close

सञ्चारमन्त्रीसँग केबल टिभी व्यवसायीले भने- माग पूरा नभए व्यवसायको ताला बुझाउन बाध्य हुन्छौँ

टेकपाना टेकपाना

माघ १०, २०७९ १४:४४

सञ्चारमन्त्रीसँग केबल टिभी व्यवसायीले भने- माग पूरा नभए व्यवसायको ताला बुझाउन बाध्य हुन्छौँ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मालाई भेट्दै केबल टेलिभिजन व्यवसायीहरूले आफ्नो माग सुनुवाइ नभए व्यवसायको तालाचाबी बुझाउन बाध्य हुने चेतावनी दिएका छन् । ​मंगलबार मन्त्री शर्मालाई ज्ञापनपत्र बुझाउँदै केबल व्यवसायीहरूले यस्तो चेतावनी दिएका हुन् ।

केबल व्यवसायीहरूको संरक्षण र प्रवर्द्धन गर्न नेपाल सरकारको नीति तथा कार्यक्रम, कानून कार्यान्वयन गर्ने, गराउने एवं सरोकार राख्ने सम्बद्ध सरकारी निकायहरू नै उदासीन भएको उनीहरूको आरोप छ ।

ज्ञापनपत्रमा नेपाल विद्युत प्राधिकरणले देशका विभिन्न स्थानका केबल व्यवसायीहरुको केबलको तार काट्ने, केबल उपकरण जफत गर्ने, विद्युत आपूर्ति बन्द गर्नेजस्ता काम गरिरहेको भन्दै तत्काल यस्ता 'गैरकानूनी कार्य' बन्द गराउन माग राखिएको छ ।

विद्युतीय पोल प्रयोग तथा सोको भाडा भुक्तानी एवं उपयोग सम्बन्धमा सिफारिस गर्न गठित समितिको प्रतिवेदन तत्काल कार्यान्वयन गरी केबल व्यवसायीको हकमा साविक मिति २०७५ श्रावण पूर्वको नै पोल भाडा दर कायम गरिनुपर्नेमा केबल टिभी व्यवसायीहरूकाे जाेड छ । 

त्यस्तै उनीहरूले इन्टरनेट प्रदायकको निःशुल्क आईपीटिभी सेवा बन्द गराउन पनि माग राखेका छन् । इन्टरनेट सेवाप्रदायकले इन्टरनेटको नाममा आईपीटिभी सेवा निःशुल्क गरी बन्डलिङ प्याकेज बनाएर बिक्री वितरण गरिरहेको भन्दै केबल टिभी व्यवसायीहरूले त्यस्ता कार्यमा तत्काल रोक लगाउन मन्त्री शर्माकाे ध्यानाकर्षण गराए ।  

इन्टरनेट र आईपीटिभीको नाममा ओभर दी टप (ओटीटी), मोबाइल एप्स तथा सामाजिक सञ्जालमार्फत गैरकानूनी रुपमा प्रसारण भइरहेकाे भन्दै त्यस्ता कार्यक्रम बन्द गर्न उनीहरूले माग राखेका छन् । 

त्यस्तै आईपीटिभी प्रदायकहरुले डाउनलिङ्किङ अनुमतिप्राप्त लिनियर कन्टेन्ट तथा स्वदेशी इजाजतपत्र प्राप्त च्यानलहरू मात्र प्रसारण गर्न पाउने कानूनको कडाइका साथ पालना गराउन पनि केबल टिभी व्यवसायीले ध्यानाकर्षण गराए । 

साथै निःशुल्क आईपीटिभीको नाममा वर्षौंदेखि राष्ट्रिय प्रसारण ऐन, २०४९ विपरीत गैरकानूनी रुपमा टेलिभिजन कार्यक्रम प्रसारण गरिरहेका इन्टरनेट सेवाप्रदायकमार्फत गरिएको प्रसारण तत्काल बन्द गराई त्यस्ता आईएसपीहरुसँग हालसम्मको प्रसारण तथा वितरण शुल्क र जरिवाना असुल गर्नुपर्ने, अन्यथा केबल व्यवसायीहरुले हालसम्म बुझाइसकेको प्रसारण तथा वितरण शुल्क समेत फिर्ता गर्न माग गरिएकाे छ । 

सोमबार सम्पन्न केबल टिभी व्यवसायीहरूको राष्ट्रिय भेलाले गरेका निर्णयअनुरुप आफ्ना माग पूरा गराउन व्यवसायीहरूले सञ्चार तथा सूचना प्रविधिमन्त्री शर्मालाई ज्ञापनपत्र बुझाएका हुन् ।

पछिल्लो अध्यावधिक: माघ १०, २०७९ १५:२