close

खल्तीको युटिलिटी पेमेन्टमा किन एमपिन वा पासवर्ड माग्दैन ?

टेकपाना टेकपाना

माघ १३, २०७९ २०:३१

खल्तीको युटिलिटी पेमेन्टमा किन एमपिन वा पासवर्ड माग्दैन ?

काठमाडौँ । डिजिटल वालेट खल्तीबाट खल्तीको युटिलिटी पेमेन्ट गर्दा एमपिन वा पासवर्ड माग्दैन । आफूले चाहेको शुल्क राखेर पाउने व्यक्ति वा संस्थाको बैङ्क अकाउन्ट, सिमकार्ड वा डिजिटल वालेटको विवरण राखेको खण्डमा पैसा सोझै ट्रान्सफर हुन्छ ।

खल्तीमा भुक्तानी गर्दा एमपिन नमाग्नु यसको सुरक्षा कमजोरी हो कि भन्ने धेरैलाई लागेको हुनसक्छ ।

खल्तीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विनय खड्काले ग्राहकको सहजताका लागि डिफल्ट रूपमा एमपिन हटाइएको बताउँछन् । "यसमा दुई ओटा कुराहरू छन्," सीईओ खड्का भन्छन्," एउटा भनेको खल्तीमा फन्ड इन गर्ने बेलाको कुरा हो । त्यो बेला प्रमाणहरू नभई हामी फन्ड इन हुन दिँदैनौँ । अर्को खल्तीबाट फन्ड आउट गर्ने बेला । त्यतिबेला पनि प्रमाण नभई पैसा आउट हुन दिँदैनौँ ।"

"अब रह्यो बीचमा रहेर ट्रान्जेक्सन गर्ने बेला । डिजिटल वालेट हुने सबैजसो ट्रान्जेक्सनमा फ्रड हुँदैन । जस्तो टपअप गर्नेबेला, विद्युतको बिल तिर्ने वा सरकारी कार्यलयका शुल्क तिर्ने कुरामा ठगी हुँदैन," उनी थप्छन् ।

यसले प्रयोगकर्तालाई सुविधाजनक बनाउने उनकाे तर्क छ । यदि आवश्यक परेको खण्डमा एमपिन, पासवर्ड वा बायोमेट्रिक अन गर्न सकिने उनको भनाइ छ ।

''सबैभन्दा पहिले लगइन नगरी अकाउन्टभित्र जान सकिँदैन । लगइन गर्न एमपिन वा पासवर्ड आवश्यक पर्छ । त्यसैले डिफल्ट रूपमा एमपिन हटाइएको हाे,'' उनी भन्छन् ।

 

पछिल्लो अध्यावधिक: माघ १४, २०७९ ८:५४