close

डिजिटल मार्केटिङका लागि निःशुल्क ७ एप्लिकेसन

टेकपाना टेकपाना

माघ १५, २०७९ २०:११

डिजिटल मार्केटिङका लागि निःशुल्क ७ एप्लिकेसन

काठमाडौँ । डिजिटल मार्केटिङ आधुनिक व्यवसायका लागि अत्यावश्यक बनेको छ । नयाँ प्रविधिको प्रयोग गरी आफ्नो व्यवसाय वृद्धि गर्ने चाहना सबैको हुन्छ । तर, हामी त्यस्ता टुलसँग मात्र परिचित हुन्छौँ, जुन प्रयोग गर्न शुल्क तिर्नु पर्दैन ।

 

१. फोटो एडिटिङ तथा डिजाइनिङः

 

विशेषगरि जब कन्टेन्ट डिजाइनको कुरा आउँछ, त्यसबेला हामीसँग थुप्रै विकल्प हुन्छन् । जसमा फोटोशप पहिलो रोजाइमा पर्छ ।

फोटोशपमा थुप्रै फिचरहरू हुने भएकाले त्यसको प्रयोगका लागि शुल्क तिर्नुपर्ने हुन्छ । क्र्याक तथा पाइरेटेड सफ्टवेयर प्रयोग गर्नु बेग्लै कुरा हो । 

तर, निःशुल्क फोटोशप जस्तै टुलहरू पनि रहेका छन् । यस्ता सफ्टवेयरहरू मध्ये डिजाइनर (DesYGner) मा थुप्रै टेम्प्लेट हुने भएकाले आवश्यकता अनुसार कन्टेन्ट डिजाइन गर्न सकिन्छ ।

 

२. स्टक भिडिओः​

डिजिटल मार्केटिङका लागि स्टक भिडिओ पनि महत्त्वपूर्ण हुने गर्छ । स्टक भिडिओका लागि विभिन्न साइट उपलब्ध छन् ।

जहाँ शुल्क तिर्ने वा नतिर्ने दुई विकल्प हुन्छन् । यदि तपाईँ शुल्क तिर्न इच्छुक हुनुहुन्छ भने त शटरस्टक उपयुक्त विकल्प हुन सक्छ ।

तर, शटरस्टकको जस्तै भिडिओ निःशुल्क प्रयोग गर्न चाहनु हुन्छ भने भिडेभो (Videvo) प्रयोग गर्न सक्नुहुन्छ । यसमा भएका थुप्रै भिडिओहरू निःशुल्क रूपमा व्यवसायिक प्रयोजनका लागि प्रयोग गर्न सकिन्छ ।

 

३. भिडिओ एडिटिङः

डिजिटल मार्केटिङमा भिडिओ एडिटिङको काम निकै महत्त्वपूर्ण हुन्छ । आफूले चाहेको वा आफ्नो व्यवसायलाई सुहाउने तवरका भिडिओ एडिट गर्नुपरिरहेको हुन्छ ।

त्यसका लागि प्रिमियर प्रो धेरै नै प्रख्यात छ । तर, प्रिमियर प्रो प्रयोग गर्न सब्सक्रिप्सन लिनुपर्ने हुन्छ ।

यदि तपाईँ प्रिमियर प्रो जस्तै विशेषता भएको टुल निःशुल्क प्रयोग गर्न चाहनु हुन्छ भने इनशट (InShot) तपाईँका लागि उपयुक्त विकल्प हो । यसमा भएका विभिन्न टेम्प्लेट प्रयोग गरेर तपाईँले आकर्षक भिडिओ तयार पार्न सक्नुहुन्छ ।

 

४. क्याप्सनः

डिजिटल मार्केटिङमा क्याप्सनलाई पनि निकै महत्त्वपूर्ण अंश मानिन्छ । आफ्नो व्यवसाय केसँग सम्बन्धित छ भन्ने कुरा बुझाउन तपाईँलाई आकर्षक क्याप्सन चाहिन्छ ।

शुल्क तिरेर क्याप्सन लेख्न जास्पर (Jasper) जस्ता टुल प्रयोग गर्न सकिन्छ । यदि तपाईँ निःशुल्क क्याप्सन लेख्ने टुल खोजिरहनु भएको छ भने च्याटजीपीटी वा वेर्थ डट एआई (Bertha.ai) उपयुक्त हुन्छ ।

यसमा प्रयोगकर्ता अनुकूलका अनेक टेम्प्लेटको सहयोगमा उपयुक्त क्याप्सन तयार पार्न सकिन्छ ।

 

५. फन्टः

डिजिटल मार्केटिङमा फन्ट पनि आवश्यक पर्छन् । तयार पारिएका कन्टेन्टलाई चाहेका अडियन्सको रोजाइमा पर्नेगरि डिजाइन बनाउन आकर्षक फन्ट जरुरी हुन्छ ।

यदि तपाईँ शुल्क तिर्न इच्छुक हुनुहुन्छ भने तपाईँका लागि लेनोटाइप (LenoType) टुल प्रयोग गर्न सक्नुहुन्छ । यही विशेषता भएको फन्ट स्पेस (Font Space) भने निःशुल्क प्रयोग गर्न सकिन्छ ।

 

६. ह्याशट्यागः

डिजिटल मार्केटिङमा ह्याशट्यागले पनि महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ । तपाईँले त्यस्ता ह्याशट्याग प्रयोग गर्नुपर्ने हुन्छ, जसले सम्बन्धित ग्राहकसम्म पुर्‍याउन सहयोग गरोस् ।

कतिपय ह्याशट्याग हामी आफैँले पनि तयार पार्न सक्छौँ । तर, कतिपय ह्याशट्याग इन्टरनेटमा ग्राहकले खोजेका विषयसँग जोडिएको हुन्छन् ।

त्यस्ता ह्याशट्याग तयार पार्ने थुप्रै साइटहरू हुन्छन् । फ्लिक (Flick) त्यस मध्येको एउटा टुल हो ।

जसको सब्स्क्रिप्सन लिएको खण्डमा उपयुक्त ह्याशट्याग तयार पार्न सकिन्छ । यदि तपाईँ आफ्नो व्यवसायलाई सुहाउँदा ह्याशट्याग निःशुल्क तयार पार्न चाहनु हुन्छ भने ग्रेभट्याग (Gravtag) प्रयोग गर्न सक्नुहुन्छ ।

यो त्यस्तो टुल हो, जसले तपाईँको व्यवसायलाई उपयुक्त हुने ह्याशट्याग तयार पार्छ । त्यस्तै ह्याशट्याग तयार पार्न च्याटजीपीटीको पनि सहयोग लिन सक्नुहुन्छ ।

तर, च्याटजीपीले सन् २०२१ सम्मका डेटा मात्र भण्डारण गरेकाले पछिल्ला विकासक्रम तथा ट्रेन्डहरूको ह्याशट्याग तयार नपार्न सक्छ । 

 

७. अडियन्सको जानकारीः

यसैगरि कन्टेन्टहरू कुन समयमा राख्दा धेरै अडियन्स माझ पुग्छ भन्ने कुराको ज्ञान हुन पनि उत्तिकै आवश्यक हुन्छ । उपयुक्त समयमा कन्टेन्ट अपलोड गर्न कतिपयले शुल्क तिरेर हुटस्विट (Hootsuite) प्रयोग गरिरहेका हुन्छन् ।

यदि तपाईँ निःशुल्क प्रयोग गर्न हुटस्विटको विकल्प खोजिरहनु भएको छ भने क्रियटर स्टुडियो उपयुक्त विकल्प हुनसक्छ ।

त्यस्तै आफूले अपलोड गरेका कन्टेन्टको विश्लेषण गर्न पनि उत्तिकै आवश्यक छ । विशेषगरी कस्ता अडियन्सले कन्टेन्ट देखे ?

कुन उमेर समूहका प्रयोगकर्ताले कति समय त्यसमा बिताए ? यस्ता एनालिटिक्स हेर्नका लागि थुप्रै टुलहरू उपलब्ध छन् ।

यसमा किहोल (Keyhole) त्यस्तो टुल हो, जसले कुनै पनि कन्टेन्टमा कस्ता अडियन्स सक्रिय छन् लगायतका विविध विषयको जानकारी दिन्छ ।

तर, यो टुल प्रयोग गर्न प्रयोगकर्ताले शुल्क तिर्नुपर्ने हुन्छ । यदि तपाईँ यो टुलको निःशुल्क विकल्प खोजिरहनु भएको छ भने एनालिसा डट आईओ (Analisa.io) उपयुक्त हुन्छ ।

 

पछिल्लो अध्यावधिक: माघ १५, २०७९ २०:११