close

रिटेल पेमेन्ट स्विचमार्फत छ महिनामै १८ खर्बको कारोबार

टेकपाना टेकपाना

माघ ८, २०७९ १८:५१

रिटेल पेमेन्ट स्विचमार्फत छ महिनामै १८ खर्बको कारोबार

काठमाडौं । नेसनल पेमेन्ट स्विच अन्तर्गतको रिटेल पेमेन्ट स्विच (आरपीएस) मार्फत चालू आर्थिक वर्ष २०७९/८० को पुस मसान्तसम्म १८ खर्ब बराबरको भुक्तानी कारोबार फर्छ्यौट भएको छ । नेपाल क्लियरिङ हाउसले आरपीएसमार्फतको कारोबार यस वर्ष ३१ प्रतिशतले वृद्धि भएको जनाएको छ । 

त्यसैगरी कारोबार सङ्ख्याको आधारमा गत आर्थिक वर्ष भन्दा २५ प्रतिशतले वृद्धि भएको हो । रिटेल पेमेन्ट स्विचमार्फत हाल दैनिक औसत १३ अर्ब ३० करोड रुपैयाँ बराबरको भुक्तानी कारोबार फर्छ्यौट हुने गरेको छ ।

जस अन्तर्गत ६० प्रतिशत बराबरको कारोबार नेसनल पेमेन्ट इन्टरफेस (एनपीआई) मार्फत हुने गरेको छ । नेसनल पेमेन्ट स्विचअन्तर्गतको आरपीएस मार्फत विभिन्न रिटेल प्रणाली तथा उपकरणहरू बीच अन्तरआवद्धता कायम गरिएको छ ।

जसअन्तर्गत फण्ड ट्रान्सफर तथा विभिन्न भुक्तानीहरू बैङ्क तथा वित्तीय संस्थाको मोबाइल बैंकिङ, वालेटहरू, कनेक्ट आईपीएसको वेब, मोबाइल एप तथा गेट-वे, कर्पोरेट-पे प्रणाली तथा कुनै पनि संस्थाको आफ्नो प्रणालीसँग जोड्न सकिने ओपन एपीआई उपलब्ध छन् ।

आरपीएसअन्तर्गत बैङ्क तथा वित्तीय संस्था, भुक्तानी सेवा प्रदायक, भुक्तानी प्रणाली सञ्चालक, सरकारी निकाय तथा विभिन्न सङ्घ संस्थाहरू एनपीआई मार्फत आबद्ध भई भुक्तानी कारोबार गर्दै आएका छन् । 

ओपन एपीआई प्लेटफर्मको रुपमा सञ्चालनमा रहेको एनपीआईले आरपीएसँग इन्टिग्रेट गरी विभिन्न भुक्तानी प्रणाली तथा अन्य बैङ्किङ सेवाहरू प्राप्त गर्न सक्छ । आरपीएअन्तर्गत हालै भीपीएमा आधारित भुक्तानी, रिक्वेस्ट टु पे, ई-म्यान्डेटमा आधारित भुक्तानी, अन्तरआबद्ध नेपाल-पे क्यूआर, बिलर गेट-वे, वालेट अन्तरआबद्धता तथा पीएसओ सेटलमेन्ट लगायतका विभिन्न उपकरणहरू उपलब्ध छन् ।  

आरपीएसमा हाल ५५ ओटा बैङ्क तथा वित्तीय संस्था सदस्यका रुपमा आबद्ध छन् । भुक्तानी कारोबार गरिने च्यानलको आधारमा प्रति कारोबार २० लाख रुपैयाँसम्मको भुक्तानी तथा सोही बैंक वित्तीय संस्थाको हकमा एक करोड रुपैयाँ सम्मको भुक्तानी कारोबार गर्न सकिन्छ ।

आपीएसअन्तर्गत रहेको कनेक्ट आईपीएसको वेब मार्फत प्रति कारोबार २० लाख रुपैयाँ सम्म र मोबाइल एपमार्फत प्रति कारोबार दुई लाख रुपैयाँसम्मको कारोबार गर्न मिल्छ । बैङ्क तथा वित्तीय संस्थाका ग्राहकहरूले कनेक्ट आईपीएसमा आफ्ना एक वा सो भन्दा बढी बैङ्क खाताहरू लिङ्क गरी एउटै प्लेटफर्म मार्फत भुक्तानी गर्न सक्छन् ।  

पछिल्लो अध्यावधिक: माघ ८, २०७९ १९:२७