close

नेपाल र भारतबीच क्यूआर भुक्तानीका लागि थप सहकार्यको आवश्यकता छ: गभर्नर

टेकपाना टेकपाना

माघ ११, २०७९ ९:३१

नेपाल र भारतबीच क्यूआर भुक्तानीका लागि थप सहकार्यको आवश्यकता छ: गभर्नर

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपाल र भारतबीच सहज भुक्तानीका लागी एकअर्काको क्यूआर स्वीकार गर्ने प्रणाली लागू गर्न दुई देशले सहकार्य गर्नुपर्ने कुरालाई जोड दिएका छन् ।

नेपाल स्थित भारतीय राजदूतावासले नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चसँगको सहकार्यमा आयोजना गरेको कार्यक्रम 'भारत-नेपाल स्टार्टअप कनेक्ट' मा बोल्दै उनले अन्तरदेशीय भुक्तानी प्रणालीलाई क्यूआर सेवा मार्फत सहज बनाउनु पर्ने कुरा अघि सारेका हुन् । 

कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले दुई देशबिचको वित्तीय सहकार्यलाई प्रबर्द्धन गरिनुपर्ने बताएका थिए । 'अन्तरदेशीय भुक्तानी कारोबार तथा क्यूआर भुक्तानी कारोबार वित्तीय सहकार्य क्षेत्रको प्रारुप हो,' उनले भने, 'भारत र नेपालबीच वित्तीय तथा प्रविधिको क्षेत्रमा थप सहकार्य आवश्यक छ ।' 

कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव बाबुराम गौतम लगायत अन्य सरोकारवालाहरूको पनि उपस्थिति थियो । कार्यक्रममा भारत र नेपालले स्टार्टअप प्रबर्द्धनका लागि कसरी सहकार्य गर्न सक्छ भन्ने कुरामा पनि छलफल गरिएको थियो । 

पछिल्लो अध्यावधिक: माघ ११, २०७९ ९:३१