close

दैनिकीलाई सहज बनाउन यसरी प्रयोग गर्नुहोस् च्याटजीपीटी

टेकपाना टेकपाना

माघ १२, २०७९ ९:४

दैनिकीलाई सहज बनाउन यसरी प्रयोग गर्नुहोस् च्याटजीपीटी

काठमाडौँ । ओपनएआईको उत्पादन च्याटजीपीटी सार्वजनिक भएको छोटो समयमै ठूलो सङ्ख्यामा प्रयोगकर्ता पाउने एप हो । यसलाई हरेक क्षेत्रका मानिसहरूले प्रयोग गरिरहेका छन् । 

विशेषगरी यसमा विज्ञ मानिसको शैलीमा उत्तर दिनसक्ने क्षमता छ । जसले गर्दा पछिल्लो समय यसको दुरुपयोग पनि हुन थालेको छ । यद्यपि यसका केही यस्ता फाइदाहरू पनि छन् जसले हाम्रो दैनिकीलाई सहज बनाउन मद्दत गर्छ । 

१) ईमेल लेख्न

यदि तपाईँ एउटा ईमेल लेख्न धेरै समय खर्च गर्नुहुन्छ र तपाईँलाई ईमेल कसरी लेखिन्छ भन्ने विषयमा धेरै जानकारी छैन भने च्याटजीपीटी तपाईँका लागि उपयुक्त प्लेटफर्म हो । तपाईले कसका लागि किन ईमेल लेख्न लाग्नु भएको भन्ने जानकारी दिनासाथ च्याटजीटीले उपयुक्त ईमेल तयार पार्न सक्छ ।

२) थोरै सयमा धेरै कुरा पढ्न

कहिलेकाहीँ तपाईँलाई थोरै समयमा धेरै कुरा पढ्नुपर्ने हुन्छ । विशेषगरी कुनै कार्यक्रममा सहभागी हुँदा धेरै डकुमेन्ट थोरै समयमा पढ्नुपर्ने हुन्छ । डकुमेन्टमा भएका कुरा च्याटजीपिटीमा पेस्ट गरेर उक्त लेखको निष्कर्ष निकाल्न भनेको खण्डमा च्याटजीपीटीले तत्कालै महत्त्वपूर्ण कुराहरू समेटेर निष्कर्ष तयार पार्छ ।

३) आफ्नै कागजातको निष्कर्ष निकाल्न

कहिलेकाहीँ तपाईँले लामो लेख लेख्नुभएको हुनसक्छ । त्यस्तो अवस्थामा आफ्नै लेखको निष्कर्ष निकाल्न च्याट जीपीटीको प्रयोग गर्न सकिन्छ । विशेषगरी केही छुटेका विषय फेला पार्न वा थप गर्नुपर्ने कुरा थाहा पाउन च्याट जीपीटीको प्रयोग गर्न सकिन्छ । त्यस्तै तपाईँले लेखेको लेखलाई आकर्षक र रोचक बनाउन पनि च्याट जीपीटी उपयुक्त हुन्छ ।

४) कोडको रिभ्यु गर्न

यदि तपाईँ कोडिङ गर्नुहुन्छ भने च्याटजीपीटी तपाईँका लागि नजिकको साथी बन्न सक्छ । आफूले लेखेका कोडमा भएका कमजोरी फेला पार्न, सुधार गर्नुपर्ने विषयबारे थाहा पाउन च्याटजीपीटीको सहयोग लिन सकिन्छ ।

५) कागजात अनुवाद गर्न

यदि तपाईँ कुनै अनुसन्धानकर्ता हो भने रिसर्च पेपर अनुवाद गर्नुपर्ने हुनसक्छ । आफूले नबुझ्ने भाषामा लेखिएका रिसर्च पेपरलाई आफूले बुझ्ने भाषामा अनुवाद गर्न सकिन्छ । त्यस्तै कुनै लामो रिसर्च पेपर फेला पार्नुभयो र सो पेपर आफ्ना लागि उपयुक्त हुन्छ वा हुँदैन भन्ने जाँच गर्न च्याटको प्रयोग गर्नुहोस् ।

६) सही तरिकाले पढ्न

यदि तपाईँ विद्यार्थी हो भने च्याटजीपीटीलाई आफ्नो पढाइका लागि प्रयोग गर्न सक्नुहुन्छ । उदाहरणका लागि मानौं तपाईँले एक साँझभर नेपालको इतिहासबारे अध्ययन गर्नुभयो । आफूले पढेको कत्तिको प्रभावकारी छ भन्ने पत्ता लगाउन च्याटजीपीटीलाई १० वा १५ ओटा जटिल प्रश्नहरू लेख्न लगाउनुहोस् । त्यसपछि ती प्रश्नको उत्तर दिन सक्नुभयो भने आफूले प्रभावकारी रूपमा पढेको निष्कर्ष निकाल्न सक्नुहुन्छ ।

७) कन्टेन्ट तयार पार्न

कन्टेन्ट क्रियटरका लागि च्याटजिपीटीलाई बरदान नै मान्न थालिएको छ । यदि तपाईँ कन्टेन्ट क्रियटर हो भने आफूले कुन विषयमा कन्टेन्ट बनाउँदा राम्रो हुन्छ, कस्तो कन्टेन्ट बनाउन सकिन्छ भन्ने विषयमा च्याटजीपीटीको सहयोग लिन सक्नुहुन्छ । तर कन्टेन्ट लेख्न लगाउँदा भने सबै अवस्थामा च्याटजीपीटीले सही उत्तर नदिने विज्ञहरू बताउँछन् । त्यसैले च्याटजीपीटीलाई कन्टेन्ट लेख् लगाए पनि आफैले पुनः लेखन गर्नुपर्छ ।

८) आफ्नो एक्लोपनको साथी बनाउनुहोस्

यदि तपाईँ आफ्ना भावना बाँड्न र त्यसबाट उपयुक्त सुझावको अपेक्षा गरिरहनु भएको छ भने च्याटजीपीटी तपाईँको नजिकको साथी बन्न सक्छ । आफूले सामना गरिरहेको अवस्थाको बारेमा जानकारी दिनुहोस् । र आफूलाई के आवश्यक छ भन्ने कुरा खुलाउनुहोस् । त्यसपछि च्याटजीपीटीले मानिसकै शैलीमा उपयुक्त सुझावहरू दिन्छ । यस्ता सुझावले तपाईँलाई एक्लोपनबाट मुक्ति दिलाउन सक्छ ।

 

 

पछिल्लो अध्यावधिक: माघ १२, २०७९ १२:५७