close

वैज्ञानिकहरूलाई नेपालमै काम गर्ने वातावरण मिलाइन्छ: मन्त्री शिशिर खनाल

टेकपाना टेकपाना

माघ १०, २०७९ १२:३७

वैज्ञानिकहरूलाई नेपालमै काम गर्ने वातावरण मिलाइन्छ: मन्त्री शिशिर खनाल

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनालले वैज्ञानिकहरूलाई नेपालमै काम गर्न वातावरण मिलाउने प्रतिबद्धता जनाएका छन् ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा-प्रतिष्ठान (नास्ट)ले मंगलबार आयोजना गरेको 'पहिलो राष्ट्रिय नवप्रवर्तन सम्मेलन'मा बोल्दै मन्त्री खनालले अबको भविष्य प्रविधि नै भएको हुँदा यो क्षेत्रमा नेपालले गर्नुपर्ने काम धेरै बाँकी रहेको धारणा राखे ।

''विश्वले प्रविधिमा धेरै ठूलो फड्को मारिरहँदा नेपालमा अझै पनि कुल जनसंख्यामध्ये ३८ प्रतिशतमा मात्र पूर्ण रुपमा इन्टरनेट (फिक्स्ड)को पहुँच पुगेको छ,'' उनले भने, ''हामीले हाम्रो देशको 'ग्राउन्ड रियालिटी' बारेमा बुझेर समाजलाई कस्तो प्रकारको प्रविधि आवश्यक छ भन्ने पत्ता लगाएर सोही अनुरुप काम गर्नुपर्ने हुन्छ ।''

साथै हरेक दिन रोजगार तथा अध्ययनका लागि विदेशिएका युवालाई नेपालमै बसेर नयाँ प्रविधि तथा नवप्रवर्तनसँग सम्बन्धित काममा संलग्न गराउनुपर्नेमा उनले जोड दिए ।

''दैनिक हजारौं युवा विदेशिएको अवस्थामा हामीले उनीहरूलाई नेपालमा नै बस्ने आधार दिन सक्नुपर्छ । साथै यस्ता युवालाई देशमै नवप्रवर्तनको क्षेत्रमा परिचालन गर्न सक्नुपर्छ,'' उनले भने, ''यसका लागि हामी काम गरिरहेका छौं । हाम्रा वैज्ञानिकलाई यहीँ नै बसेर काम गर्ने वातावरण तयार पार्नेछौं ।''

पछिल्लो अध्यावधिक: माघ १०, २०७९ १२:५१