close

टेकपानामा समाचार प्रकाशित भएपछि बन्द भयो नेपाली पोर्न वेबसाइट

हिक्मत आचार्य हिक्मत आचार्य

माघ १३, २०७९ ८:५८

टेकपानामा समाचार प्रकाशित भएपछि बन्द भयो नेपाली पोर्न वेबसाइट

काठमाडौं । नेपाली डोमेन डटएनपी (.np) मै खुलेआम सञ्चालनमा रहेको पोर्न वेबसाइट काण्ड डटकम डटएनपी बन्द भएको छ । गएको मङ्गलबार टेकपानामा उक्त वेबसाइटबारे समाचार प्रकाशन भएपछि सञ्चालकले आफैँले वेबसाइट बन्द गरेका हुन् ।

यद्यपि तत्काललाई वेबसाइटमा भएका सामग्री लुकाइएको भए पनि वेबसाइट जुनसुकै बेला सक्रिय हुनसक्ने सम्भावना भने कायम छ । सञ्चाल विकास गुरुङ अहिले सम्पर्क बाहिर छन् ।

समाचार प्रकाशन हुनु अघि सम्पर्कमा रहेका गुरुङले सामाजिक सञ्जालमार्फत उक्त वेबसाइटको बचाउ गर्दै आइरहेका थिए ।

"म एकदम लज्जित छु कि टेकपानाले पोर्न र एडल्ट फिक्सन (साहित्य) ब्लगमा फरक छुट्याउ सकेन," उनले टेकपानामा प्रकाशित समाचारको कमेन्ट बक्समा लेखेका छन् ।

"कुनै समय कलेज पढ्ने बेलामा काल्पनिक कथाहरू साथीभाइको मनोरञ्जनका लागि ब्लग बनाएर राख्ने गरेको थिएँ । त्यस बेला यस्ता कथाहरूलाई केटाहरूले आफ्नै भाषामा 'कान्ड' भन्थे । भर्खर ब्लगिङ सिकेको थिएँ, गतिलो कन्टेन्टको अवधारणा थिएन ।"

उनले अगाडि थपेका छन्, "यस्ता युवा साहित्यको पोस्टले हजारौँ भिजिटरहरू तान्थे र नेपालमा थुप्रै यस्ता ब्लगहरू पाइएकाले मैले पनि सुरु गरेको हुँ । मैले इन्टरनेटमा पाइने अलिक अश्लील खालका फोटोहरू चाहिँ प्रयोग गर्थेँ । त्यो चाहिँ बिल्कुल गलत थियो ।"

"तर पछि नेपालमा पोर्नोग्राफिक साइटहरू प्रतिबन्धित भएपछि मैले यसलाई अपडेट गर्न छोडिदिएँ केवल Adult Warning/Age Restriction राखेर छोडेको थिएँ ।"

उनी थप लेख्छन्, "अहिले कलेज सकिएर मेरो करियर सुरु भइसकेको छ । सामाजिक रूपमा प्रतिष्ठित पेशामा संलग्न छु । कृपया मेरो नाम उल्लेख गरेपनि अरूको गोपनीयता भङ्ग नगरिदिनुहोला ।" 

"यहाँको खबरदारीलाई राम्रै कदम ठान्दछु । सक्नुहुन्छ भने फेसबुक, टेलिग्राम, इमो, ह्वाट्साएप आदीमा ठगी गर्ने उद्देश्यले सञ्चालित समूहमाथि पनि फलोअप गर्न अनुरोध छ ।"

उनले आफ्नो वेबसाइटमा पोर्न सामग्री नभएको दाबी गरेको भए पनि त्यसमा अश्लील भिडिओ, अडिओ र लेख सामग्री राखिएका थिए । अश्लील भिडिओ समावेश हुने कुनै पनि साइटलाई पोर्नसाइट मानिन्छ ।

उनले मुख्य डोमन बन्द गरेको भए पनि सबडोमेनको रूपमा आफ्नो वेबसाइट सक्रिय राखेका छन् । जहाँबाट गुरुङले यौनसँग सम्बन्धित लेख, कथा तथा उपन्यासहरू बिक्री गरिरहेका छन् । 

नेपाल दूरसञ्चार प्राधिकरणले भने साइट बन्द गर्ने प्रक्रिया अगाडि बढेको जनाएको छ । “हामीले सम्बन्धित निकायमा यसबारे जानकारी दिइसकेका छौँ,” प्राधिकरणका सहप्रवक्ता अच्युतानन्द मिश्रले भने, “एक दुई दिनमा साइट बन्द गराउँछौँ ।”

व्यक्तिगत प्रयोजनका लागि नामको स्पेलिङ बिगारेर गुरुङले आधिकारिक रूपमा उक्त डोमेन पाएका थिए । पछिल्लो समय उक्त वेबसाइट नेपालको शीर्ष ३०० वेबसाइटभित्र परेको सिमिलर साइटको डेटामा देख्न सकिन्छ ।

पछिल्लो अध्यावधिक: माघ १५, २०७९ १३:४२