close

मर्कन्टाइलको पुमोरी इन्फोडेभलपर्समा मर्ज

टेकपाना टेकपाना

माघ ११, २०७९ १७:४०

मर्कन्टाइलको पुमोरी इन्फोडेभलपर्समा मर्ज

काठमाडौँ । नेपालकै पुरानोमध्येको एक मर्कन्टाइल अन्तर्गतकाे पुमोरी प्रोडक्ट इन्फोडेभलपर्समा मर्ज भएको छ । दुवै कम्पनीहरूले संयुक्त रुपमा बुधबार ललितपुरस्थित होटल हिमालयमा पत्रकार सम्मेलन आयोजना गर्दै सहकार्यको घोषणा गरेका हुन् ।

मर्जरको भ्यालुएसन रकम भने खुलाइएको छैन । पत्रकार सम्मेलनमा इन्फोडेभलपर्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा संस्थापक उमेश रघुवंशीले बैंकहरूमा प्रयोग हुने सम्पूर्ण आवश्यक सफ्टवेयरका लागि अब विदेशीको मुख ताक्नुनपर्ने बताए ।

''हामी नेपालमै अन्तर्राष्ट्रिय स्तरका बैंकिङ सफ्टवेयर विकास गर्न सक्षम भइसकेका छौँ,'' उनले भने ।

रघुवंशीले अबका दिनमा आफूहरूले आउटसोर्सिङ मात्र नभएर सफ्टवेयर उत्पादनहरुको इनसोर्सिङ गर्ने योजनासमेत रहेको सुनाए । मर्कन्टाइल कम्युनिकेसनका सफ्टवेयर निर्देशक सुरेन्द्र सिद्धि बज्राचार्यले बजारको आवश्यकता अनुसार एआईमा आधारित सफ्टवेयर विकास गर्ने योजना रहेको सुनाए ।

मर्जरसँगै मर्कन्टाइलको पुमोरी सफ्टवेयर कम्पनी, त्यसमा संलग्न जनशक्ति र कम्पनीको नाममा रहेको सम्पूर्ण बौद्धिक अधिकार इन्फोडेभलपर्समा गाभिएको छ । मर्कन्टाइलकाे सफ्टवेयर डिभिजनमा काम गर्ने ५५ जना कर्मचारीसहित कम्पनी मर्ज भएकाे साे अवसरमा जानकारी दिइयाे ।

मर्ज भएसँगै इन्फोडेभलपर्स एमओएस प्रालि नामक नयाँ कम्पनीबाट पुमोरी सफ्टवेयरको व्यवस्थापन तथा सेवा प्राप्त हुनेछ । नयाँ कम्पनीको अध्यक्षमा सञ्जीव राजभण्डारी नियुक्त भएका छन् भने सीईओमा उमेश रघुवंशी र सह-सीईओमा सुरेन्द्र बज्राचार्य नियुक्त भएका छन् । 

मर्कन्टाइलले विकास गरेको फ्ल्यागशिप कोर बैंकिङ सोलुसन पुमोरी नेपालकै चर्चित बैंकिङ सफ्टवेयर हो । यसले नेपाली बैंकिङ क्षेत्रका साथै अन्तर्राष्ट्रिय बैंकिङ संस्था तथा वित्तीय संस्थाहरुलाई विगत ३२ वर्षदेखि सेवा पुर्‍याउँदै आएको छ ।

पछिल्लो अध्यावधिक: माघ ११, २०७९ १८:०