close

कनेक्ट आईपीएसमार्फत गरिने सरकारी राजस्व भुक्तानीको कारोबार शुल्क घट्यो

टेकपाना टेकपाना

माघ ११, २०७९ १६:२४

कनेक्ट आईपीएसमार्फत गरिने सरकारी राजस्व भुक्तानीको कारोबार शुल्क घट्यो

काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेडले आफ्ना आरपीएस/कनेक्ट आईपीएसका माध्यमबाट गरिने सरकारी राजस्व भुक्तानी तथा विभिन्न अन्य भुक्तानीहरुको कारोबार शुल्क घटाएको छ ।

आरपीएसमार्फत मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, कनेक्ट आईपीएस, कर्पोरेटपे एवम् बैंक वित्तीय संस्थाको शाखाबाट रियल-टाइममा गरिने सरकारी तथा स्थानीय भुक्तानीहरुमा अब १० हजार रुपैयाँसम्मको भुक्तानीमा रु.२ र सोभन्दा माथि रु. २० लाख रुपैयाँसम्मको भुक्तानीमा रु. ५ कारोबार शुल्क लागू गरिएकाे छ ।

हाल एनसीएचएलका वालेट एपमार्फत सरकारी राजस्व भुक्तानी गर्न सकिन्छ । भुक्तानी गर्न चाहने व्यक्ति वा संस्थाले यी विभिन्न अनलाइन माध्यममार्फत वा कुनै पनि बैंक वित्तीय संस्थाको शाखामा गई राजस्व भुक्तानी गर्न सक्दछन् ।

चालू आर्थिक वर्षको पहिलो ६ महिनामा एनसीएचएलका विभिन्न च्यानलमार्फत सरकारी राजस्व भुक्तानीका ११४ अर्ब रुपैयाँ बराबरका नाै लाख ७० हजारभन्दा बढी भुक्तानी कारोबारहरू भएका छन् ।

एनसीएचएलले गत पाँच वर्षदेखि सरकारी भुक्तानीहरु डिजिटलाइज गर्न सरकारी निकाय सँग समन्वय गर्दै आएको छ भने गत आर्थिक वर्ष लगभग २० प्रतिशत जति राजस्व संकलन अनलाइन माध्यमबाट गराउन पनि सफल भइसकेको छ ।

सरकारी राजस्व संकलनका निम्ति विभिन्न निकायमा कनेक्ट आईपीएस गेटवेको रुपमा पनि जोडिएको छ । हालै सो गेटवेमा मोबाइल बैंकिङ वा वालेट एपमार्फत पनि स्क्यान गरी भुक्तानी गर्न सकिने गरी नेपाल पे क्यूआर जडान गरिएको छ ।

भुक्तानीकर्ताले सरकारी राजस्व संकलन गर्ने निकायहरुका वेबसाइटबाट प्राप्त भएको कारोबार संकेत नम्बरको आधारमा आरपीएससँग जोडिएका मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, वालेटको एप, कनेक्टआईपीएसको वेबसाइट वा मोबाइल एप, कर्पोरेटपे तथा बैंक वित्तीय संस्थाको शाखाहरु मार्फत सो भुक्तानी गर्न सक्दछन् ।

पछिल्लो अध्यावधिक: माघ ११, २०७९ १६:४१