेन्स युनिटका निक मारो भन्छन् कि व्यावसायिक प्राविधिक रहस्य चोरी एक आकर्षक पेसा हो, किन कि यस्ता राज हासिल गरेर कुनै पनि देश विश्व मूल्य आधारित श्रृङ्खलामा छोटो समयमै लामो छलाङ लगाउन सक्छ र यसका लागि उसलाई पूर्णतया स्वदेशी प्रविधि विकास गर्नका लागि धेरै लगानी समेत गर्नु पर्दैन ।

यसको अर्थ समय र पैसा दुवैको बचत हुन्छ । गत वर्षको जुलाईमा एफबीआईका निर्देशक क्रिस्टोफर रेले लन्डनमा व्यावसायिक जगतका दिग्गज तथा विद्वानका अघि भनेका थिए कि चीनको लक्ष्य पश्चिमा देशहरूका कम्पनीहरूको बौद्धिक सम्पदामाथि लुट मच्चाउनु रहेको छ, जसबाट ऊ आफ्नो औद्योगिक विकासको गतिलाई तीव्र पार्न सकोस् र अन्ततः प्रमुख उद्योगमा आफ्नो दबदबा कायम राख्न सकोस् ।

क्रिस्टोफरले चेतावनी दिएका थिए कि चीन अहिलेको समयमा ठूला सहरदेखि साना गाउँसम्म फर्च्युन १०० कम्पनीदेखि लिएर स्टार्टअपसम्म, हवाई उद्योगदेखि आर्टिफिसियल इन्टेलिजेन्स र औषधी उद्योगसम्म निशाना लगाएर प्राविधिक रहस्य चोरी गर्ने कार्यमा जुटेको छ ।

त्यसताका चीनका विदेश मन्त्रालयका प्रवक्ता चाओ लिजियनले भनेका थिए कि क्रिस्टोफर रे चीनको छवि बिगारिरहेका छन् र उनको मानसिकता शीत युद्ध जस्तै छ । 

 

'चीन हाम्रो हैसियत कमजोर बनाउन खोजिरहेको छ'

 

जेङ्गको बारेमा अमेरिकाका डिपार्टमेन्ट अफ जस्टिसको बयानमा एफबीआईका एलन कोहलर जुनियरले भनेका थिए कि चीन, अमेरिकाको सोझोपन माथि हमला गरिरहेको छ र ऊ हामीलाई एक विश्व नेताको हाम्रो हैसियतबाट पछार्न चाहन्छ ।

जेङ्ग एक इन्जिनियर थिए । जसले टर्बाइन सिल गर्ने प्रविधिमा महारथ समेत हासिल गरेका थिए र उनी स्टिम टर्बाइन इन्जिनियरिङको क्षेत्रमा चुहावट रोक्ने कयौँ प्रविधिमा काम गरिरहेका थिए ।

अमेरिकाका डिपार्टमेन्ट अफ जस्टिसले भनेका छन् कि यस्तो सिलमार्फत टर्बाइनको कामको क्षमता निकै बढाउन सकिन्छ । चाहे त्यो टर्बाइनको शक्ति वा कुशलता वृद्धिको माध्यम होस् वा इन्जिनको प्रयोगको आयु बढाउने हिसाबले नै किन नहोस् ।

विमानलाई शक्ति दिने ग्यास टर्बाइन चीनको हवाई उद्योगको विकासको केन्द्रमा छ । चीनका अधिकारी विदेशी प्रविधिमाथि आफ्नो निर्भरता कम गर्ने तथा उनीहरूभन्दा अगाडि जानका लागि जुन दश उद्योगमा काम निकै ध्यान दिइरहेका छन्, त्यसमा अन्तरिक्ष तथा हवाई उद्योग समेत सामिल छन् ।

यद्यपि चीन आफ्नो औद्योगिक जासूसीको मार्फत कयौँ अन्य उद्योगलाई समेत निशाना बनाइरहेको छ । सिलिकन भ्याली स्थित परामर्शदाता कम्पनी कन्स्टलेसन रिसर्चका संस्थापक तथा सीईओ रे ब्याङ्गका अनुसार चीन औषधीको विकास तथा न्यानो टेक्नोलोजीको रहस्य चोरी गर्ने भरपूर कोसिस गरिरहेको छ ।

न्यानो प्रविधि निकै उन्नत स्तरको इन्जिनियरिङ तथा प्रविधि हुने गर्छ, जसको प्रयोग औषधी, कपडा र गाडीहरू बनाउने कार्यमा हुन्छ । रे ब्याङ्गले एक फर्च्युन १०० कम्पनीमा अनुसन्धान तथा विकास विभागको पूर्व प्रमुखसँगको एउटा किस्सा समेत सुनाए ।

उनले ब्याङ्गलाई बताएका थिए कि, 'उनी जुन व्यक्तिमाथि सबैभन्दा बढी भरोसा गर्दथे, ऊ उनको यति नजिक थियो कि दुवै बच्चा पनि सँगसँगै हुर्केका थिए-सोही व्यक्तिको बारेमा पछि थाहा भयो कि ऊ चीनको कम्युनिस्ट पार्टीबाट पैसा लिने गर्थ्यो र उनीहरूका लागि जासुसी गर्दथ्यो ।' ब्याङ्गले भने, "उनले मसँग भनेका थिए कि यस्ता जासुस हरेक स्थानमा भरिएका छन् ।"

निको मारो भन्छन् कि यसअघि जापान, दक्षिण कोरिया, ताइवान र सिङ्गापुर जस्ता देशबाट प्राविधिक रहस्य चोरी हुने चिन्ताको विषय थियो । तर जब ती देशका स्वदेशी कम्पनी बजारमा नयाँ प्रविधि लैजान लागियो, ती देशले आफ्नो बौद्धिक सम्पदा रक्षा गर्न सुरु गरे ।

यसका लागि ती सरकारहरूले समेत गोप्य प्राविधिक जानकारीहरू चोरी हुने मुद्दालाई गम्भीरताका साथ लिन थाले र त्यसलाई रोक्ने कानून बनाए । निक मारो भन्छन् कि, "पछिल्लो एक दशको दौरान जबदेखि चीनका कम्पनीहरू नयाँ नयाँ आविष्कारमा अगाडि निस्किन लागे, त्यसपछि नै घरेलू बौद्धिक सम्पदाका अधिकारहरूको रक्षाको प्रयासलाई मजबूत गर्ने कार्यमा तीव्रता देख्न थालिएको छ ।"

चीनले विदेशी कम्पनीहरूलाई आफ्नो बजारमा कारोबार गर्ने अनुमति दिँदा बदलामा उनीहरूसँग साझेदारी गरेको छ । र यस्ता सम्झौता अन्तर्गत विदेशी कम्पनीहरूसँग प्रविधि हासिल गरेको छ । चीनले यो बाटोबाट समेत प्राविधिक दक्षता हासिल गरेको छ । यस्ता आरोपहरू उठ्दा चीन सरकारले दबाब दिने आरोपहरूलाई सधैं इन्कार गर्दै आएको छ । 


 

ह्याकिङको सम्झौता एक मजाक हो

ह्याकिङ रोक्नका लागि विशेष किसिमले प्रयासहरू भइरहेका छन् । सन् २०१५ मा चीन र अमेरिकाले एक सम्झौता गरेका थिए, जस अन्तर्गत दुवै देशले बाचा गरेका थिए कि उनीहरू 'साइबर प्रविधिको सहयोगमा बौद्धिक सम्पत्ति चोरी गर्ने छैनन् ।

यसमा व्यवसाय वृद्धि हुने किसिमका गोप्य प्राविधिक जानकारी तथा अन्य व्यापारिक रहस्य समेत रहेका थिए ।' तर, त्यसको अर्को वर्ष अमेरिकाका राष्ट्रिय सुरक्षा एजेन्सीले चीनमाथि उक्त सम्झौता अलङ्घन गरेको आरोप लगाए ।

तर, अमेरिकाका एजेन्सीले यो कुरा समेत मानेका थिए कि सरकारी तथा व्यावसायिक डेटा चोरी गर्ने कार्यका लागि ह्याकिङका प्रयासमा नाटकीय रूपमा गिरावट देखिएको छ ।

पर्यवेक्षकहरूको बुझाई छ कि कूल मिलाएर उक्त सम्झौताको असर एकदमै थोरै मात्र रहन गयो । रे ब्याङ्ग भन्छन् कि, कडाइ पूर्वक लागू नगरिएका कारण सम्झौता एक मजाक बनेर रह्यो ।

चीनद्वारा अमेरिकाको साइबर जासुसी निकै व्यापक छ र उसले अमेरिकी प्रयोगशालासम्म घुसपैठ बनाइसकेको छ । ब्याङ्गले बीबीसीसँग बताएका थिए कि, "चीन, पश्चिमी विश्वको व्यावसायिक जगतको हरेक क्षेत्रमा निशाना लगाएर जासुसी गरिरहेको छ ।"

हालांकी, सिङ्गापुरको नेसनल युनिभर्सिटीका लिम ताई वेईले भनेका छन् कि चीनको साइबर जासूसीमा भएको बृद्धिलाई लिएर 'निश्चित रूपमा त्यस्तो कुनै अध्ययन भएको छैन, जसबाट चुनौती दिन सकियोस् ।'

लिम भन्छन्, "केही मानिसहरूको बुझाई छ कि चीनबाट अमेरिकाको साइबर जासुसी गर्ने कार्यमा कमी जरुर आएको थियो । तर चाँडै नै त्यो पुनः पुरानै स्तरमा पुग्यो । केही अन्य मानिसहरू ठान्छन् कि उक्त सम्झौता यसकारण असफल सावित भयो किन कि अमेरिका र चीनको सम्बन्ध नै निकै बिग्रिसकेको थियो ।"

यसैबीच अब अमेरिका सोझो रूपमा सेमिकन्डक्टरको अहम् उद्योगमा चीनको चमत्कारलाई रोक्ने प्रयास गरिरहेको छ । यो प्रविधि स्मार्टफोनदेखि लिएर युद्धका कयौँ प्रविधिसम्म, हरेक उद्योगको विकासको मेरुदण्ड हो ।

अमेरिकाको भनाई छ कि चीनलाई यो प्रविधि हात पर्नु, उसको (अमेरिका) राष्ट्रिय सुरक्षाका लागि खतरा हो । अक्टोबर महिनामा अमेरिकाले अहिलेसम्मकै व्यापक निर्यात प्रतिबन्धको घोषणा गरेको थियो ।

जसमार्फत अमेरिकी प्रविधि तथा सफ्टवेयर प्रयोग गरेर चिप बनाउने कम्पनीहरूलाई चीनमा  चिप निर्यात गर्नु परे अमेरिकाको लाइसेन्स लिनुपर्ने नियम बनाएको छ । साथै ती कम्पनी चाहे अमेरिकामा चिप बनाउन् वा विश्वका कुनै पनि अर्को स्थानमा ।

अमेरिकाले आफ्ना नागरिक तथा ग्रिनकार्डधारीलाई केही निश्चित चिनियाँ चिप कम्पनीहरूमा काम गर्न समेत रोक लगाएको छ । ग्रिनकार्डधारी, अमेरिकाका त्यस्ता स्थायी निवासी हुन्, जसलाई अमेरिकामा काम गर्ने अधिकार प्राप्त हुन्छ ।

निक मारो भन्छन् कि यस्ता उपायबाट चीनको प्राविधिक चमत्कारको गति केही हदसम्म अवश्य कम हुनेछ । तर, अमेरिका यी कदमबाट चीन आफ्नो प्राविधिक आपूर्ति श्रृङ्खलाबाट अमेरिकी तथा अन्य विदेशी उत्पादकलाई हटाउने प्रयास समेत तीव्र बनाइरहेको छ ।

उनी भन्छन्, "चीन पछिल्ला कयौँ वर्षदेखि यस्तो कोसिस गरिरहेको छ, जसमा अहिलेसम्म उसलाई कुनै खास सफलता हात लागिसकेको छैन । तर अमेरिकाको विद्यमान प्रतिबन्धपश्चात् अब चीनमाथि यी नीतिगत लक्ष्यलाई चाँडोभन्दा चाँडो हासिल गर्ने दबाब बढाइदिएको छ ।"

जहाँसम्म चीनको सवाल छ, ऊ पनि आफ्नो राष्ट्रिय सुरक्षाको हवाला दिइरहेको छ । यस्तोमा विश्वका दुई ठूला अर्थ व्यवस्थाका लागि प्राविधिक उन्नति कायम गर्ने होड अझै बढ्ने आशङ्का छ ।

तर, रे ब्याङ्गको बुझाई छ कि अहिले पनि वृद्धि अमेरिकाले नै हासिल गरिरहेको छ । उनी भन्छन्, "साइबर सुरक्षा क्षेत्रका मेरा साथीहरू भन्छन् कि जब उनीहरू चीनका वेबसाइटहरू ह्याक गर्छन्, त्यहाँ उनीहरूलाई जुन उपयोगी लायक एक मात्र प्रविधि मिल्छ, त्यो अमेरिकाकै बौद्धिक सम्पत्ति हो ।" 

 

बीबीसीबाट

पछिल्लो अध्यावधिक: माघ ८, २०७९ १७:७