काठमाडौं । अब ट्वीटरमा पनि आफूले फलो गरेका व्यक्तिको मात्र ट्वीट हेर्न सकिने भएको छ । ट्वीटरका मालिक एलन मस्कले शनिबार एक ट्वीट गर्दै आफूले फलो गरेका व्यक्तिको मात्र ट्वीट हेर्न सकिने फिचर सार्वजनिक गरेका हुन् ।
हाल यो फिचर वेब भर्सनमा मात्र उपलब्ध छ । तर, मोबाइलमा पनि म्यानुअल्ली यो फिचर लागू गर्न सकिन्छ । यसअघि यो फिचर टिकटक र फेसबुकले ल्याइसकेका छन् ।
सजेसनका रूपमा फिडमा देखिने अनावश्यक पोस्टबाट प्रयोगकर्तालाई मुक्ति दिन सामाजिक सञ्जाल कम्पनीले यो फिचर ल्याइरहेका छन् ।
ट्वीटरको मोबाइल एपमा आफूले फलो गरेका व्यक्तिको मात्र ट्वीट हेर्न यो प्रक्रिया अपनाउनुहोस्:
१. सबैभन्दा पहिले मोबाइलमा ट्वीटर एप खोल्नुहोस् ।
२. त्यसपछि माथि दायाँपट्टि रहेको प्रोफाइलको आइकनमा क्लिक गर्नुहोस् ।
३. अनि, लिस्टको अप्सनमा जानुहोस् ।
४. यति गरेपछि तल दायाँपट्टि रहेको प्लसको आइकनमा ट्याप गर्नुहोस् ।
५. आफूले बनाउन लागेको लिस्टको नाम राख्नुहोस् ।
६. यति गरेपछि तल रहेको क्रियटको अप्सनमा ट्याप गर्नुहोस् ।
७. त्यसपछि अर्को पेज खुल्छ जहाँ तपाईँले उक्त लिस्टमा राख्न चाहेका ट्वीटर ह्याण्डल सर्च गर्नुपर्ने हुन्छ ।
८. र, तल रहेको डन (Done) को अप्सनमा ट्याप गर्नुहोस् ।
९. अनि ब्याक जानुहोस्, र योर लिस्टमा आफूले तयार पारेको लिस्टको छेउमा रहेको पिनको अप्सनमा ट्याप गर्नुहोस् ।
१०. यति गरेपछि फिडमा होम र तपाईँले तयार पारेको लिस्ट देखिन्छ ।