close

अब सातै प्रदेशमा अनलाइनमार्फत सबै खाले श्रम स्वीकृति लिन सकिने

टेकपाना टेकपाना

माघ १०, २०७९ १३:३२

अब सातै प्रदेशमा अनलाइनमार्फत सबै खाले श्रम स्वीकृति लिन सकिने

काठमाडौं । अब सातै प्रदेशका श्रम तथा रोजगार कार्यालयबाट अनलाइनमार्फत सबै खाले श्रम स्वीकृति लिन सकिने भएको छ ।

हालै कर्णाली र सुदूरपश्चिम प्रदेशमा पनि सेवा विस्तार भएसँगै संस्थागत र व्यक्तिगत अनलाइन श्रम स्वीकृतिका लागि काठमाडौं आउनुपर्ने झन्झटको अन्त्य भएको छ ।

यसअघि अन्य पाँच प्रदेशका श्रम तथा रोजगार कार्यालयमार्फत यस्तो सेवा सञ्चालनमा ल्याइएको थियो । यसअन्तर्गत काठमाडौँको ताहाचलमा रहेको वैदेशिक रोजगार कार्यालयसँगै बुटवल, पोखरा, विराटनगर र जनकपुरमा रहेका श्रम तथा रोजगार कार्यालयबाट सबै खाले श्रम स्वीकृति अनलाइनबाटै लिन मिल्ने व्यवस्था गरिएको छ । 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गत वैशाखमा व्यक्तिगत श्रम स्वीकृति र वैधानिकीकरण मार्फत हुने श्रम स्वीकृतिको काम समेत अनलाइनमार्फत प्रदान गर्ने निर्णय गरेको थियो ।

सोही निर्णय अनुसार वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (एफईआईएमएस) मा आवश्यक परिमार्जन गरी सेवा सञ्चालनमा ल्याइएको मन्त्रालयले जनाएकाे छ ।

पछिल्लो अध्यावधिक: माघ १०, २०७९ १३:३२